बिमा क्षेत्रको ठूलो घोटालामा ४२ जनाविरुद्ध मुद्दा दायर, संस्थागत दायित्वअनुसार साढे ३ अर्बको बिगो माग

0
Shares

काठमाडौं। नेपालको बिमा क्षेत्रमा अहिलेसम्मको ठूलो वित्तीय अनियमितता र अधिकारको दुरुपयोग गरी साढे ३ अर्ब रुपैयाँभन्दा बढीको घोटालाको मुद्दा दायर भएको छ ।

नेपाल बिमा प्राधिकरणको प्रतिवेदनका आधारमा सरकारी वकील कार्यालयले काठमाडौं जिल्ला अदालतमा बिहीबार बिमा सम्बन्धी कसूर गरेको भन्दै दीपक भट्ट र शेखर गोल्छासहित ४२ जनाविरुद्ध व्यक्ति र संस्थाहरू कसुर गरेको भन्दै मुद्दा दायर भएको हो ।

हिमालयन रि-इन्स्योरेन्स लिमिटेड र अन्य लघु बिमा कम्पनीहरूको सेयरको जालसाजीपूर्ण कारोबार गरी व्यक्तिगत लाभ लिएको अभियोगमा विभिन्न ६ कम्पनीसहित ४२ जना विरुद्ध यो मुद्दा दर्ता भएको छ । दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छासहितका व्यापारीलाई विहीबारै कर्जा दूरुपयोग, धितोपत्र कसुर र बिमा कसुरमा मुद्दा दायर भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको लामो अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले हिमालयन रि–इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, हिमालयन क्यापसर्व लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड र हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालकहरुलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।

विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा, सन्दीप चाचन, राजबहादुर शाह लगायतका हाइ प्रोफाइल बिमा कसुरमा मुछिएका छन । उनीहरुको मिलेमतोमा बीमा कम्पनीहरूको सेयरको जालसाजीपूर्ण कारोबार गरी सेयर बजारमा कालोबजारी र अनुचित लाभ दिएको आरोप अभियोग पत्रमा उल्लेख छ।

यो मुद्दामा ४२ जना प्रतिवादीहरूलाई कुन संस्थामा रहँदा कति विगो दाबी गरिएको छ भन्ने विस्तृत विवरण दिइएको छ ।
हिमालयन रि-इन्स्योरेन्स समूह (१० जना) पदाधिकारीहरूबाट २ अर्ब ७३ करोड रुपैयाँको विगो दाबी गरिएको छ। उनीहरुमा शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर,शुभेच्छा खरेल, सुभास कुमार झुनझुनवाला, उपासना पौडेल, मनिष कुमार र दीपक कुमार श्रेष्ठ छन् ।

नेपाल माइक्रो इन्स्योरेन्स समूह (९ जना)बाट १६ करोड १७ लाख रुपैयाँ विगो दाबी गरिएको छ। यस्ता दाबी गरिएकाहरुमा भएका प्रतिवादीहरू आशिष श्रेष्ठ, सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, सुनिता श्रेष्ठ, अनुप मालाकार, बद्री सिग्देल, प्रविना दाहाल, मृगेन्द्र नाथ रिमाल र सुजल मल्ल छन् ।

हिमालयन सेक्युरिटिज बैंकर समूह (४ जना)बाट २२ करोड १९ लाख रुपैयाँ विगो दाबी गरिएको छ। यसका प्रतिवादीहरू दीपक कुमार श्रेष्ठ, सीताराम वाग्ले, आकांक्षा गुप्ता, र सुभाष बहादुर श्रेष्ठ छन् ।

हिमालयन क्यापसर्भ लि. समूह (४ जना)बाट ३७ कराोड रुपैयाँ विगो दाबी गरिएको छ। यी प्रतिवादीहरू शिशिर गैह्रे, दीपक कुमार श्रेष्ठ, सीताराम वाग्ले र रितेश प्रधान छन् ।

एचआइएल लार्ज क्यापिटल फन्ड र हिमालयन इन्भेष्टमेन्ट बैंकर समूह (१० जना) परेका छन । यसका प्रतिवादीहरुबाट २५ करोड ३७ लाख रुपैयाँ विगो दाबी गरिएको छ। यसका प्रतिवादीहरुमा पिल कुमार दाहाल, राजन प्रसाद अधिकारी, विदुर पुरी, बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानाङ्ग, सुमेर शमसेर जबरा, सुभास पौडेल, शालिनी संघाई, तिक जोशी छन् ।

मुख्य योजनाकार र व्यक्तिगत रूपमा ठूलो विगो दाबी गरिएकाहरू (७ जना) छन् । अभियोग पत्र अनुसार यी व्यक्तिहरुमा कुल घोटालाको मुख्य लाभग्राही मान्दै विगो माग गरिएको छ । यसमा सुलभ अग्रवाल र सन्दीप चाचन अग्रवालसँग ३ अर्ब ७३ करोड, दीपक भट्टबाट २ अर्ब ८९ करोड, राज बहादुर शाहबाट ८९ करोड ७० लाख, शुलभ अग्रवालबाट ६२ करोड ८९ लाख, ऋषिराज मोरबाट २३ करोड ०१ लाख मागिएको छ ।

बीमा प्राधिकरणका तत्कालीन नेतृत्व (२ जना) मदन दाहाल र शरद ओझा पनि कसूर गर्न मद्दत पुर्‍याएको आरोपित छन । उनीहरु २ जनालाई अभियोगमा मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय माग गरिएको छ।

बिमा ऐन २०७९ को दफा १४१ (३) अनुसार, जति विगो कायम हुन्छ, त्यति नै बराबरको रकम जरिवाना गर्ने र विगो जफत गर्ने मागदाबी गरिएको छ। अर्थात् विगो जति छ, जरिवाना पनि त्यति नै हुनुपर्ने माग छ। साथै ३ देखि ५ वर्षसम्म कैद सजायको माग गरिएको छ।

तथ्यांकमा पाँच कम्पनीबाट मागिएक विगो रकमको बिवरण
१. हिमालयन रि-इन्स्योरेन्स नोक्सानी: २ अर्ब ७३ करोड ३३ लाख
२. नेपाल माइक्रो इन्स्योरेन्स नोक्सानी: १६ करोड १७ लाख
३. हिमालयन सेक्युरिटिज नोक्सानी: २२ करोड १९ लाख
४. हिमालयन क्यापसर्भ नोक्सानी: ३७ करोड ०० लाख
५. एचएलआइ फण्ड र इन्भेष्टमेन्ट बैंकर नोक्सानी: २५ करोड १५ लाख