
एजेन्सी । वाशिङटनको विदेश नीतिमाथि कडा टिप्पणी गर्दै डेमोक्रेटिक सांसद रो खन्नाले राष्ट्रपति ट्रम्पको कार्यकालमा भारत र अमेरिकाको सम्बन्ध विगत तीन दशकयताकै सबैभन्दा खराब अवस्थामा पुगेको दाबी गरेका छन् ।
वाशिङटन डीसीमा आयोजित यूएस–इन्डिया स्ट्राटेजिक पार्टनरशिप फोरमको सन् २०२६ को नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै खन्नाले विश्व मामिलाको वर्तमान अवस्थाबारे कुनै संकोच नमानी आफ्नो धारणा राखे । उनले ट्रम्प प्रशासनको एकपक्षीय कदमहरू, विशेषगरी इरानप्रतिको आक्रामक नीति, ले विश्वव्यापी स्थिरतामा खलल पुर्याएको र भारतमा इन्धनको मूल्य बढेर प्रत्यक्ष असर गरेको बताए । यस यथार्थलाई भारतीय विदेश मन्त्री एस जयशंकरले पनि पुष्टि गर्न सक्ने उनले उल्लेख गरे ।
सांसद खन्नाले परम्परागत मित्रराष्ट्रहरूसँग सल्लाह नगरी एकपक्षीय रूपमा युद्धको स्थिति सिर्जना गर्ने ट्रम्प प्रशासनको शैलीको कडा आलोचना गरे । उनले युरोप, क्यानडा वा भारतजस्ता साझेदारहरूसँग परामर्श नगरी चालिएका कदमहरूले अमेरिकाको विश्वसनीयतामा ठूलो क्षति पुर्याएको तर्क गरे ।
‘म कुरा चपाएर बोल्ने मान्छे होइन, म जे हो त्यही भन्छु,’ खन्नाले भने, ‘इरानसँगको तनावले विश्वमा अस्थिरता फैलाएको छ र यसले भारतको अर्थतन्त्रलाई पनि चोट पुर्याएको छ । हाम्रा मित्र राष्ट्रहरूलाई बेवास्ता गरेर विश्वलाई अन्योलमा पार्ने काम भएको छ । यसले हाम्रो साख गिराएको छ ।’
आर्थिक रणनीतिको सन्दर्भमा खन्नाले वर्तमान प्रशासनको ट्यारिफ युद्धलाई तर्कहीन संज्ञा दिए । उनले चीनमा भएको एक भेटलाई स्मरण गर्दै भारतीय राजदूतले आफूसँग ट्रम्पका कार्यहरूका कारण एक पुस्ताको विश्वास गुमेको बताएको जानकारी दिए ।
खन्नाले थपे, ‘हामीले यो प्रशासनले देशभित्र र बाहिर पुर्याएको क्षतिको सत्यलाई स्वीकार गरेनौं भने हामी वास्तविकतामा बाँचिरहेका छैनौं भन्ने बुझ्नुपर्छ ।’ उनले आगामी पुस्ताले अमेरिकाको पुनर्निर्माणका साथै विश्वभर टुटेका सम्बन्धहरूलाई जोड्ने दोहोरो जिम्मेवारी वहन गर्नुपर्ने चेतावनी पनि दिए ।
आफ्नो भनाइलाई थप स्पष्ट पार्न उनले डोनल्ड ट्रम्प र अमेरिकी इतिहासकै महान् राष्ट्रपतिहरूमध्येका एक फ्य्रांकलिन डी रुजवेल्ट (एफडीआर) बीचको भिन्नता औंल्याए । उनले ट्रम्पलाई इतिहासकै सबैभन्दा खराब राष्ट्रपतिको रूपमा चित्रण गरे ।
खन्नाले भने, ‘एफडीआरले जनताको आत्मनिर्णयको अधिकारमा विश्वास गर्थे । उहाँले मेरा हजुरबुवा अमरनाथ विद्यालंकारले लाला लाजपत रायसँग मिलेर गरिरहनुभएको स्वतन्त्रताको कामलाई समर्थन गर्नुभएको थियो ।’ नयाँ पुस्ताले अमेरिका र बाँकी विश्वबीचको सम्बन्ध सुधारका लागि ठूलो मिहिनेत गर्नुपर्नेमा उनले जोड दिए ।
तर, सोही कार्यक्रममा यूएसआईएसपीएफका मानद वरिष्ठ सल्लाहकार अल मेसनले भने भारत र अमेरिकाको सम्बन्धले ऐतिहासिक गति प्राप्त गरेको दाबी गरे । उनले भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीचको सम्बन्धलाई पुनः सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
मेसनका अनुसार, व्यापारिक र प्रशासनिक चुनौतीका कारण केही समय सम्बन्धमा कठिनाइ आए पनि राजदूत गोरले मोदीलाई तीनवटा आधारभूत सत्य अवगत गराएका थिएः राष्ट्रपति ट्रम्प भारतको उदयलाई सम्मान गर्छन्, मोदीको नेतृत्वको प्रशंसा गर्छन् र भारत–अमेरिका सम्बन्ध अझ बलियो भएको चाहन्छन् ।






प्रतिक्रिया