स्वास्थ्य संस्थाहरुलाई साढे २३ अर्ब भुक्तानी, अस्पतालमा स्वास्थ्य बिमाको सुविधा पुन: सुरु


काठमाडौं । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्मको सम्पूर्ण दाबी बक्यौता फरफारक भएको जनाएको छ । यो भुक्तानी पाएपछि अस्पतालहरुले फेरि स्वास्थ्य बीमा सुरु गर्न सुरु गरेका छन् ।

विगत केही समयदेखि स्वास्थ्य बिमा कार्यक्रमको दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा अस्पतालहरूलाई समयमै भुक्तानी दिन नसकिएको बोर्डले स्वीकार गरेको छ । यसले गर्दा सेवा प्रदायक संस्था र बिमित नागरिकहरूमा उत्पन्न असहज परिस्थितिप्रति बोर्ड सचेत रहेको विज्ञप्तिमा उल्लेख छ।

बोर्डले मंसिर मसान्तसम्मको बक्यौता भुक्तानी भइसकेको जानकारी दिँदै आगामी दिनका लागि आवश्यक बजेट व्यवस्थापन र दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको जनाएको छ ।

कुनै पनि स्वास्थ्य संस्थाले बिमित नागरिकको उपचार सेवामा अवरोध वा कठिनाइ सिर्जना नगरी निर्धारित मापदण्ड बमोजिम गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराइदिन बोर्डले हार्दिक अनुरोध गरेको छ ।

स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन बोर्डले सेवाग्राही (बिमित) हरूलाई पनि विशेष आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गरौं । अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन अनुरोध गर्दछौं ।’

सीमित स्रोत र संरचनागत चुनौतीका बाबजुद दैनिक हजारौं नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको भन्दै बोर्डले यस कार्यक्रमले नागरिकको खल्तीबाट हुने खर्च न्यूनीकरण गर्न र वित्तीय जोखिमबाट संरक्षण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको दाबी गरेको छ ।