
नेपालको पहिचान विश्व मानचित्रमा हिमालको देशका रूपमा स्थापित छ । हरेक वर्षको बसन्त ऋतु सुरु भएसँगै नेपालका हिमशृङ्खलाहरूमा एक प्रकारको उत्सव छाउँछ । सगरमाथासहितका अग्ला हिमालहरू आरोहण गर्न संसारभरका साहसी पर्यटकहरू नेपाल ओइरिने गर्छन् । यसरी पर्यटकहरूको आगमन बढ्नु भनेको केवल पर्वतारोहण मात्र होइन, बरु यो नेपालको समग्र हिमाली अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख कडी पनि हो ।
नेपालमा रहेका हिमालहरूलाई आरोहणको सहजता र उचाइका आधारमा ८००० मिटर माथि र ८००० मिटर भन्दा कमका पिक भनेर वर्गीकरण गरिएको छ । पर्वतारोहणका लागि बसन्त ऋतु सबैभन्दा उपयुक्त मानिन्छ । विशेष गरी ८ हजार मिटरभन्दा माथिका हिमाल आरोहण र यसको महत्त्वको हिसाबले बढी महत्त्वपूर्ण मानिन्छ । यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै ५०० भन्दा बढीले अनुमति लिएर गएका थिए । जसले नेपालको पर्यटनमा नयाँ उत्साह थपेको छ ।
पर्वतारोहणले नेपालको अर्थतन्त्रमा पार्ने प्रभाव निकै गहिरो र प्रत्यक्ष छ । सामान्यतः एउटा आरोही नेपाल आउँदा उसले प्रत्यक्ष रूपमा कम्तीमा २६ जनालाई रोजगारी दिन्छ । यो केबल गाइड र भरिया मात्र होइनन्, यसमा होटल व्यवसायी, ढुवानी सेवा, हेलिकप्टर कम्पनी, खाद्य सामग्री आपूर्तिकर्ता र स्थानीय श्रमिकहरू समेत समेटिएका हुन्छन् ।
१५ जनाको एउटा विदेशी टोली नेपाल आउँदा त्यसले सिर्जना गर्ने रोजगारीको आयतन निकै ठूलो हुन्छ । राजस्वको दृष्टिकोणले हेर्दा, सगरमाथा आरोहणका लागि एक विदेशी पर्यटकले ११ हजार देखि १५ हजार डलरसम्म रोयल्टी बुझाउनुपर्छ । यो रोयल्टी राज्यको ढुकुटीमा जम्मा हुने प्रत्यक्ष आम्दानी हो । यो वर्षको बसन्त ऋतुमा सरकारले मात्रै आरोहण अनुमति दिएका हिमालबाट मात्रै सवा अर्ब रुपैयाँ रोयल्टी संकलन भएको छ भने सगरमाथाबाट मात्रै १ अर्ब ८ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ ।
नेपालमा बर्सेनि बढिरहेको आरोहण पर्यटनले हिमाली पर्यटन मात्रै फस्टाएको छैन, खर्चालु पर्यटक समेत भित्रिइरहेका छन् । जसले गर्दा नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनसँगै नेपाललाई विश्व समुदायसम्म पुर्याएर आर्थिक लाभ समेत दिन सकेकाे छ ।
तर, रोयल्टी भन्दा पनि ठूलो र महत्वपूर्ण पाटो लजिस्टिक्स सपोर्ट र आरोहीले गर्ने व्यक्तिगत खर्च हो । एक आरोहीले रोयल्टीको तुलनामा दोब्बर बढी रकम ढुवानी, हेलिकप्टर चार्टर, अक्सिजन, गाइडको पारिश्रमिक र आरोहण उपकरणहरूमा खर्च गर्छ ।
पर्वतारोहणमा प्रयोग हुने उपकरणहरू निकै महँगा हुन्छन् । उदाहरणका लागि एउटा गुणस्तरीय डबल बुटको मूल्य नै झन्डै ८ लाख नेपाली रुपैयाँसम्म पर्छ । यस्ता महँगा उपकरणहरूको आयात, खरिद र मर्मतले बजारमा ठूलो मात्रामा पुँजी परिचालन गर्छ । यसरी आरोहण सिजनले ग्रामीण हिमाली क्षेत्रका बासिन्दादेखि सहरका ठूला व्यवसायीसम्म सबैलाई आर्थिक लाभ पुर्याइरहेको हुन्छ ।
नेपालको पर्यटन विकासमा हवाई पहुँच र राष्ट्रिय ध्वजावाहकको अवस्थाले निकै ठूलो भूमिका खेल्छ । हाल रुस–युरोप युद्ध र मध्यपूर्वका द्वन्द्वका कारण इन्धनको मूल्य वृद्धि हुँदा युरोप र अमेरिकाबाट नेपाल आउने पर्यटकका लागि हवाई भाडा निकै महँगो भएको छ ।
पहिला ७०० युरोमा आउन सकिने ठाउँबाट अहिले २५०० युरोभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता छ । यदि हाम्रो राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्ससँग पर्याप्त वाइडबडी जहाज हुने हो भने हामीले वार्षिक ५०/६० लाख पर्यटक सजिलै भित्र्याउन सक्छौं र हवाई भाडालाई पनि प्रतिस्पर्धी बनाउन सक्छौं । हवाई भाडा सस्तो हुनासाथ पर्यटकको सङ्ख्यामा गुणात्मक वृद्धि हुन्छ, जसको सीधा लाभ हिमाली अर्थतन्त्रलाई पुग्छ ।
अर्कोतर्फ नेपालमा रहेका १७ सय भन्दा बढी हिमचुचुरामध्ये ४६१ वटा मात्र आरोहणका लागि खुल्ला गरिएका छन् । झन्डै १३३१ वटा हिमाल अझै पनि सरकारी अनुमति पर्खिएर बसेका छन् । विशेष गरी चीन र भारतको सीमानामा रहेका २९७ वटा हिमालहरू खुल्ला गर्नु रणनीतिक र आर्थिक दुवै हिसाबले जरुरी छ । यी सीमावर्ती हिमालहरूलाई शान्ति स्तम्भ का रूपमा विकास गरी आरोहण खुल्ला गर्दा हाम्रो सीमाको सुरक्षा र पहिचान विश्वभर फैलिन्छ ।
प्रशासनिक झन्झट पनि अर्को ठूलो अवरोध हो । पर्यटन विभागबाट अनुमति लिन ५–६ दिन लाग्ने प्रक्रियालाई सरल बनाउनुपर्छ । नेपाल पर्वतारोहण संघ जस्ता संस्थाहरूले १ घण्टामै अनुमति दिन सक्ने संयन्त्र विकास गरेका छन्, यस्तै कार्यदक्षता सरकारले पनि देखाउनुपर्छ ताकि पर्यटकहरूले प्रशासनिक कामका लागि आफ्नो बहुमूल्य समय खर्चिनु नपरोस् ।
सन् १९६३ को पहिलो सफल अमेरिकी सगरमाथा आरोहण र अहिलेको अवस्थालाई तुलना गर्दा पर्वतारोहणको स्वरूपमा आमूल परिवर्तन आएको छ । त्यतिबेला आरोहीहरू बनेपाबाट २३ दिन हिँडेर आधार शिविर पुग्नुपथ्र्यो र सञ्चारका लागि भारी वायरलेस सेटहरू बोक्नुपर्थ्यो ।
अहिले प्रविधि र यातायातको विकासले गर्दा केही दिनमै आधार शिविर पुग्न र विश्वभर सञ्चार सम्पर्क कायम गर्न सम्भव भएको छ । यस्तो सहजताले गर्दा पर्वतारोहण केवल पेसा मात्र नभएर एक विलासी पर्यटनको रूपमा पनि विकास भइरहेको छ ।
अहिलेका आरोहीहरूले प्रयोग गर्ने हल्का र सुरक्षित उपकरणहरूले मृत्युदर घटाएको छ र आरोहणलाई थप आकर्षण प्रदान गरेको छ ।
नेपालमा आउने पर्यटकमध्ये झन्डै ४७ प्रतिशत दोर्होर्याएर आउने पर्यटक हुन्छन् । उनीहरूले सगरमाथा र अन्नपूर्ण क्षेत्र घुमिसकेका हुन्छन् । अब उनीहरूलाई नयाँपन दिन कर्णाली र सुदूरपश्चिमका ओझेलमा परेका हिमालहरू खुल्ला गर्नुपर्छ । हिमाली पर्यटनको दिगो भविष्यका लागि हिमालको संरक्षण र पदमार्गहरूको विस्तार अनिवार्य छ ।
सरकारले नयाँ पुस्ताको भावना बुझेर पर्यटनमैत्री नीति ल्याउन सकेमा नेपाल विश्वकै उत्कृष्ट साहसिक गन्तव्य बन्ने निश्चित छ । हिमाल नेपालको प्राकृतिक सम्पत्ति मात्र होइन, यो हाम्रो अर्थतन्त्रको मेरुदण्ड पनि हो । यसको उचित उपयोग र प्रबर्द्धनले नै नेपालको आर्थिक समृद्धिको सपना साकार पार्न सक्छ ।
(शेर्पा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष तथा पर्वतीय पर्यटनविद् हुन्।)









प्रतिक्रिया