
एजेन्सी । इन्डोनेसियाको भ्रष्टाचार विरोधी अदालतले मंगलबार पूर्व शिक्षामन्त्री नादिम मकारिमलाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ ।
उनी राइड–हेलिङ र भुक्तानी सेवाको विशाल कम्पनी गोजेकका सह–संस्थापक पनि हुन् ।
सन् २०१९ देखि २०२२ सम्म सञ्चालन भएको देशको शिक्षा डिजिटलाइजेशन कार्यक्रम अन्तर्गत विद्यालयहरूका लागि गुगल क्रोमबुक खरिद गर्ने क्रममा भएको भ्रष्टाचारमा मकारिम दोषी पाइएका हुन् ।
सन् २०१९ देखि २०२४ सम्म शिक्षा मन्त्री रहेका मकारिमलाई १ अर्ब रुपिया (इन्डोनेसियाली मुद्रा) जरिवाना र ८०९.६ अर्ब रुपिया क्षतिपूर्तिको रूपमा तिर्न आदेश दिइएको छ । उनले सो रकम तिर्न सकेनन् भने थप पाँच वर्षको जेल सजाय भोग्नुपर्नेछ ।
सरकारी वकिलहरूले मकारिमका लागि १८ वर्षको जेल सजाय, १ अर्ब रुपिया जरिवाना र ५.६ अर्ब रुपिया क्षतिपूर्तिको माग गरेका थिए ।
इन्डोनेसियाका महान्यायाधिवक्ताले सेप्टेम्बर २०२५ मा मकारिमलाई शंकास्पद व्यक्तिको रूपमा सूचीबद्ध गरेका थिए। उनले र अन्य अधिकारीहरूले शिक्षा डिजिटलाइजेशन कार्यक्रम अन्तर्गत प्राविधिक विशिष्टताहरूलाई गुगलका उत्पादनहरू अनुकूल हुने गरी बनाएको आरोप लगाइएको थियो ।
फेब्रुअरी २०२० मा मकारिमले मन्त्रालय र विद्यार्थीहरूले प्रयोग गर्न सक्ने क्रोमबुक लगायतका गुगलका उत्पादनहरूका बारेमा छलफल गर्न गुगल इन्डोनेसियाका प्रतिनिधिहरूसँग भेट गरेका थिए ।
‘विभिन्न बैठकहरूपछि अन्ततः सूचना तथा सञ्चार प्रविधि उपकरणहरूको खरिद आयोजनामा गुगलका उत्पादनहरू अर्थात् क्रोम ओएस र क्रोम डिभाइस म्यानेजमेन्ट प्रयोग गर्ने सहमति भयो,’ सरकारी वकिलहरूले लेखेका छन् ।
सरकारी वकिलहरूका अनुसार, अघिल्लो शिक्षामन्त्रीले सन् २०१९ मा गरेको एक मूल्यांकनले दुर्गम क्षेत्रहरू सहित इन्डोनेसियाका विभिन्न भागहरूमा क्रोमबुक प्रभावकारी रूपमा प्रयोग गर्न नसकिने निष्कर्ष निकालेको भए पनि मकारिमले यस्तो निर्णय गरेका थिए ।
मकारिमले त्यसपछि क्रोम ओएस सिस्टमसँग मात्र मिल्ने विशिष्टताहरू सहितको प्राविधिक निर्देशन जारी गरे जसले खरिद प्रक्रियामा क्रोमबुक मात्र छनोट हुने कुरा सुनिश्चित गर्न मद्दत गर्यो भन्ने आरोप उनीहरूले लगाएका छन् ।
अदालतका अन्य बयानहरूमा सरकारी वकिलहरूले न्यून गुणस्तरका क्रोमबुकहरूको मूल्य प्रति एकाइ करिब ३० लाख रुपिया हुनुपर्नेमा ६० लाख रुपियामा खरिद गरिएको बताएका छन् ।
यो मुद्दा इन्डोनेसियाका पूर्वमन्त्री संलग्न रहेको सबैभन्दा उच्च स्तरको भ्रष्टाचार मुद्दाहरूमध्ये एक हो ।






प्रतिक्रिया