साउदी अरब र रुसको दबदबा अन्त्य गर्दै अमेरिका बन्यो कच्चा तेलको ठूलो निर्यातक

105
Shares

एजेन्सी । अमेरिका विश्वको सबैभन्दा ठूलो तेल निर्यातक बनेको छ । यसले साउदी अरब र रुसको दशकौं पुरानो वर्चस्वलाई उल्ट्याइदिएको छ ।

इरानसँग अमेरिकाले गरेको युद्धले विश्वव्यापी ऊर्जा व्यापारलाई नयाँ स्वरूप दिइरहँदा यस परिवर्तनले ऊर्जा बजारमा अमेरिकी कम्पनीहरूको पकडलाई अझ मजबुत बनाएको छ ।

शीर्ष स्थानमा अमेरिकाको यो उदय त्यस देशका लागि आश्चर्यजनक परिवर्तन हो किनकि ऊ दशकौंसम्म पश्चिम एसियाली तेलमा निर्भर थियो । सन् १९७३ मा इजरायललाई गरेको समर्थनको बदलास्वरूप केही ओपेक सदस्यहरूले लगाएको तेल नाकाबन्दीको मारमा ऊ परेको थियो ।

सन् २०१० पछि अमेरिकाको भाग्य परिवर्तन हुन थाल्यो जब यसको शेल फर्मेसनबाट तेल र ग्यासको उत्पादन ह्वात्तै बढ्यो । यसले अमेरिकालाई पहिले विश्वको शीर्ष ग्यास र त्यसपछि विश्वको शीर्ष तेल उत्पादक बनायो ।

फेब्रुअरी २०२६ देखि अमेरिका–इरान युद्धका कारण साउदी तेल निर्यातमा अवरोध आएको र युक्रेनी ड्रोन आक्रमण तथा युक्रेनमाथिको आक्रमणका कारण मस्कोमाथि लगाइएको अमेरिकी प्रतिबन्धले रुसी तेल निर्यात प्रभावित भएको अवस्थामा अमेरिका विश्वकै प्रमुख तेल निर्यातक बनेको छ ।

पानीजहाज ट्य्राकिङ गर्ने संस्था भोर्टेक्साको तथ्यांक अनुसार, उच्च उत्पादन र रणनीतिक भण्डार खुला गरेपछि मे महिनामा अमेरिकाको कच्चा तेल र इन्धनको निर्यात प्रतिदिन करिब १ करोड ५ लाख ब्यारल पुगेको छ ।

यससँगै अमेरिका लगातार तेस्रो महिना विश्वकै शीर्ष निर्यातक बनेको छ । भोर्टेक्साका अनुसार, मे महिनामा रुसको निर्यात ७० लाख ब्यारल प्रति दिन र साउदी अरबको निर्यात ५९ लाख ब्यारल प्रति दिन रहेको थियो ।

तुलनात्मक रूपमा भोर्टेक्साकै तथ्यांक अनुसार सन् २०२५ मा साउदी अरबले करिब ८१ लाख र अमेरिकाले ६६ लाख ब्यारल तेल प्रति दिन निर्यात गरेका थिए भने रुसको निर्यात करिब ५८ लाख ब्यारल प्रति दिन रहेको थियो ।

पानीजहाज ट्य्राकिङ गर्ने अर्को कम्पनी केप्लरकी नीति प्रमुख मिसेल ब्रुहार्डले भनिन्, ‘वाशिङटनसँग एउटा नयाँ हतियार छ जुन इरान युद्धअघि उनीहरूलाई थाहा थिएन । त्यो हो ऊर्जा निर्यात ।’

अमेरिकाको यो नयाँ वर्चस्वले तेल बजारमा पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक) र यसका सहयोगीहरूले ऐतिहासिक रूपमा प्रयोग गर्दै आएको मूल्य निर्धारण गर्ने शक्तिलाई कमजोर बनाउन सक्छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बजारमा चलखेल गरेको भन्दै लामो समयदेखि ओपेकको आलोचना गर्दै आएका छन् ।

करिब ६० वर्षपछि यसको एउटा प्रमुख सदस्य संयुक्त अरब अमिरात (यूएई) ले संगठन छोडेपछि मे महिनामा ओपेकलाई अर्को ठूलो धक्का लागेको छ ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकको स्थानले वाशिङटनलाई आफ्नो विश्वव्यापी सैन्य सर्वोच्चता र विश्वको सञ्चित मुद्राका रूपमा अमेरिकी डलरको वर्चस्वका अतिरिक्त सहयोगी र प्रतिद्वन्द्वीहरूसँगको वार्तामा एक नयाँ र शक्तिशाली माध्यम प्रदान गर्नेछ ।