बैंकिङ कसुर मुद्दामा दीपक भट्टको बयानः जग्गा बेच्न बैना लिएँ, ब्याजसहित फिर्ता गरेँ

812
Shares

काठमाडौं । जगदम्बा स्टील्ससँगको आर्थिक कारोबार र बैंकिङ ऋण दुरुपयोगको मुद्दामा मुख्य प्रतिवादी बनाइएका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले अनुसन्धान अधिकारी समक्ष घटनाको भित्री पाटो खोलेका छन् । उनले आफू जगदम्बा स्टील्सको कुनै साझेदार वा पदाधिकारी नभएको र यो सबै प्रकरण केवल एउटा जग्गा खरिद-बिक्रीको असफल प्रयास मात्र भएको दाबी गरेका छन् ।

भट्टका अनुसार यो कथा करिब ५ वर्षअघि सुरु हुन्छ । जगदम्बा स्टील्सले व्यावसायिक प्रयोजनका लागि जग्गा खोजिरहेको बेला भट्टले ललितपुर महानगरपालिका वडा नं. २, सानेपामा रहेको आफ्नो नामको करिब ५४ आना जग्गा बिक्री गर्ने प्रस्ताव राखेका थिए ।
सोही जग्गा खरिदका लागि जगदम्बा स्टील्सले पटक-पटक गरी करिब ५५ करोड रूपैयाँ भट्टको सिद्धार्थ बैंकको खातामा जम्मा गरेको थियो । उनले बयानमा खुलाए अनुसार सुरुमा १५ करोड, त्यसपछि १४ करोड र १६ करोड र थप ९ करोड ५० लाख रुपैयाँ गरी कुल ५४ करोड ६० लाख रुपैयाँ जग्गाको बैनाका रूपमा भट्टले प्राप्त गरेका थिए । भट्टले सो जग्गाको विवरण समेत खुलाएका छन् ।

भट्टको बयान अनुसार जगदम्बा स्टील्सले पछि जग्गा खरिद गर्न आफ्नो ‘असमर्थता’ जनायो । सम्झौता रद्द भएपछि भट्टले लिएको बैना रकम मात्र होइन, त्यसमा ब्याज समेत थपेर कुल ७५ करोड २६ लाख ३२ हजार १३२ रुपैयाँ ५७ पैसा जगदम्बा स्टील्सलाई नै फिर्ता गरेको दाबी गरेका छन् । उनले आफ्नो बैंक खाताबाट सो रकम फिर्ता गरेको प्रमाण समेत पेश गर्ने जिकिर गरेका छन् ।

भट्टले जगदम्बा स्टील्सका सञ्चालकहरू शाहिल अग्रवाल, शंकरलाल अग्रवाल र शुलभ अग्रवालसँग आफ्नो लामो समयदेखि चिनजान रहेको बताएका छन् । तर, यो चिनजान व्यावसायिक नभई व्यक्तिगत र घरायसी भएको उनको भनाइ छ ।

उनले बयानमा अग्रवाल परिवारका अन्य सदस्यहरू ललिता अग्रवाल, शुभी अग्रवाल, ऋषिव अग्रवाल र जाना अग्रवालसँग पनि आफ्नो व्यक्तिगत लेनदेन हुने गरेको खुलाएका छन् । कतिपय अवस्थामा अग्रवाल परिवारका सदस्यहरूको खाताबाट आफ्नो सिद्धार्थ बैंकको खातामा ‘सापटी’ स्वरूप रकम आउने र जाने गरेको उनले स्वीकार गरेका छन् ।

यस मुद्दाको मुख्य जड जगदम्बा स्टील्सले बैंकबाट लिएको ऋण अन्यत्र चलाउनु हो । तर, भट्टले यसमा आफ्नो कुनै हात नभएको जिकिर गरेका छन् । ‘म जगदम्बा स्टील्सको साझेदार, लगानीकर्ता, बोर्ड सदस्य वा व्यवस्थापन सदस्य केही पनि होइन,’ उनले बयानमा भनेका छन्, ‘जगदम्बाले बैंकबाट कुन प्रयोजनका लागि ऋण लियो र कहाँ प्रयोग गर्‍यो, त्यो मलाई जानकारी हुने विषय होइन ।’

उनले जगदम्बा स्टील्स र एनआईएमबी बैंकबीचको कारोबारको जिम्मेवार जगदम्बा नै हुनुपर्ने र आफू केवल जग्गा बिक्रेता मात्र भएको तर्क गरेका छन् । बयानका क्रममा भट्टले आफ्नो पारिवारिक र अन्य आर्थिक स्रोतको पनि चर्चा गरेका छन् । उनले आयूष्मा नेपाल भट्ट आफ्नो श्रीमती भएको र अन्जना नेपाल (सासू) ले आफ्नो खातामा जम्मा गरेको केही रकम लाभांश वा आर्जनको भएको बताएका छन् ।

त्यस्तै, सन् २०२५ जुन १५ मा इन्फिनिटी होल्डिङ्सको खाताबाट आफ्नो खातामा आएको २ करोड ९१ लाख ४१ हजार रुपैयाँ ‘एड्भान्स’ हो वा ‘डिभिडेन्ड’ हो भन्नेबारे आफू हाल यकिन नभएको तर आफ्नो वार्षिक आय करिब ३० करोड रुपैयाँ हाराहारी हुने भट्टले दाबी गरेका छन् ।

दीपक भट्टले आफूमाथि लागेको बैंकिङ कसूरको आरोप निराधार भएको भन्दै, आफूले नियमसंगत जग्गाको बैना लिएको र डिल रद्द भएपछि ब्याजसहित ७५ करोडभन्दा बढी रकम फिर्ता गरिसकेकाले आफू निर्दोष रहेको जिकिर गरेका छन् ।