
काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने घोषणा गरेको छ । भक्तपुरको दुवाकोटस्थित केएमसी युनिट–२ ले मानवीय संवेदनालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।
काठमाडौं उपत्यकाका नदी किनार तथा देशका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउने क्रममा त्यहाँ बसोबास गर्ने नागरिकहरूमा विभिन्न स्वास्थ्य समस्याहरू देखिन थालेको अस्पतालले जनाएको छ । विशेषगरी वर्षायाम सुरु भएसँगै थातथलो गुमाएका नागरिकहरूको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएकाले उनीहरूलाई राहत पुऱ्याउन निःशुल्क उपचारको व्यवस्था गरिएको केएमसीले उल्लेख गरेको छ ।
अस्पतालका अनुसार उपत्यकासहित देशभरका सुकुम्बासी बस्तीबाट प्रभावित भएका बिरामीहरूले दुवाकोटस्थित अस्पतालमा पुगेर सेवा लिन सक्नेछन् । अस्पतालले औषधि तथा औषधिजन्य सामग्रीबाहेक अस्पतालमा उपलब्ध हुने अन्य सम्पूर्ण उपचार सेवाहरू पूर्ण रूपमा निःशुल्क हुने स्पष्ट पारेको छ ।
केएमसीले बिरामीहरूलाई सहज रूपमा अस्पतालसम्म पुऱ्याउन र यो अभियानमा सहयोग गर्न नागरिक समाज, सामाजिक अभियन्ता तथा विभिन्न संघ-संस्थाहरूलाई समेत अपिल गरेको छ । कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत संकटमा परेका नागरिकहरूलाई स्वास्थ्य सेवा सुनिश्चित गर्न यो कदम चालिएको जनाएको छ ।









प्रतिक्रिया