प्रकृति र मानवजन्य दोहनको चपेटामा बिपी राजमार्ग

84
Shares

काठमाडौं । कुनै समय नेपालकै उत्कृष्ट र दिगो पूर्वाधारको नमुना मानिएको बिपी राजमार्ग अहिले सामान्य वर्षामा पनि हिड्नै नसक्ने गरी जोखिमयुक्त सडकको रुपमा परिणत भएको छ ।

२०८१ असोज १२ गते रोसी खोलामा आएको भीषण बाढी र पहिरोले सडकका महत्त्वपूर्ण खण्डहरू सखाप पारेपछि यो राजमार्गको भविष्यमाथि गम्भीर प्रश्न उठेको छ ।

प्रकृतिले निम्त्याएको विपत्ति त छँदैछ, त्यसमाथि थपिएको मानवजन्य हस्तक्षेप र कमजोर नियमनले मुलुककै लाइफलाइन मानिने यो सडकलाई झन् जर्जर बनाउँदै लगेको छ ।

विज्ञहरूका अनुसार बिपी राजमार्गको हालको दुरावस्थाको प्रमुख कारण रोसी खोला क्षेत्रमा सञ्चालित अव्यवस्थित ढुङ्गाखानी र क्रसर उद्योग हुन् ।

मापदण्डविपरीत सञ्चालित यी उद्योगले खोलाको सतह अस्वाभाविक रूपमा उकासेका छन् ।

खानीबाट निस्कने गेग्रान र माटो सीधै खोलामा विसर्जन गर्दा खोलाको प्राकृतिक बहाव थुनिएको छ । जसका कारण सामान्य वर्षा हुँदा पनि खोलाको धार सडकतर्फ सोझिने गरेको छ ।

भू-गर्भविद् शिवप्रसाद बाँस्कोटाले भने, ‘गेग्रानयुक्त बाढीको भार सामान्य पानीको तुलनामा ५ देखि १५ गुणासम्म बढी विनाशकारी हुन्छ । अहिले बिपी राजमार्गमा यही ‘डेब्रिस फ्लो’ (गेग्रानयुक्त बहाव) ले क्षति पुर्‍याइरहेको छ ।’

बाँस्कोटाले खानी र क्रसरबाट निस्कने ढुङ्गा, बालुवा र माटो जथाभावी खोलामा विसर्जन हुँदा खोलाको सतह निरन्तर उकासिँदै गएको बताए।

उनका अनुसार, यस्ता गेग्रानले पानीको भार उल्लेख्य रूपमा बढाउँछ, जसका कारण सामान्य बाढी पनि अत्यधिक विनाशकारी बन्न सक्छ ।

अनुसन्धानअनुसार, गेग्रानयुक्त बाढीको भार सामान्य पानीभन्दा पाँचदेखि पन्ध्र गुणासम्म बढी हुन सक्छ, जसले सडक, पुल र अन्य संरचनामा गम्भीर क्षति पुर्याउँछ ।

अहिले जापान सरकारको करिब २.६१ अर्ब रुपैयाँ अनुदान र नेपाल सरकारको करिब ८ अर्ब रुपैयाँ गरी झन्डै साढे १० अर्बको लागतमा पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ । तर, खोलाको सतह व्यवस्थापन नगरी गरिने सडक मर्मत फेरि पनि जोखिममै रहने निश्चित छ ।

भू-प्राविधिक विज्ञ डा मन्दीप सुवेदीका अनुसार इन्जिनियरिङ अध्ययन र वैज्ञानिक व्यवस्थापनबिनाको उत्खननले भू-सन्तुलन नै बिगारिदिएको छ ।

‘खोलादेखिको दूरी र वातावरणीय मापदण्ड लागू नगर्ने हो भने जतिसुकै बलियो सडक बनाए पनि त्यसले अर्को वर्षा थेग्न सक्दैन,’ डा सुवेदी भने ।

सडक माथिबाट बग्ने गेग्रानयुक्त भेल प्रत्यक्ष रूपमा सडक संरचनामाथि नै पर्छ। कतिपय स्थानमा निर्माण गरिएका अस्थायी डाइभर्सनहरू पनि प्रभावकारी रूपमा काम गर्न सकेका छैनन्।

राजमार्ग पटक-पटक अवरुद्ध हुँदा काठमाडौं र पूर्वी नेपालबीचको आवागमन मात्र रोकिएको छैन, यसले मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको छ । सडक डिभिजन भक्तपुरले अस्थायी डाइभर्सन बनाएर यातायात सुचारु गर्ने प्रयास गरे पनि ती संरचनाहरू बालुवाको जगमा उभिएका छन् ।

विज्ञहरूले अब ‘टालटुले’ मर्मतले मात्र नपुग्ने औँल्याएका छन् । दीर्घकालीन समाधानका सुझावसमेत दिएका छन् ।

जसअनुनसार रोसी खोलाको सतहलाई पुरानै अवस्थामा फर्काउन गेग्रान निकाल्ने र बहाव क्षेत्र फराकिलो बनाउने गरी नदी बहाव व्यवस्थापन गर्ने, सडक आसपासका क्रसर र खानी उद्योगलाई वैज्ञानिक मापदण्डभित्र ल्याउने वा स्थानान्तरण गर्ने गरी कडाईका साथ नियमन गर्ने, रिटेनिङ पर्खालसँगै बायो-इन्जिनियरिङ प्रविधिको प्रयोग गरी माटो स्थिर बनाउने र सडकको डिजाइन क्षमताभन्दा बढी भार बोक्ने सवारीसाधनलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउन बिज्ञहरुले सुझाव दिएका छन् ।