
काठमाडौं । ललितपुरको हात्तीवनमा रहेको लिटल एन्जल्स स्कुलले ठूलो परिमाणमा सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै सरकारले त्यहाँ डोजर चलाउने तयारी गरेको छ । नेपाली कांग्रेस नेता उमेश श्रेष्ठको यो स्कुलले १० रोपनी भन्दा बढी जग्गा अतिक्रमण गरेको सरकारी अधिकारीहरूको दाबी छ।
क्लिकमान्डुलाई प्राप्त एक विवरण अनुसार विद्यालयसँग १०० रोपनी जग्गाको लालपुर्जा छ तर हाल स्कुलले ११० रोपनी जग्गा भोगचलन गरिरहेको पाइएको छ । सो १० रोपनीमा बनेका संरचना हटाउने तयारी सरकारले गरेको हो ।
वि.सं. २०२१ सालको नापी नक्सा बमोजिम विद्यालय हाताभित्र कूल ११० रोपनी ५ आना १ पैसा २.४० दाम (५६ हजार १३३.११ वर्ग मिटर) क्षेत्रफल रहेको छ । तर, विद्यालयसँग रहेको जग्गाधनी प्रमाणपूर्जा (पुर्जा) मा भने जम्मा १०० रोपनी १४ आना ० पैसा २.५१ दाम (५१ हजार ३२३.८४ वर्ग मिटर) मात्र उल्लेख छ । अर्थात् विद्यालयले आफ्नो वैधानिक स्वामित्वभन्दा झण्डै १० रोपनी बढी जग्गा चर्चेको देखाउँछ ।
विद्यालय हाताभित्र पर्ने साविकका विभिन्न कित्ता नम्बरहरूमा गरी १० रोपनी ३ आना २ पैसा (५ हजार १९८.६० वर्ग मिटर) सरकारी बगरको जग्गा रहेको छ । त्यसैगरी, विद्यालयभित्र पर्ने कुलोको क्षेत्रफल मात्रै १ रोपनी २ आना ३ पैसा २ दाम (६००.५५ वर्ग मिटर) रहेको देखिएको छ । यी दुवै सार्वजनिक र सरकारी सम्पत्ति हुन् ।
लिटल एन्जल्स स्कुलको पूर्वपट्टि कर्मानाशा खोला रहेको छ । खोला उत्तरपट्टि बग्दै जाँदा विद्यालयको कम्पाउन्डको बीचबाट भएर जान्छ । तर, विद्यमान कानुनी मापदण्ड अनुसार खोलाको चौडाईको १० मिटर छोड्नुपर्ने व्यवस्था छ । सो मापदण्ड पालना गर्नुपर्दा ४ रोपनी १४ आना २ पैसा २.९५ दाम (२ हजार ५०१.८७ वर्ग मिटर) सरकारी बगर जग्गा अझै पनि विद्यालयकै नियन्त्रणमा रहेको देखिन्छ ।
नापी नक्सा र जग्गाधनी पुर्जा बीचको अन्तर तथा सार्वजनिक कुलो एवं नदी किनारको सरकारी बगरलाई विद्यालयको कम्पाउण्डभित्र रहनुले जग्गा अतिक्रमण भएको सरकारी अधिकारीहरूको निष्कर्ष छ ।
लिटल एन्जल्स स्कूलको जग्गा विवरण
१. २०२१ सालको नापी नक्सा अनुसार ५ह, ५घ१ र ५च१ को कूलो, सार्वजनिक, पर्ति र व्यक्तिगत जग्गा एलए स्कूल भित्रको क्षेत्रफल : ११०-५-१-२.४० (५६,१३३.११ व.मि.)
२. पुर्जा अनुसारको क्षेत्रफल : १००-१४-०-२.५१ (५१,३२३.८४ व.मि.)
३. नापी नक्सा अनुसार र पुर्जा अनुसार फरक क्षेत्रफल : १-२-०-१ जग्गाधनीको पुर्जा भन्दा नक्सामा बढी
४. ५च१ को कि.नं. २ र ४ को नापी नक्सा अनुसारको क्षेत्रफल : ४६.११ व.मि.
५. ५ह को कि.नं. २४३, २४१ र ५च१ को ९ नं. कित्ता नेपाल सरकारको बगरको क्षेत्रफल : १०-३-२-० (५,१९८.६० व.मि.)
६. ५च१ को एलए स्कूलको भित्रको कूलोको क्षेत्रफल : १-२-३-२ (६००.५५ व.मि.)
७. मापदण्ड अनुसार खोलाको चौडाईको १० मि. घटाउँदा नेपाल सरकारको बगर जग्गा बाँकी : ४-१४-२-२.९५ (२,५०१.८७ व.मि.)
पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले सन् १९८१ मा स्थापना गरेको लिटल एन्जल्स स्कुल देशको ठूलो र राम्रो विद्यालयमा गनिन्छ । यो स्कुल ललितपुरको हात्तीवनमा १ सय रोपनी जग्गामा फैलिएको छ । यो विद्यालय केवल एउटा भवन मात्र नभई एक वृहत् ‘शैक्षिक सहर’ जस्तो देखिन्छ। यहाँ फुटबल मैदान, बास्केटबल कोर्ट, टेनिस कोर्ट, र अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल जस्ता सुविधा छन् । स्कुलमा आफ्नै हस्पिटल , होस्टल र १०० भन्दा धेरै स्कुल बसको सेवा छ ।
ललितपुरको जावलाखेलबाट सानो आकारबाट सुरु भएको यो स्कुललाई पछि श्रेष्ठले हात्तीवनमा विशाल संरचनामा विस्तार गरेका हुन् ।
यो स्कुलमा विद्यालय तहअन्तर्गत नर्सरीदेखि कक्षा १० सम्मको पढाइ हुन्छ भने प्लस टुतर्फ विज्ञान, व्यवस्थापन र मानविकी संकायमा उच्च माध्यमिक शिक्षा प्रदान गरिन्छ । साथै क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा ए-लेभलको पढाइ पनि यहाँ हुन्छ । लिटल एन्जल्स कलेज मार्फत काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीबीए, बीबीआईएस जस्ता कोर्षहरू पनि सञ्चालनमा छन् ।
लिटल एन्जल्स आफ्नो कडा अनुशासन र उत्कृष्ट नतिजाका लागि चिनिन्छ । एसएलसी र एसईईमा धेरै पटक यो स्कुलमा विद्यार्थीहरूले उत्कृष्ट स्थान हासिल गरेका छन् । साथै खेलकुदमा पनि नेपालकै अग्रणी स्कुल मानिन्छ ।
मध्यम र उच्च वर्गका बालबच्चाका लागि लक्षित यस स्कुलको शुल्क अन्य सामान्य निजी विद्यालयको तुलनामा केही महँगो मानिन्छ ।









प्रतिक्रिया