बालेनलाई हटाउन मिल्ने गरि विधानमा राखियो भन्दै अपव्याख्या गरियो: पराजुली


काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको नेता बालेन्द्र शाहलाई हटाउने विधानको प्रावधानलाई गलत नियतका साथ अपव्याख्या गरिएको दाबी गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधवार संसदीय दलको नेतालाई जुनसुकै बेला पनि हटाउन सक्ने प्रावधानबारे सञ्चारकर्मीहरूले जिज्ञासा राखेपछि उपनेता पराजुलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले विधानमा संसदीय दलको नेता मात्र नभएर पार्टी सभापति रवि लामिछाने र उपनेता स्वयंलाई पनि हटाउन सक्ने प्रावधान राखिएको तर संसदीय दलको नेतालाई मात्र लक्षित गरेर अपव्याख्या गर्न खोजिएको दाबी गरे ।

उनले पार्टीको विधान कुनै व्यक्ति वा पदलाई हेरेर भन्दा पनि पार्टीको प्रभावकारितालाई हेरेर बनाइने भएकाले सोही अनुसार बुझ्न उपयुक्त हुने धारणा समेत राखे ।

उपनेता पराजुलीले भने, ‘यसमा अन्यथा लिनुपर्दैन । अन्य पदाधिकारीको पद कसरी र कहिले अन्त्य हुन्छ भनेर व्याख्या गरेजस्तै यो पनि एउटा प्रक्रिया मात्र हो । तपाईंहरूले यसलाई जुन आशयका साथ उठाउनुभएको छ, त्यो नियतसँग जोडेर हेरेकाले अपव्याख्या भएको मेरो बुझाइ छ । विधानमा संसदीय दलको उपनेता र सभापतिको पद कसरी हट्छ भन्ने पनि व्यवस्था छ, तर त्यसको चर्चा भएन । विधान एउटा व्यक्ति वा पद हेरेर नभई पार्टीलाई आगामी दिनमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले बनाइएको हुन्छ ।’
उपनेता पराजुलीले सबै पार्टीको विधानमा संसदीय दलको नेतालाई हटाउने व्यवस्था हुने तथ्य नभुल्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे ।