मेयर र प्रदेश मन्त्रीलाई पनि थुन्छौं: मन्त्री सुनिल लम्साल (भिडियो)


काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पुनः आफ्नो आक्रामक अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।

निर्माण व्यवसायीको ‘खुट्टा भाँच्ने’ धम्की दिएर आलोचना खेपेका मन्त्री लम्सालले आइतबार तनहुँको शुक्लागण्डकीमा आयोजित एक कार्यक्रममा अर्को विवादास्पद अभिव्यक्ति दिएका छन् ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूसँगको भेटमा उनले जनताको काम नगर्ने मेयर र प्रदेश मन्त्रीहरूलाई जेल हाल्ने चेतावनी दिए । ‘जनतालाई अपहेलना गर्ने मेयरलाई मात्र होइन, काम नगर्ने प्रदेश मन्त्रीलाई समेत हामी थुन्छौं,’ उनले भने ।

यसअघि धादिङमा सडक आयोजनाको अनुगमन गर्दा बिजुलीका पोल नहटाउने व्यवसायीको खुट्टा भाँच्न निर्देशन दिएपछि उनको चर्को बिरोध भएको थियो । त्यसपछि संसदमा उनले त्यसको बचाउ गर्दै आफूले बेलामा काम नगर्दा समस्या हुने भन्दै निर्माण व्यवसायीलाई जोगाउन त्यस्तो अभिव्यक्ति दिएको तर्क गरेका थिए ।

मन्त्री लम्साल प्रधानमन्त्री बालेन शाहका विश्वासपत्रसमेत हुन् । केही समयअघि प्रधानमन्त्री बालेनले आफूसहित मन्त्री लम्साल र सुधन गुरुङको फोटो फेसबुकमा राख्दै देश बनाउने टोली भन्दै लेखेका थिए ।