सगरमाथा चढ्न नेपालीलाई लाग्छ ३५ लाख, जुत्ताकै २ लाख

विदेशीलाई न्यूनतम ६५ लाख, साना हिमाल आरोहणमा कति लाग्छ खर्च ?


काठमाडौं । नेपाल सुन्दर हिमशृङ्खलाको धनी देश हो । विश्वका अग्ला १० हिमालमध्ये ८ वटा नेपालमै पर्छन् ।

नेपाललाई विश्वमा चिनाएको सगरमाथासहित मकालु, कञ्चनजङ्घा, लोत्से, चोयू, धौलागिरि, मनास्लु र अन्नपूर्ण ८ हजार मिटरभन्दा अग्ला विश्वका १० मध्येका ८ हिमाल हुन् । यीसहित ४६१ वटा हिमाल आरोहणका लागि सरकारले खुला गरेको छ । त्यसमध्ये अझै १०२ हिमालमा मानव पाइला परेको छैन ।

अहिले हिमाल आरोहणको मुख्य सिजन हो । हिमाल आरोहणका लागि सरकारले सबै मौसममा अनुमति दिन्छ । तर आरोहीका लागि सबैभन्दा उपयुक्त मौसम भने वसन्त ऋतु हो । वसन्त ऋतुमा अन्य समयभन्दा बढी आरोही नेपाल आउँछन् ।

हिमाल चढेवापत पर्वतारोहीले तिर्ने रकमबापत सरकारले पाउने रोयल्टी पनि यही सिजनमा बढी सङ्कलन हुने गरेको तथ्यांक छ । पछिल्लो एक वर्षमा मात्र हिमाल आरोहणबाट सरकारले सवा अर्ब रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

देशमै कयौँ हिमशृङ्खला भए पनि थोरै नेपालीले मात्र हिमाल आरोहण गर्ने गरेका छन् । हिमाल चढ्दा के-के प्रक्रिया पूरा गर्नुपर्छ र कति खर्च लाग्छ भन्ने जानकारी धेरैमा नरहेको पाइन्छ ।

यो सामग्रीमा हामीले हिमाल आरोहणको अनुमति र यसका लागि लाग्ने खर्चबारे जानकारी दिएका छौँ ।

सुरुमा कुरा गरौँ अनुमतिबारे । हिमाल चढ्नका लागि सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागबाट अनुमति लिनुपर्छ । त्यसका लागि निश्चित शुल्क तोकिएको हुन्छ जुन हिमालअनुसार फरक पर्छ ।

हिमाल चढ्नका लागि सामान्य कपडाले हुँदैन । सगरमाथा आरोहण गर्नेले माइनस ४० डिग्रीभन्दा बढीको चिसो सहनुपर्छ । यसका लागि पर्वतारोहणसम्बन्धी कपडासहितका सामग्री आवश्यक पर्छ । त्यस्तै सम्पर्क अधिकृत, गाइड र भरियासम्ममा हिमाल चढ्नेले खर्च गर्नुपर्ने हुन्छ ।

आङछिरिङ शेर्पा, पर्वतारोहणविद्

अन्य हिमालको तुलनामा सगरमाथा आरोहण गर्न खर्चिलो छ । सगरमाथा आरोहणको लागि रोयल्टीवापत तिर्नुपर्नेसहितको अन्य खर्च गर्नुपर्छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न विदेशीले वसन्त ऋतुमा १५ हजार डलर (सन् २०२६ मेको सटही दरअनुसार करिब २३ लाख रुपैयाँ) तिर्नुपर्छ भने नेपालीले १ लाख ५० हजार रुपैयाँ तिर्नुपर्छ । शरद ऋतुमा भने सगरमाथा आरोहणका लागि विदेशीलाई ७ हजार ५ सय डलर र नेपालीका लागि ७५ हजार रुपैयाँ लाग्छ ।

त्यस्तै शिशिर तथा वर्षा ऋतुमा २ हजार ७५० डलर सरकारले सगरमाथाको रोयल्टी शुल्क तोकेको छ । नेपालीले भने रोयल्टी वापत यी मौसममा ३७ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

सगरमाथाबाहेक अन्य ८ हजार मिटरमाथिका हिमाल चढ्न विदेशीलाई ३ हजार डलर रोयल्टी तोकिएको छ भने नेपालीले ५० हजार रुपैयाँ तिरे पुग्छ । ६ हजार ५ सय मिटरदेखि ८ हजार मिटरसम्मका हिमाल चढ्न विदेशीले ३५० डलरदेखि १ हजार डलरसम्म तिर्नुपर्छ भने नेपालीले २० देखि ४० हजार रुपैयाँसम्म रोयल्टी तिर्नुपर्छ ।

यो त भयो हिमाल चढेवापत नेपाल सरकारलाई तिर्ने रकम । अब हामी हिमाल चढ्दा प्रयोग हुने विभिन्न सामग्रीका लागि कति रकम खर्च गर्नुपर्छ भन्नेबारे जानकारी लिऔँ ।

हिमाल आरोहण बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ, त्यति नै कठिन चुलीमा पुग्न हुन्छ । कुनै पनि हिमालको चुलीमा पुग्न त्यहीअनुसारको तयारी गर्नुपर्छ ।

हिमाल आरोहणका लागि जति गुणस्तरीय सामान हुन्छ त्यति नै मूल्य पनि महँगो हुन्छ । हिमालको उचाइअनुसार सामग्रीहरू आवश्यक पर्छन् । ८ हजार मिटर माथिको हिमाल आरोहण गर्दा एक जोर जुत्ताकै १ लाख ३० हजारदेखि झण्डै २ लाख रुपैयाँसम्म पर्छ ।

ठमेलमा ३० वर्षदेखि स्पोर्ट वेयर इन्टरनेसनल सञ्चालन गर्दै आएका र ‘हाइ हिमाल’का नाममा पर्वतारोहण सामग्री बेच्ने व्यवसायी बोमबहादुर राई ज्याकेट, जुत्ता, पञ्जा लगायतका हिमाल चढ्न चाहिने सामान किन्न ठूलो रकम खर्च गर्नुपर्ने बताउँछन् ।

बोमबहादुर राई, व्यवसायी

आरोहणमा जाने आरोहीले गर्ने खर्च ब्रान्डअनुसारको सामान खरिदमा पनि भर पर्छ । नाम चलेको अन्तर्राष्ट्रिय ब्राण्ड र टिकाउ सामग्रीअनुसार खर्च गर्नुपर्ने हुन्छ । आठ हजार मिटर माथिका हिमाल आरोहणमा जाँदा सामान्यतया ६-७ लाखदेखि १४-१५ लाख रुपैयाँसम्मका सामान किन्नुपर्ने हुन्छ । ६ हजार मिटरसम्मको हिमाल चढ्नका लागि भने ४ लाख रुपैयाँसम्मका सामग्रीले धान्ने व्यवसायी बताउँछन् ।

मानौँ, तपाईंले वसन्त ऋतुमा सगरमाथा चढ्न खोज्नु हुन्छ भने रोयल्टी र आवश्यक सामग्रीमा कम्तिमा १६ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । त्यसका साथै एजेन्सी शुल्क, सम्पर्क अधिकृत, गाइड र भरियाका लागि लाग्ने खर्च पनि अनिवार्य छ ।

सगरमाथा आरोहणका लागि अधिकतम ७५ दिनको अनुमति लिनुपर्ने हुन्छ र काठमाडौंबाट सगरमाथाको चुचुरोमा पुगेर फर्किन कम्तिमा ४५ देखि ६० दिन लाग्छ । त्यति दिनसम्म खानामा लाग्ने खर्चसमेत व्यहोर्नुपर्ने हुन्छ ।

यो सबै हिसाब गर्दा वसन्त ऋतुमा सगरमाथा चढ्दा विदेशीले न्यूनतम ६५ लाख रुपैयाँ खर्च गर्नुपर्छ । पर्यटन व्यवसाय सेवामूलक भएकाले चलेका कम्पनी, ब्राण्ड र खर्च गर्न सक्ने उच्च तहका विदेशीहरूको हकमा भने १ लाख डलर (करिब १ करोड ३५ लाख रुपैयाँ) सम्म पनि खर्च लाग्छ । यसमा नेपाल आइपुग्न र १५ सयदेखि २ हजार डलरसम्मको बिमा आरोहीले छुट्टै खर्च गर्नुपर्ने हुन्छ ।

नेपालीका लागि भने सरकारले रोयल्टी छुट दिने र विदेशीको तुलनामा थोरै मात्र शुल्क लिएर एजेन्सीले सेवा दिन सक्छन् । जसले गर्दा नेपालीले ३५ लाख रुपैयाँ आसपासमा सगरमाथा आरोहण गर्न सक्छन् ।

अन्य हिमाल आरोहणका लागि रोयल्टी शुल्क नेपालीका लागि न्यून लाग्छ भने हिमाल आरोहण सामग्री पनि सगरमाथा आरोहरणको जस्तो महँगो नपर्ने भएकाले ६ हजार मिटरसम्मको हिमाल चढ्नका लागि ३/४ लाखसम्ममा पनि हिमाल चढ्न सकिने व्यवसायी बताउँछन् ।

फोटो/भिडियो: रवि धिताल
भिडियो सम्पादन: विभुषणकुमार जोशी