विराजभक्त लक्षित शाहीको टिप्पर्णीः ‘आकाशमा मन्त्रीको हेलिकप्टर उडिरह्यो, नागरिक जीवनको भिख मागिरहे’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सडक दुर्घटना र उद्धारमा भएको सरकारी उदासीनतालाई लिएर संसदमा प्रश्न उठाएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले राज्यको असफलताकै कारण कर्णालीका नागरिकले अकालमा ज्यान गुमाउनु परेको भन्दै आक्रोश पोखेका हुन् ।

उनले दुर्घटनामा परेका नागरिकहरू नदीको बीचमा ‘बचाइदिनुस्’ भन्दै गुहार मागिरहँदा सरकार भने शक्ति र सत्ताको लुछाचुँडीमा व्यस्त रहेको आरोप लगाए ।

सांसद शाहीले संसदमा भने, ‘मेरो कर्णालीमा गाडी नदीमा खस्यो, नागरिकहरू जीवनको भिख मागिरहेका थिए । त्यही बेला आकाशमा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि होइन, मन्त्रीको सवारीका लागि थियो । उता मन्त्री हेलिकप्टरमा आकाश घुमिरहेका थिए, यता नागरिकहरू नदीमा डुबेर मर्दै थिए ।’

उनले प्रदेश तहमा सत्ताको भागबन्डाका लागि सांसदहरू लुछाचुँडी गरिरहेका बेला जनताले भने राज्यको उपस्थिति कतै नपाएको बताए । ‘सुरक्षाकर्मी पुग्न पाँच घण्टा लाग्यो, जब पुगे त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो । उद्धार होइन, मुचुल्का उठाउनु पर्ने अवस्था आयो,’ उनले थपे ।

बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकामा निर्माणाधीन आयोजनास्थल हेलिकप्टरमा पुगेका थिए । जुन विषयलाई लक्षित गर्दै सांसद शाहीले यस्तो बताएका हुन् ।