
काठमाडौं । व्यवसायी दीपक भट्टले सेयर बजारमा आफ्नो नामबाट भएको कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
हिमालयन रि इन्स्योरेन्सको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएर कम्पनीलाई हानी-नोक्सानी पुर्याएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको क्रममा बयान दिँदै उनले भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) मार्फत भएको सेयर कारोबारमा आफू संलग्न नरहेको र ब्रोकरले नै आफ्नो खाताको दुरुपयोग गरेको दाबी गरेका छन् ।
बयानका क्रममा भट्टले आफ्ना विभिन्न व्यावसायिक लगानीहरूको विवरण खुलाएका छन् । उनको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालिको चुक्ता पुँजी ४८ करोड रुपैयाँ रहेको र उक्त कम्पनीमार्फत हिमालयन रि इन्स्योरेन्समा ४.५ प्रतिशत सेयर रहेको उनले बताएका छन् । साथै, दुईवटा माइक्रो इन्स्योरेन्समा १५/१५ प्रतिशत र हिमालयन एसेट म्यानेजमेन्टलगायतका कम्पनीमा आफ्नो लगानी रहेको उनले स्वीकार गरेका छन् ।
दोस्रो बजारमा हुने नियमित सेयर कारोबारमा भने उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । ‘मैले सेयर कारोबारका लागि भृकुटी स्टक ब्रोकिङमा एउटा मात्र खाता खोलेको र सम्झौता गरेको छु । तर, उक्त सम्झौता कार्यान्वयनमा आएको छैन । मैले हालसम्म कुनै कारोबार गरेको छैन,’ बयानमा भट्टले भनेका छन् ।
भट्टले ब्रोकर कम्पनीले आफ्नो अनुमतिबिनै कारोबार गरेको आरोप लगाएका छन् । सेयर खरिदका लागि अनिवार्य हुनुपर्ने २५ प्रतिशत कोल्याटरल (धरौटी) समेत आफूले नदिएको अवस्थामा कारोबार हुनुले नै आफू ‘वास्तविक धनी’ नभएको उनको तर्क छ ।
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयान दिने क्रममा मात्र मेरो खाता प्रयोग गरी कारोबार भएको थाहा पाएँ । मेरो खातामा सेयरको मूल्य वृद्धि गरी ‘डम्प’ गरिएको देखिन्छ । म यसको लाभग्राही होइन, उल्टै ममाथि जालसाँजी भएको छ,’ भट्टले बयानमा भनेका छन् ।
अनुसन्धानका क्रममा उनको र अन्य केही कम्पनीहरूको सेयर कारोबार गर्दा प्रयोग भएको टीएमएसको आईपी एड्रेस एउटै कार्यालयबाट सञ्चालन भएको पाइएको थियो । यसले गर्दा अर्कै कुनै समूह वा कार्यालयबाट आफ्नो नाममा कारोबार भइरहेको हुनसक्ने तर्फ उनले संकेत गरेका छन् ।
खाता दुरुपयोग भएको थाहा पाएपछि भृकुटी स्टकका कार्यकारी प्रमुख सन्दीप चाचानसँग सोधपुछ गर्दा ब्रोकरले गल्ती स्वीकार गरेको बताएका छन् । ‘सन्दीप चाचानले आफ्नै गल्ती स्वीकार गर्दै माफी मागेका थिए र समस्या समाधान गर्ने बचन दिएका थिए,’ भट्टले बयानमा भनेका छन् । सोही आश्वासनका कारण आफूले सुरुमा कानुनी उपचार नचलाएको उनले बताएका छन् ।
हाल हिरासतमा रहेका भट्टले आफू कुनै पनि कम्पनीको बोर्ड वा व्यवस्थापनमा नरहेको र सेयर बजारलाई प्रभाव पार्ने कुनै कार्य नगरेको भन्दै कसुरमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् । गत चैत १९ गते प्रहरीले पक्राउ गरी भट्टमाथि धितोपत्रसम्बन्धी कसूर, बिमा सम्बन्धी कसूर, बैंकिङ कसूर, राजस्व छलि सम्बन्धी कसूर र सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गरिरहेको छ ।
यस्तो छ भट्टले प्रहरीसँग दिएको बयान
मेरो एकल नाममा इन्फिनिटी होल्डिङ्स प्रालि रहेको छ । उक्त प्रालिमा चुक्ता पुँजी ४८ करोड रुपैयाँ रहेको छ । हिमालयन रिइन्स्योरेन्समा इन्फिनिटी होल्डिङ्स प्रालिको ४.५ प्रतिशत सेयर रहेको छ । दुईवटा माइक्रो इन्स्योरेन्स नेपाल माइक्रो लाइफ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा १५/१५ प्रतिशत सेयर रहेको छ । इन्फिनिटी होल्डिङ्सको एकल लगानीअन्तर्गत हिमालयन एसेट म्यानेजमेन्ट कम्पनी रहेको छ । इन्फिनिटी इन्फ्रास्ट्रक्चर कम्पनीलगायतमा मेरो लगानी रहेको छ । सम्पूर्ण विवरण हाल एकीन भएन । उक्त लगानी मेरो व्यवसायबाट आर्जन गरिएको हो । मेरी श्रीमतीको लगानीअन्तर्गत हिमालयन रिइन्स्योरेन्समा ५० लाख रुपैयाँलगायत केही कम्पनीहरूमा लगानी रहेको छ ।
म हाल हिरासतमा रहेकोले पूर्णजानकारी भएन, म पछि एकीन गर्नेछु। सि.नं. १ को नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिको सामान्य जानकारी छ । तत्कालीन अध्यक्ष आशिष श्रेष्ठलाई साथीको रूपमा सामान्य चिन्दछु । सि.नं. २ को हिमालयन रिइन्स्योरेन्स लि. कम्पनीमा मेरो Infinity Holdings Pvt. Ltd. कम्पनीमार्फत अन्दाजी ४.५ प्रतिशत लगानी रहेको छ । पदाधिकारीहरूको बारेमा निवर्तमान अध्यक्ष शेखर गोल्छा साथी, लगानी संयोजक शाहिल अग्रवाल साथी र प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई सामान्य चिन्दछु । सि.नं. ३ को हिमालयन क्यापसर्भ लि. कम्पनीको सामान्य जानकारी छ, पदाधिकारीहरूबारे जानकारी भएन । सि.नं. ४ हिमालयन सेक्युरिटिज बैंकर लि. कम्पनीको सामान्य जानकारी छ, पदाधिकारीहरूलाई चिन्दिन । सि.नं. ५ हिमालयन लाइफ इन्स्योरेन्स लि. कम्पनीबारे सामान्य जानकारी छ । यसपूर्वका अध्यक्ष मेरा साथी सुलभ अग्रवाल थिए ।
सि.नं. ६ को कम्पनीबारे सामान्य जानकारी छ, पदाधिकारी चिन्दिन। सि.नं. ७ भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिमा मैले डिम्याट खाता खोलेको छु । सोही क्रममा सन्दीप चाचान अग्रवाललाई सामान्य चिन्दछु । उक्त ब्रोकरमा मेरो खाता रहेता पनि मैले हालसम्म कारोबार गरेको छैन । मैले मेरो सेयर कारोबारका लागि भृकुटी स्टक ब्रोकिङ प्रालि (ब्रोकर नं. ५५) मा एउटा मात्र खाता खोलेको छु । उक्त कारोबारका लागि मैले कुनै पनि खाता प्रयोग गरेको छैन । साथै कारोबार पनि गरेको छैन ।
उक्त KYC फारममा मैले मेरो माथि उल्लिखित विवरणहरूका साथै सम्पर्क नं. ९८५११९८८०८ र Email Address: [email protected] रहेको उल्लेख गरेको छु । भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालि (ब्रोकर नं. ५५) मा मैले खाता खोलेर कारोबारका लागि सम्झौता गरेको ठिक साँचो हो । तर, सम्झौता कार्यान्वयनमा आएको थिएन र छैन । कारोबारका लागि आदेश र सहमति नदिएको र अनिवार्य २५ प्रतिशत धरौटीसमेत नदिएको अवस्थामा मैले कुनै कारोबार नगरेको स्पष्ट देखिन्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट बयानका क्रममा मात्र मेरो खाता प्रयोग गरी कारोबार गरेको भन्ने जानकारी पाएको थिएँ । को–कसले उक्त खाता चलाएका हुन्, सम्बन्धित ब्रोकरसमेतसँग छानबिन गरी कारबाही गरिपाऊँ । मेरो संलग्नता नभएकोले उक्त रकम दुरुपयोगबारे मलाई जानकारी छैन ।
मैले सेयरको कुनै कारोबार गरेको छैन । भृकुटी ब्रोकर कम्पनीले गरेको रहेछ । सेयर खरिदको प्रक्रियामा मेरो कुनै सहमति, निर्देशन र अनिवार्य रूपमा दिनुपर्ने कोल्याटरल वापतको २५ प्रतिशतसमेत नदिएकोले वास्तविक कारोबार र वास्तविक धनी म होइन । टीएमएस पनि मैले चलाएको छैन । बयानका क्रममा जानकारी पाएअनुसार उक्त टीएमएस अन्यत्रै कार्यालयबाट चलाएको जानकारी पाएको हो । र म आधारभूत सेयरधनी रहेको कुनै पनि कम्पनीमा बोर्ड तथा व्यवस्थापनमा म संलग्न छैन र मेरो प्रतिनिधिसमेत रहेका छैनन् । अतः म माथिको सवालमा उल्लिखित कसुरमा संलग्न छैन । मैले सेयर कारोबार गरेको नै छैन।
म उल्लिखित कम्पनीको बोर्ड तथा व्यवस्थापनमा रहेको छैन । त्यसैले मैले कोही कसैलाई प्रभावमा पार्ने तथा कुनै रकम दुरुपयोग गर्ने कार्य गरेको छैन । साथै ब्रोकरसँग हालसम्म मेरो रकम लेनदेन भएको छैन । त्यसैले म कुनै पनि प्रकारले उक्त कारोबारको लाभग्राहीसमेत होइन । यसमा उल्टै मेरो टीएमएस खातामा सेयरको मूल्य वृद्धि गरी डम्प गरिएको देखिन्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धानको क्रममा बयान गर्दा नै मैले यी सबै कारोबारहरूको जानकारी पाएको हो । उक्त जानकारीअनुसार ती कारोबार गर्दा मेरो र मेरो समेत लगानी रहेको सबै कम्पनीहरूको सेयर कारोबारमा प्रयोग भएको टीएमएसको आईपी एड्रेस एउटै कार्यालयबाट सञ्चालन भएको थाहा हुन आयो ।
मैले माथि नै उल्लेख गरेबमोजिम म कुनै पनि सेयर कारोबारमा संलग्न छैन । त्यसैले मलाई सवालमा उल्लिखित कारोबारको उद्देश्य र कारोबारमा संलग्नताबारे जानकारी भएन । बरु टीएमएस प्रयोगकर्ता (आईपी एड्रेस) सहित वास्तविक धनी र निजहरूको मनसायसमेतको विस्तृत अनुसन्धान होस् । मैले ब्रोकरको सल्लाहबमोजिम उक्त सम्झौता गरेको थिएँ । कानुनी हैसियतको विषयमा ग्राहकले नभई ब्रोकरले जानकारी राख्ने विषय हो । तर, सम्झौतामा नेपालको कानुनबमोजिम भनी उल्लेख भएको छ ।
मेरो बुझाइमा मैले कारोबार नै नगरेको र कारोबारका निम्ति अपनाउनुपर्ने प्रक्रियामा सामेल नभएको साथै निर्देशन र सहमतिसमेत नदिएको र अनिवार्यरूपमा खरिदपूर्व जम्मा गर्नुपर्ने २५ प्रतिशत कोल्याटरलसमेत जम्मा नगरेको अवस्थामा मलाई ब्रोकरबाट जालसाँजी भएको स्पष्ट हुन्छ । मैले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा मात्र जालसाँजीको जानकारी पाएको हो । सोपश्चात ब्रोकरलाई बोलाई उसलाई मुद्दा गरिदिन्छु भन्दा निजले आफ्नो गल्ती स्वीकार गरी राफसाफ गर्ने वचन दिएको थियो । त्यसैले मैले अन्य कानुनी उपचारको प्रक्रिया नगरेको हो ।
टीएमएस खाता खोल्दा KYC मा भरिएको विवरण स्वीकार गरेको सत्य साँचो हो । कारोबारको म्यासेज आएता पनि मैले प्रायः फोन कम प्रयोग गर्नु र WhatsApp का लागि Internet Connect मात्र गर्ने गरेकोले मैले SMS नोटिस गरिन । कानुनी उपचार सम्बन्धमा मैले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट मेरो खातामा सेयर कारोबार भएको जानकारी पाउनेबित्तिकै सम्बन्धित ब्रोकरका कार्यकारी प्रमुख सन्दीप चाचानलाई बोलाई सोधपुछ गर्दा निज स्वयंले गल्ती स्वीकार गरी माफीसमेत मागेको र छिट्टै कानुनबमोजिम समाधान निकाल्छु भनेको थियो । त्यस समयमा मेरो खातामा रहेका सेयर रोक्का रहनुका साथै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट कारोबार नगर्न सन्दीप चाचानलाई निर्देशन दिएकोले निजले कारोबार राफसाफ गर्न नपाएको हुनसक्छ । अर्कोतर्फ मैले माथिका जवाफहरूमा खुलाएबमोजिम नै मेरो कुनै संलग्नता छैन ।





प्रतिक्रिया