
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विभिन्न सुकुम्बासी बस्तीहरूबाट २७ सय घरटहरा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वोच्च अदालतमा बुझाएको पछिल्लो तथ्यांकअनुसार काठमाडौंका १९ वटा स्थानका २ हजार ६ सय ८७ वटा घरटहरा भत्काइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको विवरण अनुसार यसरी बस्ती हटाउँदा १५ हजार ३ सय १६ जना नागरिक आवासविहीन भई विस्थापित भएका छन् । विस्थापित हुनेहरूमा महिला, पुरुषका साथै ठुलो संख्यामा बालबालिकाहरू समेत रहेका छन् ।
सर्वोच्चमा बुझाइएको ‘सुकुम्बासी बस्तीका हटाइएका घर टहराहरूको संख्यात्मक विवरण’ अनुसार भत्काइएका संरचनाहरूमध्ये ८ सय ९० वटा पक्की र १ हजार ७ सय ९७ वटा कच्ची घरटहरा रहेका छन् । यस कारबाहीबाट कुल २ हजार ५ सय १ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
सुकुम्वासीमा चलेको डोजरको विषयमा परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले घरटहरा भत्काउने निर्णय र हालसम्म भत्काएको घरटहराको विवरण मागेको थियो ।
जसअनुसार काठमाडौंले बुझाएको विवरणमा सबैभन्दा धेरै बल्खुमा ४ हजार ८१० वटा घरटहरा भत्काइएको देखिन्छ । यसैगरी गैरीगाउँमा २६ सय, वंशिघाटमा २ हजार १९८, मनोहरामा १ हजार ५५६ र गौशालामा १ हजार ४२० वटा घरटहरा भत्काइएको छ ।
घरटहार भत्काउँदा १५ हजार ३१६ व्यक्ति विस्थापित भएको प्रशासनको दाबी छ । जसअनुसार महिला ६ हजार ८५८ जना, पुरुष ५ हजार ३२५ जना, बालक १ हजार ४३७ जना र बालिका १ हजार ६९६ जना विस्तापित भएको बताइएको छ ।
प्रशासनको तथ्यांक अनुसार थापाथली, गौरीगाउँ, मनोहरा, कालोपुल, बल्खु, बंशीघाट, शंखमुल, कालीमाटी, बालाजु, स्वयम्भू, गौशाला, धोबीखोला, तेन्जिङचोक, कृष्णमन्दिर, कपन र साततले लगायतका १९ वटा क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरू हटाइएका हुन्।
तथ्यांकअनुसार सबैभन्दा धेरै बल्खु क्षेत्रबाट ४८० वटा घरटहरा हटाइएको छ, जहाँबाट मात्रै ४ हजार ८ सय १० जना विस्थापित भएका छन् । यस्तै बंशीघाटबाट २०५ वटा घरटहरा हटाउँदा २ हजार ९ सय ९८ जना र गौरीगाउँ क्षेत्रबाट ८७८ जना विस्थापित भएका छन् ।
अदालतमा बुझाइएको उक्त प्रतिवेदन अनुसार हाललाई तोकिएका सबै क्षेत्रका घरटहराहरू पूर्ण रूपमा भत्काउने कार्य सम्पन्न भइसकेको र भत्काउन बाँकी संख्या शून्य छ ।










प्रतिक्रिया