
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको संसद्मा देखिएको व्यवहारप्रति आपत्ति जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकको बीचैबाट बाहिरिएको घटनालाई कांग्रेसले ‘अमर्यादित र दुर्भाग्यपूर्ण’ संज्ञा दिएको हो ।
मंगलवारुको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा र इज्जतमा आँच पुग्नेगरी प्रधानमन्त्रीले व्यवहार प्रदर्शन गरेको आरोप लगाए ।
विश्वका कुनै पनि मुलुकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेको इतिहास नरहेको भन्दै यसलाई व्यङ्ग्यात्मक रूपमा ‘गिनिज बुक’मा नाम लेखिने विषय भएको टिप्पणी गरे ।
नेता आङदेम्बेले प्रधानमन्त्रीको अचानकको बहिर्गमनलाई स्वास्थ्य अवस्थासँग जोड्दै यसबारे संसद्लाई आधिकारिक जानकारी दिन माग गरे । आङदेम्बेले प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको उल्लेख गर्दै सत्ताको भार अपेक्षा गरेभन्दा बढी भएका कारण यस्तो व्यवहार देखिएको हुनसक्ने संशय व्यक्त गरे ।
प्रधानमन्त्रीको अहङ्कारपूर्ण व्यवहारले जनताको मन कुडिएको र देशकै शिर झुकेको उनको दाबी छ ।
‘प्रधानमन्त्रीको स्वास्थ्य स्थिति गम्भीर बनेर उहाँ हिँड्नुभएको हो भने अविलम्व स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराइयोस् । प्रधानमन्त्री रास्वपाको मात्र नभई राष्ट्रकै सम्पत्ति भएकाले उहाँको स्वास्थ्यप्रति हामी पनि चिन्तित छौँ,’ उनले भने ।
सम्बोधनका क्रममा उनले सभामुखको भुमिकाप्रति पनि प्रश्न उठाए ।
सदनलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी सभामुखको भए पनि प्रधानमन्त्री बीचैमा निस्कँदा सभामुख मौन रहेको भन्दै उनले आश्चर्य व्यक्त गरे ।









प्रतिक्रिया