हंगेरीमा रहेको बीवाईडी कारखानामा श्रम शोषणको आरोप, युरोपेली संसदमा बहस

147
Shares

एजेन्सी । विद्युतीय कार क्षेत्रको दिग्गज कम्पनी बीवाईडी हंगेरीमा श्रम शोषणको गम्भीर आरोप लागेपछि युरोपेली संसदमा यसबारे छलफल हुने पहिलो चिनियाँ व्यवसाय बनेको छ । एक निगरानी संस्थाले त्यहाँको कार्यस्थलको अवस्थाबारे गरेको अनुसन्धानपछि यो विषय बाहिर आएको हो ।

न्युयोर्कमा रहेको निगरानी संस्था चाइना लेबर वाचले अप्रिल १४ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार, हंगेरीमा बीवाईडीको कारखाना निर्माण गर्न खटाइएका ठेकेदारहरूले हजारौं कर्मचारीहरूलाई हप्ताको सातै दिन र दैनिक १२ घण्टाभन्दा बढी काममा लगाएको आरोप छ । संस्थाले अक्टोबर २०२५ देखि उक्त कारखानाको तीनपटक भ्रमण गरी ५० जना कामदारहरूसँग अन्तर्वार्ता लिएको जनाएको छ ।

सन् २००० मा स्थापना भएको अमेरिकी गैर–नाफामूलक संस्था चाइना लेबर वाच’ ले आफ्ना निष्कर्षहरू युरोपेली संघका प्रतिनिधिहरूसँग साझा गरेको छ । यसै महिनाको सुरुमा युरोपेली संसद्का तीन सदस्यहरूले हंगेरीमा भएको भनिएको श्रम शोषणको बारेमा युरोपेली आयोगसँग औपचारिक रूपमा प्रश्न सोधेका छन् ।

सीएनबीसीले पाएको जानकारी अनुसार, युरोपेली संघमा उत्पादन गरिरहेको चिनियाँ स्वामित्वको अटो व्यवसायमाथि श्रम शोषणको दाबी गरी युरोपेली आयोगको ध्यानाकर्षण गराइएको यो पहिलोपटक हो ।

गत फेब्रुअरीमा क्रेन सञ्चालनका क्रममा एक कामदारको मृत्यु भएको रिपोर्ट गरिएको थियो । चाइना लेबर वाचका संस्थापक छ्याङ लीले कामदारहरूसँगको कुराकानीलाई उद्धृत गर्दै त्यहाँ थप मृत्युहरू पनि भएको बताएका छन् । उनले कामदारहरूलाई पर्याप्त चिकित्सा सुविधा उपलब्ध नभएको र धेरैजसो कामदारहरूसँग कार्य भिसा र सोही अनुसारको स्वास्थ्य बिमा समेत नभएको जानकारी दिए ।

हंगेरीको राष्ट्रिय एम्बुलेन्स सेवाले फेब्रुअरी १ देखि उक्त कारखाना क्षेत्रमा १२ पटक आपतकालीन चिकित्सा सेवाका लागि कल आएको र एकजनाको मृत्यु भएको पुष्टि गरेको छ ।

बीवाइडी सन् २०२५ मा टेस्लालाई उछिनेर विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता बनेको छ । चीनको घरेलु बजारमा बिक्री घटेपछि बीवाईडीले यस वर्ष चीनबाहिर १० लाखभन्दा बढी कार बिक्री गर्ने लक्ष्यका साथ वैदेशिक बजार विस्तार गरिरहेको छ ।

रिपोर्टमा नाम उल्लेख गरिएको एक ठेकेदार एआईएम कन्स्ट्रक्सन हंगेरी, जिन्ज्याङ कन्स्ट्रक्सन ग्रुपको सहायक कम्पनी हो । यो त्यही कम्पनी हो जुन सन् २०२४ मा ब्राजिलको बीवाईडी कारखानामा भएको श्रम काण्डमा संलग्न थियो ।

ब्राजिलको श्रम अधिकारीहरूले उक्त कारखानाको अवस्था दासताको स्वरूप जस्तै रहेको बताएका थिए ।

बीवाईडीले डिसेम्बर २०२४ मा ब्राजिलको उक्त सहायक कम्पनीसँग काम गर्न छोडेको दाबी गरेको थियो । तर, हंगेरीमा कारखाना बनाउन उसले सोही जिन्जियाङ समूहको अर्को सहायक कम्पनीलाई नियुक्त गरेको रिपोर्टले देखाउँछ ।

हंगेरीमा कारखाना निर्माण अघि बढ्दै जाँदा मुख्यतया चीनबाट आएका कामदारहरूलाई मौसम खराब भएर काम रोकिएको बेला मात्र आराम गर्न दिइन्थ्यो । ‘प्रबन्धकहरू सन् २०२६ जनवरीदेखि नै कार उत्पादन सुरु गर्न चाहन्थे । त्यसैले उनीहरूले आयोजनाको कामलाई निकै तीव्र पारेका थिए र कामदारहरूलाई बाहिर जान दिइँदैनथ्यो,’ लीले बताए ।

रिपोर्टका अनुसार, ठेकेदारहरूले कामदारहरूलाई कार्यस्थलमै राख्न विभिन्न वित्तीय दबाब दिने गरेका थिए । कसैलाई ६ महिनाभन्दा बढी काम गरेमा घर जाने हवाई टिकट दिने आश्वासन दिइएको थियो भने कसैको तलब रोकेर राखिएको थियो ।

यति मात्र नभई कामदारहरूलाई श्रम निरीक्षकहरूसँग हप्ताको ५ दिन र दैनिक ८ घण्टा मात्र काम गर्ने गरेको झूटो विवरण दिन निर्देशन दिइएको थियो । चाइना लेबर वाचले उनीहरूको वास्तविक कार्य समय हंगेरीको श्रम नियमावली (दैनिक ८ घण्टा र हप्ताको ४८ घण्टाभन्दा बढी हुन नहुने) को सीधा उल्लंघन भएको र यो अवस्था अन्तर्राष्ट्रिय श्रम संगठनको जबर्जस्ती श्रमको परिभाषासँग मिल्दोजुल्दो रहेको आरोप लगाएको छ ।

ब्राजिलमा पनि बीवाईडीको श्रम विवादले राजनीतिक तरंग ल्याएको थियो। बीवाइडीलाई कालोसूचीमा राख्न खोज्ने ब्राजिलको राष्ट्रिय श्रम मापदण्ड प्रवर्तन एजेन्सीका प्रमुख लुइज फिलिपे ब्रान्डाओ डे मेल्लोलाई उनको पदबाट हटाइएको थियो ।

हंगेरीको सेगेड शहरमा रहेको यो कारखाना बीवाईडीका पाँचवटा स्थलहरूमध्ये एक हो जहाँ कम्पनीले करिब एक वर्षअघि आफ्नो युरोपेली मुख्यालय स्थापना गरेको थियो । पूर्ण क्षमतामा चल्दा यस कारखानाले प्रतिवर्ष ३ लाख कार उत्पादन गर्ने लक्ष्य राखेको छ ।