शुलभको बयान-‘भट्टलाई साथीको हिसाबमा छोरा र श्रीमतीले सापटी दिएका हुन्, प्रयोजन थाहा छैन’

४० करोड लिन बाँकी

504
Shares


काठमाडौं । व्यवसायी शुलभ अग्रवालले आफ्ना छोरा र श्रीमतीले दीपक भट्टलाई ४० करोड रुपैयाँ सापट दिएको र उक्त ठुलो रकम अझै फिर्ता लिन बाँकी रहेको बयान दिएका छन् ।

बयान दिने क्रममा अग्रवालले भट्ट आफ्नो साथी भएको र उनीसँग केही पब्लिक लिमिटेड कम्पनीहरूमा सहलगानीका साथै व्यक्तिगत लेनदेन समेत रहेको स्वीकार गरे ।

भट्ट आफ्नो कार्यालयमा बारम्बार आउने गरेको उल्लेख गर्दै अग्रवालले साथीको नाताले छोरा र श्रीमतीले केही रकम सापट दिएको भए तापनि त्यसको वास्तविक प्रयोजन भने आफूलाई थाहा नभएको दाबी गरेका छन् । सापट दिएकोमध्ये अन्दाजी ४० करोड रुपैयाँ निजसँग लिन बाँकी रहेको पनि उनले बताएका छन् ।

अग्रवालले नक्सालस्थित आफ्नै स्वामित्वको भवनमा रहेको व्यक्तिगत कार्यालयबाट कर्मचारीहरूको रोहवरमा सेयर कारोबार गर्ने गरेको बताएका छन् । भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) मा एउटा मात्र खाता रहेको र त्यसका लागि मुख्य रूपमा एनआईबीएल बैंकको खाता प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

बयानका क्रममा उनले आफूले प्रचलित नियम बमोजिम नै कारोबार सीमा प्राप्त गर्ने गरेको र अन्य कसैको टिएमएस युजरनेम र पासवर्ड प्रयोग नगरेको जिकिर गरे ।

उनले हिमालयन लाइफ इन्स्योरेन्समा आफ्नो करिब ३० करोड र हिमालयन रि–इन्स्योरेन्समा एम्बर इन्भेस्टमेन्टमार्फत ६.७९ प्रतिशत लगानी रहेको जानकारी दिँदै हिमालयन लाइफको अध्यक्ष पदबाट दुई महिना अघि मात्र राजीनामा दिएको बताएका छन् ।

यसैगरी, अग्रवालले व्यवसायी शेखर गोल्छासँग व्यवहारिक सरसापट चल्ने गरेको र सन्दीप चाचन अग्रवालको कम्पनीमार्फत सेयर कारोबार गर्ने गरेको खुलाएका छन् ।

उनले आफ्ना भाइ साहिल अग्रवाल, राज बहादुर शाह र निकोलस पाण्डे लगायतका व्यवसायीहरूसँगको सम्बन्धका बारेमा पनि अदालतलाई जानकारी गराएका छन् ।

विभिन्न माइक्रो इन्स्योरेन्स र क्यापिटलहरूमा आफ्नो सामान्य जानकारी र लगानी रहेको बताउँदै उनले हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष हुँदा भएका लगानीका निर्णयहरूमा आफ्नो प्रत्यक्ष सहभागिता नहुने र ती निर्णयहरू लगानी समिति तथा सीईओले गर्ने दाबी गरे ।

श्रीमती शुभी अग्रवालले एनएलजीको सेयर कारोबारबाट करिब ६ महिनामा ४–५ प्रतिशत मात्र नाफा आर्जन गरेको भन्दै उनले आफूमाथि लागेका आरोपहरूको प्रतिवाद गरेका छन् । साथै उनले अन्य कसैको टिएमएस प्रयोगकर्ता नाम र पासवर्ड समेत प्राप्त गरी आफूअनुकूल कारोबार गर्ने/गराउने नगरेको बयान दिएका छन् ।

यस्तो छ बयान
मेरो सेयर कारोबारका लागि भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि.(ब्रोकर नं. ५५) मा एउटा मात्र खाता रहेको छ । उक्त कारोबारका लागि मुख्य रूपमा एनआईबीएल बैंकको खाता प्रयोग गर्ने गरेको छु । मैले सेयर कारोबारका लागि मोबाइल नं. ९७०५१२०३६९ र इमेल ठेगाना [email protected] प्रयोग गर्दै आइरहेको छु । साथै भृकुटी स्टक ब्रोकिङ कम्पनीमा मोबाइल नं. ९८०११२०३६९ र इमेल ठेगाना [email protected] रहेको छ ।
मैले मेरो सेयर कारोबार आफैं गर्दै आएको छु । उक्त कारोबार मेरो रोहवरमा कहिलेकाहीं कर्मचारीहरूमार्फत समेत गराउँदछु । मेरो कारोबार काठमाडौं, नक्सालस्थित मेरो स्वामित्वको भवनमा रहेको मेरो व्यक्तिगत कार्यालयबाट गर्दै आएको छु । उक्त भवनमा शौर्य सिमेन्ट र जगदम्बा स्टिल्सको कार्यालय समेत रहेको छ । मैले मेरो बाहेक अन्य कुनै व्यक्ति वा संस्थाको डिम्याट खाता, टिएमएस प्रयोग गर्ने गरेको छैन । मैले सेयर कारोबार गर्नका लागि प्रचलित नियमबमोजिम नै कारोबार सीमा प्राप्त गर्ने गरेको छु । चेक तथा अग्रिम रूपमा रकम जम्मा गरेको याद छैन । हाल ब्रोकरसँग मेरो व्यक्तिगत लेनदेन तथा उधारो कारोबार समेत छैन ।
म हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा गुराँस लाइफ, युनियन लाइफ र लक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्जर भएपश्चात सञ्चालक अध्यक्ष भएको हुँ । मैले करिब दुई महिना अगाडि राजीनामा दिएको छु । मेरो हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा अन्दाजी ३० करोड लगानी रहेको छ । म ऋषिराज मोरलाई चिन्दिन । रोहित गुप्तालाई चिन्दछु, निज मेरो साथी हुन्, अन्य व्यावसायिक सम्बन्ध छैन ।
शुभी अग्रवाल मेरी श्रीमती हुन् । दीपक भट्ट मेरो साथी हुन् । निजसँग केही पब्लिक लिमिटेड कम्पनीहरूमा सहलगानी रहेको छ । व्यक्तिगत रकम लेनदेन समेत छ । निज मेरो कार्यालयमा बारम्बार आउने गर्दछन् । मेरो छोरा र श्रीमतीले सापट दिएकोमध्ये अन्दाजी ४० करोड रुपैयाँ निजसँग लिन बाँकी रहेको छ । साथीको हिसाबले निजलाई मेरो छोरा र श्रीमतीले सापट दिएको हो, प्रयोजन थाहा भएन ।
राजबहादुर शाह मेरो साथी हुन्, अन्य व्यावसायिक सम्बन्ध छैन । सन्दीप चाचन अग्रवालसँग सामान्य चिनजान रहेको छ । निजको कम्पनीमार्फत मैले सेयर ब्रोकरको खाता खोली कारोबार गर्ने गरेको छु । उक्त कम्पनीमा मेरो व्यक्तिगत लेनदेन छैन, तर मेरी श्रीमतीको सेयर खरिद वापतको केही रकम तिर्न बाँकी रहेको छ । शेखर गोल्छालाई साथीभाइको हिसाबले चिनजान छ । कहिलेकाहीँ व्यवहारिक रूपमा सरसापट लगायत लेनदेनको कारोबार रहेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सामान्य जानकारी छ । म आशिष श्रेष्ठलाई साथीका रूपमा सामान्य चिन्दछु । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सामान्य जानकारी छ । पदाधिकारीहरूको बारेमा जानकारी छैन । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको सामान्य जानकारी छ । म निकोलस पाण्डेलाई साथीका रूपमा सामान्य चिन्दछु । हिमालयन क्यापसर्भ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको सामान्य जानकारी छ । पदाधिकारीहरूलाई चिन्दिन ।
हिमालयन रिइन्स्योरेन्समा मेरो अन्दाजी ३५ प्रतिशत लगानी रहेको एम्बर प्रोभेष्टमेन्ट कम्पनीमार्फत अन्दाजी ६.७९ प्रतिशत लगानी रहेको छ । शाहिल अग्रवाल मेरा सहोदर भाइ हुन् । हिमालयन लाइफ इन्स्योरेन्समा म अध्यक्ष रहेको थिएँ । मनोजकुमार लाल कर्ण निवर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् । अन्दाजी ६ महिना अगाडि निजले राजीनामा दिएका हुन् । हिमालयन सेक्युरिटिज बैंकरको सामान्य जानकारी छ । म दीपक श्रेष्ठ र सुवासबहादुर श्रेष्ठलाई सामान्य चिन्दछु । हिमालयन इन्भेष्टमेन्ट बैंकरमा मेरो केही लगानी रहेको छ र सुमेर शमशेर जबरालाई उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा चिन्दछु ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सामान्य जानकारी छ । उदिप श्रेष्ठलाई साथीका रूपमा चिन्दछु । त्रिशिला झुनझुनवालालाई सामान्य चिन्दछु । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षको जिम्मेवारीमा रहेका बखत भएका कारोबारहरूमा कम्पनीको लगानी समिति र प्रमुख कार्यकारी अधिकृतले निर्णय गर्ने हो । उक्त निर्णयहरूको अनुमोदन सञ्चालक समितिले गर्ने गर्दछ । यसरी उक्त कार्यमा मेरो प्रत्यक्ष सहभागिता छैन ।
हिमालय इन्भेष्टमेन्ट बैंकरको सञ्चालन तथा व्यवस्थापनमा मेरो कुनै भूमिका रहेको छैन । उक्त कम्पनीहरूबीच भएका कारोबार सम्बन्धमा मलाई जानकारी भएन । शुभी अग्रवालले करिब ६ महिना होल्ड गर्दा एनएलजीको कारोबारमा अन्दाजी ४÷५ प्रतिशत नाफा आर्जन गरेको जानकारी छ । अन्य संस्था र व्यक्तिको कारोबारबारे मलाई जानकारी भएन ।
भृकुटी स्टक ब्रोकिङ कम्पनीका सञ्चालक अध्यक्ष सन्दीप चाचन अग्रवाल र शुभी अग्रवालबीच भएको सम्झौता हेरी चिनी सनाखत गरिदिएँ । मैले साक्षीका रूपमा हस्ताक्षर गरेको ठीक साँचो हो । सम्झौतामा उल्लेख भएबमोजिम विगत दुई वर्षदेखि सम्झौता गरी कार्यान्वयन गर्दै आएका छौँ । मैले अन्य कसैको टिएमएस प्रयोगकर्ता नाम र पासवर्ड समेत प्राप्त गरी आफूअनुकूल कारोबार गर्ने/गराउने गरेको छैन ।