कृष्ण दुलालको पीएलओले ९ महिनामा गर्‍यो साढे ६७ करोडको व्यापार, वित्तीय स्थिति सबल

259
Shares

काठमाडौं । व्यवसायी कृष्णप्रसाद दुलालको पूर्वाञ्चल ल्यूब आयलले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे ६७ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा ८९ करोड ९० लाख रुपैयाँ, सन् २०२४ मा ७८ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ७७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको कारोबार गत आवमा १२ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा कुल व्यापारको १५.८८ प्रतिशत थियो । सन् २०२४ मा नाफा मार्जिन १७.७५ प्रतिशत थियो । कम्पनीको कुल नगद सञ्चय ८ करोड ९० लाख रुपैयाँ रहेको छ । सन् २०२४ मा ७ करोड ५० लाख रुपैयाँ थियो । त्यसैगरी चालू आवको ९ महिनाको अवधिमा ९.२५ खुद सञ्चालन नाफा भएको उल्लेख छ । साथै, चालू आवको सो अवधिमा ८ करोड १० लाख रुपैयाँ कुल नगद सञ्चय रहेको छ ।

सन् २००१ मा स्थापना भएको कम्पनी सन् २०२२ मा मात्रै पब्लिक कम्पनीको रूपमा परिणत भएको छ । कम्पनी उत्पादन र लुब्रिकेन्ट आयल र ग्रिजेज बिक्रीमा संलग्न छ । कम्पनीले पीएलओ, स्टार, मेघा र सुरक्षा ब्रान्डमा उक्त सामग्री बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले सन् २०२३ को मार्चमा एपीआई लाइसेन्स प्राप्त गरेको छ । कम्पनीको पुँजी संरचना अझै पनि सुदृढ र सहज अवस्थामा रहेको छ । विशेषतः कम्पनीको गियरिङ अनुपात न्यून छ । सन् २०२४ मा ०.८६ गुणा गियरिङ अनुपात रहेकोमा गत आवमा ०.८० गुणामा झरेको थियो  ।

कम्पनीको चालू आवको ९ महिनाको अवधिमा सेयरधनीहरूबाट हकप्रद सेयरमार्फत २० करोड इक्विटी थपिएपछि पुँजी संरचना थप सुदृढ भएको छ । जसले गर्दा कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुगेको छ । साथै, कम्पनीको समग्र गियरिङ क्षमतामा सुधार ल्याएको छ । कम्पनीका अनुसार गत आवको तुलनामा समग्र गियरिङ अनुपात चालू आवको ९ महिनाको अवधिमा अझै घटेर ०.६१ गुणामा पुगेको छ ।

कम्पनीको ऋण सेवा वहन क्षमता सूचकहरू पनि सुधार भएका छन् । ब्याज भुक्तानी क्षमता (डीएससीआर) सन् २०२४ मा २.३१ गुणा रहेकोमा गत आवमा बढेर ३.२१ गुणा पुगेको छ । अर्थात् कम्पनीको सञ्चालन आम्दानी कर्जाको वार्षिक किस्ताको ३ गुणाभन्दा बढी छ । त्यसैगरी, कुल ऋण तथा कुल नगद सञ्चिति अनुपात सन् २०२४ को तुलनामा गत आवमा सुधार आएको छ । सन् २०२४ मा ६.७६ गुणा रहेको यस्तो अनुपात गत आवमा ५.५९ गुणामा झरेको छ । साथै, चालू आवको ९ महिनामा डीएससीआर ४.८० र कुल ऋण जीसीए अनुपात ४.८४ गुणा छ ।

आगामी दिनमा पनि कम्पनीको गियरिङ प्रोफाइल न्यून स्तरमै रहने अनुमान गरेको छ । नेपालमा विगत २५ वर्षदेखि लुब्रिकेन्ट सामग्रीको कारोबार गर्दै आएको कम्पनीका अध्यक्ष कृष्णप्रसाद दुलाल हुन् । उनीसँग अटोमोबाइल, हस्पिटालिटी, शिक्षा, व्यापार र फाइनान्सको उच्च अनुभव छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७४ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २२ करोड ७३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५१ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।