
काठमाडौं । वाल्मिकी विद्यापीठको नक्कली शैक्षिक पत्र प्रयोग गरी ८ जना विदेशी नागरिकले अध्ययन भिसा लिएको खुलासा भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय र अध्यागमन विभागलाई समेत गुमराहमा राखेर १० जना विदेशीका लागि भिसा प्रक्रिया अगाडि बढाइएकोमा आठ जनाले भिसा पाइसकेको र दुई जनाको प्रक्रियामा रहेको बेला उक्त रहस्य खुलेको हो ।
अध्यागमन विभागका अनुसार शिक्षा मन्त्रालयको २०८३ जेठ २१ गतेको निर्णयका आधारमा विभागले १० जना विदेशी नागरिकलाई अध्ययन भिसाका लागि सिफारिस प्राप्त गरेको थियो । सोही सिफारिसका आधारमा विभागले आठ जनालाई भिसा जारी गरिसकेको छ । भिसा पाउनेहरूमा ६ जना चिनियाँ, १ जना कोरियन र १ जना रसियाली नागरिक रहेका छन् ।
भिसा पाएका विदेशीहरूको अभिलेख जाँच गर्दा उनीहरू यसअघि पनि पटक–पटक पर्यटक भिसामा नेपाल आवतजावत गरिरहने गरेको देखिएको छ । कतिपय विदेशी त विगत सात वर्षदेखि नै नेपाल आउने–जाने गरिरहेका थिए ।
बाँकी दुई जनाको भिसा जारी गर्ने क्रममा शंका लागेर कागजात जाँच गर्दा वाल्मिकी विद्यापीठको पत्र नक्कली भएको पुष्टि भएको थियो । नक्कली पत्रमा ती विदेशी नागरिकहरू विद्यापीठमा संस्कृत साहित्यको दुईवर्षे ‘आचार्य’ (स्नातकोत्तर) तहमा भर्ना भएको दाबी गरिएको थियो ।
यस घटनामा संलग्न रहेको आरोपमा अध्यागमन विभागले जेठ २८ गते पर्सा, वीरगञ्ज महानगरपालिका–९ का सुबोध शुक्ल र एक चिनियाँ महिला वाङ जिनक्काओलाई पक्राउ गरेको छ । पक्राउ परेकी चिनियाँ नागरिकको साथबाट नेपाल संस्कृत विश्वविद्यालयको नाममा जारी गरिएको ‘संस्कृत साहित्य प्रशिक्षण शुल्क’ उल्लेख भएको नक्कली आम्दानी भरपाई समेत बरामद भएको छ ।
प्रहरी नियन्त्रणमा रहेका शुक्लले यसअघि पनि पटक–पटक नक्कली कागजात र सिफारिसका आधारमा विदेशी नागरिकहरूलाई नेपाल ल्याउने गरेको स्वीकार गरेका छन् । शुक्लले यसअघि गरेका अन्य सिफारिसहरूको आधिकारिकताका विषयमा पनि विभागले थप अनुसन्धान सुरु गरेको छ ।
अध्यागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालका अनुसार, नक्कली कागजातका आधारमा जारी भइसकेका आठै जनाको भिसा रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको छ । भिसा लिइसकेका अन्य विदेशीहरूको खोजी भइरहेको र उनीहरूमाथि थप अनुसन्धान गरिने विभागले जनाएको छ ।
अनुसन्धानका क्रममा थप कसुर देखिएमा विदेशी नागरिकको हकमा जरिवाना, निष्कासन र भविष्यमा नेपाल प्रवेशमा रोक लगाउनेसम्मको कारबाही हुन सक्नेछ । त्यस्तै, घटनामा संलग्न नेपाली नागरिकको हकमा सरकारी कागज किर्ते गरेको अभियोगमा प्रचलित कानुन बमोजिम मुद्दा चलाइने प्रवक्ता ढकालले जानकारी दिए ।









प्रतिक्रिया