
एजेन्सी । एर्लिङ हालान्डको हल्लिने सुनौलो कपाल फुटबल मैदानमा ठम्याउन सकिने सबैभन्दा सजिलो चिजमध्ये एक हो ।
प्रायः उनी विपक्षी डिफेन्डरहरूलाई पछि पार्दै खाली ठाउँमा तीव्र गतिमा दौडिरहेका देखिन्छन् ।
सोमबार विहानको खेलमा सधैं जस्तो नभए पनि उनले दुई गोल गरे, जसको मद्दतले नर्वेले ब्राजिललाई २-१ ले हराउँदै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायो ।
२५ वर्षीय यी स्ट्राइकरले अन्तिम १६ को यस खेलमा पेनाल्टी बक्स भित्र मात्र चार पटक बल छोएका थिए- तर त्यसमध्ये एउटा टचबाटै उनले ७९ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए ।
११ मिनेट पछि उनले बक्स बाहिरबाट प्रहार गरेको लो-ड्राइभ गोलले उनलाई विश्वकै खतरनाक स्ट्राइकरको रूपमा प्रमाणित गर्यो । यससँगै उनी ७ गोलका साथ गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एमबाप्पे र अर्जेन्टिनाका लियोनल मेस्सीको बराबरीमा पुगेका छन् ।
बीबीसी रेडियो ५ लाइभमा पूर्व स्कटल्याण्ड विङ्गर प्याट नेभिनले हालान्डको गोलको प्रशंसा गर्दै भने, ‘तपाईंले अरू कुनै खेलाडीलाई यस्तो गरेको देख्नुहुने छैन। त्यहाँ गोल गर्ने कुनै सम्भावना नै थिएन, तर उनले असम्भवलाई सम्भव तुल्याए।’
पूर्व इंग्ल्याण्ड स्ट्राइकर इयान राइटले आईटीभीमा भने, ‘मानिसहरू उनी (हालान्ड) ले कति पटक बल छुन्छन् भनेर चर्चा गर्छन्, तर गोल गर्न उनलाई धेरै टचहरूको आवश्यकता नै परेन ।’
सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको नर्वे अब विश्व उपाधिबाट मात्र तीन जित टाढा छ ।
उनीहरूको अबको सामना इंग्ल्याण्डसँग हुनेछ, जसले मेक्सिकोलाई ३-२ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । वेन रुनीका अनुसार, ‘हालान्डले पूरा देशलाई यो प्रतियोगितामा धेरै अघिसम्म जान सकिन्छ भन्ने विश्वास दिलाएका छन्।’
हालान्डको डरलाग्दो तथ्याङ्क
हालान्डले ५४ अन्तर्राष्ट्रिय खेलमा ६२ गोल गरिसकेका छन्- जसको औसत प्रत्येक ७१ मिनेटमा एक गोल हुन आउँछ ।
अझ प्रभावशाली कुरा त के छ भने, ती ६२ मध्ये ६ वटा मात्र पेनाल्टी गोल हुन् । उनले नर्वेका लागि खेलेका पछिल्ला १४ प्रतिस्पर्धात्मक खेलहरूमा लगातार गोल गर्दै २७ गोल गरिसकेका छन् ।
खेल अघि हालान्ड र ब्राजिलका डिफेन्डर ग्याब्रियल बीचको प्रतिस्पर्धालाई लिएर निकै चर्चा थियो। प्रिमियर लिगमा सुरु भएको यो प्रतिद्वन्द्वीतामा यसपटक हालान्ड हाबी भए । ग्याब्रियलले हालान्डलाई पहिलो हाफमा निकै दबाबमा राखे पनि दोस्रो हाफमा हालान्डले उनैलाई बिट गर्दै हेडमार्फत पहिलो गोल गरे ।
खेल सकिएपछि हालान्डले समर्थकहरूसँगै ‘भाइकिङ रो’ शैलीमा उत्सव मनाए । हालान्डले भने, ‘यो एक पागलपनयुक्त दिन हो। नर्वेको इतिहासकै यो सबैभन्दा अविश्वसनीय दिनहरूमध्ये एक हो।’
नर्वेका प्रशिक्षक सोल्बाकेनले भने, ‘पूरा देश अहिले उत्सवमा छ । यो हाम्रा लागि एक महान् गृष्म ऋतु साबित भइरहेको छ।’ नर्वेले यसअघि १९३८ र १९९८ मा अन्तिम १६ सम्मको यात्रा तय गरे पनि नकआउट चरणमा खेल जितेको यो पहिलो पटक हो।






प्रतिक्रिया