मनसुनमा औसतभन्दा ६५ प्रतिशतसम्म कम वर्षा हुने

अधिकांश भू-भागमा सरदरभन्दा बढी गर्मी हुने

364
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा नेपालका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने प्रक्षेपण गरेको छ । विभागले शुक्रबार सार्वजनिक गरेको ‘मनसुन ऋतुको जलवायु आँकलन’ अनुसार आगामी चार महिना (जेठ १८ देखि असोज १४ सम्म) मुलुकभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको प्रक्षेपण गरेको छ ।

विभागका अनुसार कर्णाली प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशको पूर्वी भू–भाग र कोशी प्रदेशको दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग र कोशी प्रदेशको मध्य भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । बाँकी भू–भागमा भने सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

तापक्रममा वृद्धि र गर्मी बढ्ने

वर्षा कम हुने मात्र नभई यस वर्ष देशभर अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी रहने देखिएको विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका कतिपय भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ । यसले गर्दा यो वर्षको मनसुन विगतका वर्षहरूभन्दा तातो हुन सक्ने संकेत गरेको छ ।

विभागका अनुसार यो आकलन विश्व मौसम संगठनको विश्वभरका जलवायु केन्द्रहरूको मोडल, दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको निष्कर्ष र प्रशान्त महासागरमा विकसित हुने ‘एल निनो’ तथा हिन्द महासागरमा देखिने ‘इन्डियन ओसन डिपोल’ को अवस्थालाई विश्लेषण गरेर निकालिएको हो ।

हाल प्रशान्त महासागरमा ‘एल निनो’ अवस्थातर्फ उन्मुख रहेको र यसले नेपालमा कम वर्षा गराउन भूमिका खेल्ने विभागले जारी गरेको जलवायु आँकलन बुलेटीनमा उल्लेख छ ।

गत वर्ष २०८२ को मनसुनमा धेरैजसो स्थानमा सरदरभन्दा कम वर्षा मापन गरिएको थियो । विभागले गरेको समीक्षामा गत वर्षको प्रक्षेपण धेरै हदसम्म मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेको छ । विभागले मौसममा हुने परिवर्तनका आधारमा दैनिक र साप्ताहिक बुलेटिनहरू पनि जारी गर्ने हुँदा सर्वसाधारण तथा सरोकारवाला निकायलाई थप सतर्क रहन र अद्यावधिक सूचना लिन आग्रह गरेको छ ।