ई–पासपोर्ट खरिद प्रकरणः आरजुलाई अख्तियारले काट्यो पत्र, बूढानीलकण्ठको घरमा टाँसियो म्याद


फाइल तस्बिर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट (विद्युतीय राहदानी) खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धानका लागि नेपाली कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ ।

अख्तियारले राहदानी छपाइको ठेक्कापट्टा प्रक्रियामा पूर्वपरराष्ट्रमन्त्री राणाको भूमिका शंकास्पद देखिएको भन्दै प्रारम्भिक अनुसन्धानका लागि बयानमा बोलाएको जनाएको छ ।

अख्तियारको टोलीले मंगलबार बूढानीलकण्ठस्थित उनको निवासमा पुगेर बयानका लागि उपस्थित हुन म्याद तामेल गरेको हो ।

राहदानी छपाइको ठेक्का प्रक्रियामा राणाको समेत संलग्नता रहेको दाबीसहित उजुरी परेपछि अख्तियारले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो ।

गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएपछि राणाको बूढानीलकण्ठस्थित निवास हाल खण्डहर अवस्थामा छ र त्यसलाई भत्काउन थालिएको छ । डा. राणा हाल उपचारका लागि विदेशमा रहेको र सम्पर्कमा नभएकाले अख्तियारको टोलीले वडाका प्रतिनिधिहरूको रोहबरमा सोही घरको भित्तामा म्याद टाँसेर फर्किएको छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवा दुवै हाल उपचारका लागि विदेशमा छन् । जेनजी आन्दोलनपछि स्वदेशमा रहेका बेला पनि पछिल्लो समय उनीहरू बूढानीलकण्ठ निवासमा नबसी महाराजगञ्जमा भाडाको घरमा बस्दै आएका थिए ।

यही प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिई विशेष अदालतबाट थुना अनुमति लिएर अनुसन्धान भइरहेको छ ।