चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले प्रवासी नेपालीलाई देश विकासमा जोडिन आह्वान गरे

70
Shares

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले आइतबार बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित एक विशेष कार्यक्रममा प्रवासी नेपाली समुदायसँग भेटघाट र अन्तर्क्रिया गरेका छन् ।

चीन पुगेलगत्तै आयोजित उक्त कार्यक्रममा मन्त्री खनालले चीनका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था र व्यवसायमा आबद्ध नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए । नेपालीहरूले आफ्नो पेसागत संलग्नतामार्फत चीन र विश्व समुदायमा नेपालको चिनारी बढाएको भन्दै उनले प्रशंसा समेत गरे ।

अन्तर्क्रियाका क्रममा मन्त्री खनालले नेपालको पछिल्लो राजनीतिक परिवर्तन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयमा विदेशमा रहेका नेपालीहरूको निर्णायक भूमिका रहेको स्वीकार गरे ।

आफ्नो निर्वाचन अभियानका अनुभव सुनाउँदै उनले भने, ‘आजको जनादेशमा विदेशमा रहेका नेपालीहरूको ठूलो हात छ । घरदैलोका क्रममा मैले आमाबुवाहरूले आफ्ना विदेशमा रहेका छोराछोरीको सल्लाहअनुसार ‘घन्टी’ मा मतदान गरेको पाएँ । विदेशमा बसेर पनि देशप्रति देखाउनुभएको यो अपनत्वका लागि म पार्टीका तर्फबाट आभार प्रकट गर्छु ।’

उनले सरकार अहिले सुशासन र भ्रष्टाचार निर्मूलीकरणको संकल्पसहित अगाडि बढेको र २०६३ पछि भएका भ्रष्टाचारका काण्डहरूको छानबिन सुरु भइसकेको जानकारी दिए ।

सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन सरकारले डिजिटाइजेसनमा जोड दिएको उल्लेख गर्दै मन्त्री खनालले विदेशमा रहेका नेपालीका गुनासो सुन्न परराष्ट्र मन्त्रालयले मोफा मित्र एप लन्च गरेको बताए ।

उनले नेपाल सरकार अब परिणाममुखी काममा केन्द्रित भएको र जनताले छिट्टै परिवर्तनको अनुभूत गर्ने दाबी गरे । मन्त्री खनालले राहदानी, नागरिकता र कन्सुलर सेवाहरूलाई प्रविधिमैत्री बनाएर झन्झटरहित बनाउनु आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे ।

नेपालको आर्थिक चुनौती र बढ्दो वैदेशिक रोजगारीबारे चर्चा गर्दै मन्त्री खनालले बर्सेनि श्रम बजारमा प्रवेश गर्ने ५ लाख युवामध्ये थोरैले मात्र स्वदेशमा रोजगारी पाउने गरेको तीतो यथार्थ प्रस्तुत गरे ।

उनले मोरिसस, सेसेल्स र रोमानिया जस्ता देशहरूमा पनि नेपालीहरूको उपस्थिति उल्लेख्य रहेको बताउँदै नेपाल हाल जनसांख्यिक लाभांशको अवस्थामा रहेको र यो समय सधैं नरहने चेतावनी दिए । आगामी २० वर्षमा नेपाल बुढ्यौली उन्मुख जनसंख्या भएको मुलुकतर्फ जाने भएकाले अहिले नै अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

मन्त्री खनालले चीनमा रहेका नेपालीहरूलाई नेपालको हितमा योगदान पुर्याउन आह्वान समेत गरे । विशेषगरी चीनसँगको उच्च व्यापार घाटा कम गर्न र प्रविधि हस्तान्तरणमा प्रवासी नेपालीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

उनले सरकार कस्तो कानुनी र व्यावहारिक वातावरण बनाउन तयार छ भन्नेबारे सुझाव माग्दै समृद्ध नेपाल निर्माणको अभियानमा सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । ‘रोम एकै दिनमा बनेको थिएन र नेपाल पनि केही व्यक्तिले मात्र बनाउन सक्दैनन् । यो हामी सबैको साझा प्रयासबाट मात्र सम्भव छ,’ उनले बताए ।

सबैलाई देश बनाउने अभियानमा जोडिन पनि उनले निम्तो दिए ।