
काठमाडौं । सरकारी वकिलको कार्यालयले बिहीबार दर्ता गरेका वित्तीय अपराधको ४ मुद्दाले कर्पोरेट क्षेत्रमै हलचल ल्याइदिएको छ । चारवटा मुद्दामा ८१ जनाविरुद्ध ३२ अर्ब रुपैयाँभन्दा बढीको विगो दावी गर्दै दायर भएको यो मुद्दाले नेपालको व्यावसायिक इतिहासमै पहिलो पटक प्रतिष्ठित व्यवसायी र ठूला व्यापारिक घरानाहरू संगठित वित्तीय अपराधमा मुछिएका छन् ।
सरकारी वकिल कार्यालयले धितोपत्र बजारमा किर्ते कारोबार, बिमा क्षेत्रमा घोटाला, बैंक कर्जा दुरुपयोग र सम्पत्ति शुद्धीकरण गरी चारवटा छुट्टाछुट्टै गम्भीर मुद्दामा दीपक भट्ट, शेखर गोल्छा, सुलभ अग्रवाल, साहिल अग्रवालसहित ८१ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । यी सबै मुद्दामा गरी कुल ३२ अर्ब रुपैयाँको बिगो दावी गरिएको छ ।
धितोपत्र बजारमा संगठित किर्ते (सर्कुलर ट्रेडिङ)
धितोपत्र बजारमा ११ कम्पनी र ८१ जना मिलेर अस्वाभाविक उतारचढाव ल्याई १ अर्ब १४ करोड रुपैयाँ घोटाला गरेको अभियोग लागेको छ । यो मुद्दामा मुख्य कसूर भृकुटी स्टक ब्रोकिङमार्फत ‘सर्कुलर ट्रेडिङ’ गरी हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य बढाएर सर्वसाधारण ठगेको पाइएको छ। यस मुद्दामा एउटै आईपी एड्रेस प्रयोग गरी सेयर खरिद-बिक्री गरिएको प्राविधिक पुष्टि भएको छ ।
धितोपत्र सम्बन्धी ऐन २०६३ बमोजिम ५० हजारदेखि ३ लाखसम्म जरिवाना र १ देखि २ वर्षसम्म कैद सजायको माग यो मुद्दामा गरिएको छ । यसमा नोक्सानी व्यहोर्ने प्रमुख संस्थाहरूमा हिमालयन रि-इन्स्योरेन्स (७२ करोड), हिमालयन लाइफ लार्ज क्याप फण्ड (२१ करोड ४० लाख) लगायत ११ संस्था रहेका छन् ।
बीमा क्षेत्रको साढे ३ अर्ब रुपैयाँको घोटाला
हिमालयन रि-इन्स्योरेन्स र लघु बिमा कम्पनीहरूको सेयरमा जालसाजी गरी व्यक्तिगत लाभ लिएको अभियोगमा ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । यो मुद्दामा कुल बिगो दावी ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी छ ।
यो मुद्दामा बिमा ऐन २०७९ अनुसार बिगो बराबरकै जरिवाना, बिगो जफत र ३ देखि ५ वर्ष कैद सजाय सरकारी वकिलको कार्यालयले माग गरेको छ ।
बिमा क्षेत्रमा घोटाला गर्ने मुख्य प्रतिवादीहरूमा शेखर गोल्छा, सुलभ अग्रवाल, दीपक भट्ट, साहिल अग्रवाल, अमित मोर, राजबहादुर शाह लगायत छन् । बिमा प्राधिकरणका तत्कालीन नेतृत्व मदन दाहाल र शरद ओझालाई पनि मतियारको रूपमा मुख्य आरोपितको तुलनामा आधा सजाय माग गरिएको छ ।
जग्दम्बा स्टील्सको कर्जा दुरुपयोग (बैंकिङ कसूर)
जग्दम्बा स्टील्सले औद्योगिक प्रयोजनका लागि लिएको ऋण सेयर बजारमा लगानी गरेको आरोपमा सरकारी वकीलको कार्यालयले मुद्दा दायर गरेको छ । यो मुद्दामा कुल बिगो दाबी ४२ करोड १४ लाख रुपैयाँ रहेको छ ।
बैंकबाट वर्किङ क्यापिटल लोन लिएर दीपक भट्टको खातामा ‘जग्गा बैना’ भनी पठाएको र पछि सो रकम हिमालयन रि-इन्स्योरेन्सको सेयर किन्न प्रयोग गर्नु नै यो मुद्दाको मुख्य आरोप हो ।
कर्जा दूरुपयोगको यो मुद्दामा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम बिगो अनुसार जरिवानासहित ८ वर्षसम्म कैद सजाय माग भएको छ ।
सम्पत्ति शुद्धीकरण (२६ अर्ब ६३ करोडको मुद्दा)
सरकारी वकिलको कार्यालयले दीपक भट्टलाई मुख्य प्रतिवादी बनाएर दायर गरेको यो मुद्दा कर्पोरेट क्षेत्रकै सबैभन्दा ठूलो रकमको हो । यो मुद्दा विशेष अदालतमा सम्पत्ति शुद्धीकरण विभागले बिहीबार नै दर्ता गरेको छ ।
यस मुद्दामा कुल बिगो दावी २६ अर्ब ६३ करोड रुपैयाँको छ । दीपक भट्टसहित ३४ प्राकृतिक व्यक्ति र ५ वटा कम्पनीलाई सरकारी वकीलको कार्यालयले प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।
क्रस-कनेक्सनमा को को ?
यस प्रकरणमा दीपक भट्ट चारै वटा मुद्दा (धितोपत्र, बिमा, बैंकिङ कसूर र सम्पत्ति शुद्धीकरण) का मुख्य योजनाकार र प्रतिवादी भएका छन । उनीमाथि सम्पति शुद्धीकरणमा मात्रै साढे अर्बको विगो दावी छ ।
अर्का प्रतिवादी सुलभ अग्रवाल पनि धितोपत्र, बिमा र बैंकिङ कसूर (ऋण दुरुपयोग) तीनवटै मुद्दामा प्रतिवादी छन् । उनलाई ‘कालोबजारी’ मा पुरानो सजाय भुक्तान गरेकाले थप सजायको मागसमेत गरिएको छ । उनी कोरोनाकालमा थर्मल गनमा कारोबजारी गरेको आरोपमा सजाय भोगेका व्यक्ति हुन् ।
व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पनि धितोपत्र बजार चलखेल र बिमा कसूर गरी दुईवटा मुख्य मुद्दामा सरकारी वकिल कार्यालयले बनाएको प्रतिवादीको सूचीमा छन् । साहिल अग्रवाललाइ भने बीमा कसूर र जग्दम्बा स्टील्सको कर्जा दुरुपयोग मुद्दामा प्रतिवादी बनाए मुद्दा दायर गरेको छ ।
सरकारी वकिलको कार्यालयले अमित मोर, रोहित गुप्ता, सन्दीप चाचनलाई धितोपत्र र बिमा दुबै मुद्दामा प्रतिवादी बनाएको छ । – *यस अघिको तथ्यांकमा त्रुटि भएकोले सच्चाइएको









प्रतिक्रिया