सूचीकृत सिमेन्ट कम्पनीको नाफामा २५०%को वृद्धि, सर्वोत्तम र सोनापुर चम्किँदा शिवम् र पाल्पा सुस्ताए


काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिमेन्ट कम्पनीको वित्तीय विवरणमा उल्लेख सुधार देखिएको छ ।

अर्थतन्त्रमा देखिएको सुस्तताले गर्दा माग घटेसँगै सिमेन्ट कम्पनीहरु कुल क्षमताको एक तिहाईदेखि ५० प्रतिशतको क्षमतामा चलिरहेका छन् ।

सोनापुर सिमेन्ट बाहेक अन्य कम्पनीको बिक्री आम्दानीमा अपेक्षित सुधार नभएपनि बिक्री खर्चमा उल्लेख्य कमी आउँदा सिमेन्ट कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

सूचीकृत भएका ५ कम्पनीको सिमेन्ट बिक्रीबाट भएको सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा सामान्य बढेको छ । तर, खर्च घटेसँगै आम्दानी घटेपनि नाफामा सुधार भएको हो ।

विशेष गरी कर्जाका ब्याजदर घटेसँगै उल्लेख्य रुपमा घटेको वित्तीय लागतले पनि सिमेन्ट कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको हो ।

नेपालको पुँजी बजारमा सूचीकृत सिमेन्ट कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म मिश्रित नतिजा सार्वजनिक गरेका छन् । समग्रमा क्षेत्रगत रूपमा हेर्दा सुचीकृत ५ सिमेन्ट कम्पनीहरूको खुद नाफा गत वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म पाँच कम्पनीको जम्मा खुद नाफा ४७ करोड ७ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा २५०.४८ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

कुल सञ्चालन आम्दानी २१ अर्ब ६१ करोड १४ लाख रुपैयाँबाट बढेर २१ अर्ब ६१ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

कुल सञ्चालन आम्दानीमा १.६१ प्रतिशतले मात्रै वृद्धि भएपनि नाफामा ठूलो सुधार देखिनुको मुख्य कारण बिक्री लागत र वित्तीय लागत (ब्याज खर्च) मा आएको कमी हो ।

सुचीकृत भएको सिमेन्ट कम्पनीहरूको प्रकाशित वित्तीय विवरणको तथ्यांकको विश्लेषण गर्दा नाफा बढ्नुमा दुईवटा प्रमुख कारणहरू देखिन्छ ।

पहिलो कारण हो बिक्री लागतमा कटौती हुनु । कम्पनीहरूको कुल बिक्री लागत १७ खर्ब २७ करोड ८८ लाख रुपैयाँबाट घटेर १६ अर्ब ६७ करोड १० लाख रुपैयाँमा झरेको छ । यसले उत्पादन प्रक्रियामा भएको खर्च कटौति र कच्चा पदार्थको मूल्यमा आएको स्थिरतालाई समेत संकेत गरेको छ ।

यस्तै नाफा बढ्नुको दोस्रो कारण वित्तीय लागत (ब्याज खर्च) मा आएको कमी हो । बैंकको ब्याजदर घट्नु र ऋण व्यवस्थापन प्रभावकारी हुँदा सिमेन्ट कम्पनीहरुको वित्तीय लागत ठुलो कटौति भएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म वित्तीय लागत १ अर्ब ७४ करोड ६० रुपैयाँबाट घटेर चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ३६ करोड ४५ लाख रुपैयाँमा झरेको छ । गत वर्षको तुलनामा यी कम्पनीहरुको वित्तीय लागत २१.८५ प्रतिशतले घटेको हो ।

विशेष गरी घोराही सिमेन्ट र पाल्पा सिमेन्टको वित्तीय लागत उल्लेख्य रूपमा घटेको छ । जसले गर्दा आम्दानीमा उच्च गिरावट भएको पाल्पा सिमेन्टको नाफामा सामान्य कमी आएको छ ।

यस्तै घोराही सिमेन्टको सञ्चालन आम्दानीमा अपेक्षित वृद्धि नभएपनि बिक्री लागतमा भएको भारी कटौति र वित्तीय लागत उल्लेख्य घट्दा कम्पनीको नोक्सानीमा उल्लेख्य रुपमा घटेको छ ।

खर्चमा कमी आएसँगै सिमेन्ट कम्पनीहरुको कुल नाफा उल्लेख्य रुपमा बढेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कुल नाफा ४ अर्ब ३३ करोड २७ लाख रुपैयाँबाट २२.०६ प्रतिशतले बढेर ५ अर्ब २८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । यसले सिमेन्ट कम्पनीहरूको मार्जिनमा उल्लेख्य सुधार देखिएको छ ।

कुन कम्पनीको वित्तीय अवस्था कस्तो ?

सर्वोत्तम सिमेन्ट

प्रकाशित वित्तीय विवरण अनुसार सर्वोत्तम सिमेन्ट सबैभन्दा बलियो देखिएको छ । गत आवको तेस्रो त्रैमासमा ६ अर्ब ८१ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी २.८९ प्रतिशतले बढेर चालु आवको तेस्रो त्रैमासमा ७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको बिक्री लागत ५ अर्ब ५० करोड ५५ लाख रुपैयाँबाट घटेर ५ अर्ब २४ करोड ८७ लाख रुपैयाँमा झरेको छ ।

आम्दानीमा सामान्य वृद्धि भएपनि बिक्री लागत घट्दा कम्पनीको कुल नाफा १ अर्ब ३० करोड ५९ लाख रुपैयाँबाट ३४.७२ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

यस्तै वित्तीय लागत २२ करोड ७० लाख रुपैयाँबाट घटेर १८ करोड ६३ लाख रुपैयाँमा झरेको छ । जसले कम्पनीको खुद नाफा ६० करोड ३० लाख रुपैयाँबाट ५०.२२ प्रतिशतको वृद्धि भई ९० करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि १६.१६ रुपैयाँबाट बढेर २३.१२ रुपैयाँ पुगेको छ । जुन सुचीकृत सिमेन्ट कम्पनीमा सबैभन्दा उच्च हो। कम्पनीको प्रतिसेयर नेटवर्थ १९३.९३ रुपैयाँबाट बढेर १९५.९६ रुपैयाँ पुगेको छ ।

शिवम् सिमेन्ट

सेयर बजारमा सुचीकृत सबैभन्दा पुरानो कम्पनी हो ब्रान्ड शिवम् सिमेन्ट । कम्पनीको पफर्मेन्स यसपटक केही कमजोर देखिएको छ । कम्पनीको सञ्चालन आम्दानीमा कमी आएपनि खुद नाफा भने बढेको छ ।

कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३९ करोड ७३ लाख रुपैयाँबाट घटेर ४ अर्ब ९५ करोड ४७ लाख रुपैयाँमा झरेको छ । यस्तै कम्पनीको बिक्री लाग पनि ४ अर्ब ३९ करोड ३५ लाख रुपैयाँबाट घटेर ३ अर्ब ८१ करोड १० लाख रुपैयाँमा झरेको छ ।

यस्तै कम्पनीको कुल नाफा १ अर्ब लाख रुपैयाँबाट बढेर १ अर्ब १४ करोड ३७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय लागत ७५ लाख रुपैयाँबाट बढेर १ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको नाफा ४० करोड ५ लाख रुपैयाँबाट ५४.६१ प्रतिशतले बढेर ६१ करोड ९२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७९ पैसाबाट बढेर १४ रुपैयाँ ७६ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ पनि १८१.१ रुपैयाँबाट बढेर १८५.३१ रुपैयाँ पुगेको छ ।

सोनापुर मिनरल्स
सोनापुरले व्यवसायमा ठूलो फड्को मारेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ५९ को खुद नोक्सानीमा रहेकोमा कम्पनीको व्यवसायमा सुधार भएसँगै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा भने कम्पनीले २२ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यसको सञ्चालन आम्दानी १ अर्ब ७६ करोड ४२ लाख रुपैयाँबाट बढेर ३ अर्ब ४ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको सञ्चालन आम्दानी ७२.४२ प्रतिशतले बढेको हो । कम्पनीको सञ्चालन आम्दानीसँगै बिक्री लागत पनि उल्लेख्य रुपमा बढेको छ । १ अर्ब ४६ करोड ३९ लाख रुपैयाँबाट ४७.७२ प्रतिशतले बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको कुल नाफा ३० करोड ४ लाख रुपैयाँबाट १९२.७४ प्रतिशतले बढेर ८७ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको सञ्चालन आम्दानीसँगै वित्तीय लागत पनि बढेको छ । वित्तीय लागत २६ करोड ४३ लाख रुपैयाँबाट बढेर ३६ करोड ४१ लाख रुपैयाँ पुगेको छ । सबै खर्च बढेपनि आम्दानी उल्लेख्य बढ्दा कम्पनीको नोक्सानीबाट नाफामा गएको हो । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १९७.२२ रुपैयाँ पुगेको छ ।

पाल्पा सिमेन्ट

सुचीकृत ५ मध्ये ४ कम्पनीले प्रिमियम र बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गरेकोमा पाल्पा सिमेन्टले मात्रै अंकित मूल्यामा आईपीओ निष्कासन गरेको हो । हालै मात्रै आईपीओ निष्कासन गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको सञ्चालन आम्दानीमा भारी गिरावट भएपनि नाफामा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । पाल्पा सिमेन्टको सञ्चालन आम्दानी ४ अर्ब ११ करोड २० लाख रुपैयाँबाट १७.२२ प्रतिशतले घटेर ३ अर्ब ४० करोड ३९ लाख रुपैयाँमा झरेको छ । यस्तै कम्पनीको नाफा पनि ९ करोड ७५ लाख रुपैयाँबाट ४१.२३ प्रतिशतले घटेर ५ करोड ७३ मा झरेको छ ।

यसको कुल नाफा मा पनि अघिल्लो वर्षको तुलनामा संकुचन आएको छ । कम्पनीको बिक्री लागत ३ अर्ब १० करोड ३८ लाखबाट ९.०१ प्रतिशतले घटेर २ अर्ब ८२ करोड ४२ लाख रुपैयाँमा झरेपनि कुल नाफा १ अर्ब ८२ लाख रुपैयाँबाट ५७ करोड ९७ लाख रुपैयाँमा झरेको छ ।

आम्दानीमा उच्च गिरावट भएपनि वित्तीय लागत ५५ करोड ८५ लाख रुपैयाँबाट ४३.९७ प्रतिशतले घटेर ३१ करोड २९ लाखमा झरेको कारण सामान्य नाफा देखिएको हो । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ५८ पैसा छ ।

घोराही सिमेन्ट

प्रकाशित वित्तीय विवरणका आधारमा सबैभन्दा उच्च मूल्यमा आईपीओ जारी गर्ने घोराही सिमेन्टको वित्तीय अवस्था सबैभन्दा कमजोर देखिएको छ । कम्पनी नोक्सानीमै रहेपनि यसले आफ्नो घाटा उल्लेख्य रूपमा घटाएको छ ।

गत आवको तेस्रो त्रैमासमा ५५ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा रहेकोमा यस वर्ष १५ करोड ८७ लाखमा झरेको छ । आम्दानी नबढेपनि वित्तीय लागतमा आएको कमीले कम्पनीलाई सुधारको बाटोमा लगेको देखिन्छ ।

कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँबाट ०.७० प्रतिशतले बढेर ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको बिक्री लागत २ अर्ब ८१ करोड २१ लाख रुपैयाँबाट ६.६६ प्रतिशतले घटेर २ अर्ब ६२ करोड ४७ रुपैयाँमा झरेको छ ।

यस्तै कम्पनीको कुल नाफा ७१ करोड ४४ लाख रुपैयाँबाट बढेर ९२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय लागत भने ६८ करोड ८७ लाख रुपैयाँबाट २८.५९ प्रतिशतले घटेर ४९ करोड १८ लाखमा झरेको छ । जसले कम्पनीको नोक्सानी उल्लेख्य घटेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १९०.८ रुपैयाँबाट घटेर १६८.६९ रुपैयाँमा झरेको छ ।

समग्रमा हेर्दा, निर्माण क्षेत्रमा देखिएको केही सुस्तताका बाबजुद सिमेन्ट कम्पनीहरूले उत्पादन लागत र वित्तीय व्यवस्थापनमा सुधार गरी नाफा बढाउन सफल भएका छन् ।

सर्वोत्तम र सोनापुर जस्ता कम्पनीहरूले आक्रामक व्यापार गर्दा शिवम् र पाल्पा लगायतका कम्पनीहरूलाई बजार हिस्सा जोगाउन केही चुनौती थपिएको तथ्यांकले देखाउँछ ।