सिंहदरबारकै क्यान्टिनमा म्याद नाघेका र किरा लागेका खाद्यवस्तु, दुई लाख रुपैयाँ जरिवाना

98
Shares

काठमाडौं । सरकारको मुख्य प्रशासनिक संरचना रहेको सिंहदरबारभित्रका क्यान्टिनमा समेत म्याद नाघेका खाद्यवस्तु बिक्री हुने गरेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार संयुक्त अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सिंहदरबारमा रहेको ‘जिएन्डबी क्याफे ग्रुप’ ले सञ्चालन गरेको सेन्ट्रल क्यान्टिनमा गुणस्तरहीन खाद्यवस्तु बिक्री गरेको पाइएपछि दुई लाख रुपियाँभन्दा बढी जरिबाना गरिएको हो ।

विभागको बजार अनुगमन टोलीले विभागका निर्देशक निर्माणकुमार कार्कीले उक्त क्यान्टिनले गुणस्तरहीन सामग्री (चनाको दाल, नेपाली बदाम र अन्डा) प्रयोग गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएको व्यवस्थाबमोजिम सो क्यान्टिनलाई जरिबाना गरिएको जानकारी दिए । चनाको दाल र बदाममा घुन(किरा) लागेको अवस्थामा फेला पारिएको थियो ।

उनका अनुसार अनुगमन खटिएको टोलीले क्यान्टिनबाट रहेका म्याद नाघेका छ हजार ५६० रुपियाँ बराबरका अन्डा, चना र बदाम बरामद गरी नष्ट गरेको छ ।

त्यसै गरी भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित ‘जय छुमा गणेश शुद्ध खानेपानी प्रालि’ लाई खरिद बिल नराखेको अभियोगमा १० हजार रुपियाँ जरिबाना गरिएको छ ।

अनुगमनका क्रममा अन्य १० वटा फर्मलाई सुधार गर्ने निर्देशन दिइएको छ । विभागले बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने उद्देश्य अनुरुप उपभोक्ता हितविपरीतका गतिविधि गर्ने उद्योग तथा फर्ममाथि निरन्तर अनुगमन र कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको छ ।

यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नयाँ बजारस्थित श्री प्रिन्स स्टोर्सलाई कारबाही गरेको छ । विभागका अनुसार उक्त स्टोरमा ३१ हजार ३५० मूल्य बराबरको १९० केजी भटमास ४५ हजार पाँच सय मूल्य बराबरको १४७ केजी ताइचिन चिउरा गुणस्तरहीन भेटिएको थियो ।

सो सामग्री जफत गरी नष्ट गरिएको विभागले जनाएको छ । सो पसलमा पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थसमेत फेला परेकाले आगामी दिनमा लेबल भएका सामग्री मात्र बिक्री गर्न र ‘फिफो’ विधि लागु गर्न निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा एसडिजी ग्लोबल इम्पोर्टस प्रालिमा खाद्य पदार्थ भुइँमा सिधै भण्डारण गरिएको, पर्याप्त पेस्ट कन्ट्रोलको व्यवस्था नभएको र सरसफाइ सामान्य रहेको पाइएको छ । विभागले उक्त कम्पनीलाई प्यालेटको व्यवस्था गरी भण्डारण सुधार गर्न निर्देशनसमेत दिएको जनाएको छ ।

यसै गरी कालीमाटीस्थित टुएसआर ग्रुपमा गरिएको अनुगमनमा पनि स्टोरमा रहेका खाद्य पदार्थमा लेबल विवरण नभएको र सरसफाइमा कमी रहेको पाइएको छ । व्यवसायलाई सरसफाइ कायम गर्न र लेबल नभएका सामग्रीको कारोबार नगर्न सचेत गराइएको छ ।