भक्तपुरको रायो सागमा भेटियो ८० प्रतिशत विषादी

21
Shares

काठमाडौं । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्री गर्न ल्याइएको रायो सागमा अत्यधिक परिमाणमा विषादी पाइएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले आज गरेको परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाकी सीता रेग्मीले उत्पादन गरेको रायो सागमा अत्यधिक परिमाणमा कार्बामेट र अर्गानोफोस्फेट समूहको विषादीको अवशेष पाइएको हो ।

एकाइ कार्यालयका अनुसार रेग्मीले उक्त तरकारी बजारमा बिक्री गर्न ल्याएको रायो सागमा अर्गानोफोस्फेट समूहको विषादीको अवशेष ८०.०१ प्रतिशत ‘इन्हिबिसन’ (रोकावट दर) र कार्बामेट समूहको विषादीको अवशेष २.५६६७ प्रतिशत पाइएको थियो ।

अत्यधिक परिमाणमा विषादीको अवशेष पाइएपछि उक्त रायो साग नष्ट गर्न लगाइएको थियो । तरकारी तथा सागमा ३५ प्रतिशतसम्म विषादीको रोकावट दर पाइएमा उपभोग गर्न योग्य मानिन्छ । त्यस्तै ३५ देखि ४५ प्रतिशतसम्म विषादीको रोकावट दर पाइएमा केही दिन होल्ड गरेर (क्वारेन्टाइनमा राखेर) मात्रै उपभोग गर्न योग्य मानिन्छ ।

तर विषादीको अवशेष ४५ प्रतिशतभन्दा बढी पाइएमा तत्कालै नष्ट गर्नुपर्ने सरकारले मापदण्ड बनाएको छ ।

गत वर्ष पनि रायो सागमा पटक-पटक अत्यधिक परिमाणमा विषादीको अवशेष फेला परेको थियो । तरकारी तथा सागमा मापदण्डभन्दा बढी परिमाणमा विषादी पाइँदा पनि सरकारले कडाइका साथ कारबाही नगर्दा यसको प्रयोग दर घटेको पाइँदैन।