
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको दीपक भट्ट र सुलभ अग्रवालको छुट्टाछुट्टै अनुसन्धान प्रतिवेदनले नेपाली पुँजीबजार र पब्लिक कम्पनीमा रहेर गरिने गैर–कानूनी धन्दालाई उजागर गरेको छ ।
यी दुई व्यक्तिको कारोबारका विषयमा केन्द्रीत रहेर धितोपत्र बोर्डले गरेको अनुसन्धानले सम्पत्ति कमाउन गरिने हदैसम्मको हर्कत र त्यसमा मतियार हुने व्यक्तिहरुलाई बाहिर ल्याएको छ ।
धितोपत्र बोर्डको ‘दिपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ र ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र उनको छोरा कृषिव अग्रवालले गरेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३’ले व्यवसायका नाममा गैरकानूनी काम धेरै हुने गरेको तथ्य फेला पारेको छ ।
धितोपत्र बोर्डले दीपक भट्टको अनुसन्धान गर्दा भट्ट र सुलभ अग्रवालकी श्रीमती सुभी अग्रवालले पब्लिक लिमिटेड कम्पनीको फण्ड (कोष) बाट सेयर खरिद गरी सेटलमेन्ट गरेर दुरुपयोग गरेको फेला पारेको छ ।
सुलभ अग्रवाल, दीपक भट्ट लगायत संस्थापक सेयरधनी रहेको पब्लिक लिमिटेड कम्पनीको साथै हिमालयन लाइफ र हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सहायक कम्पनीहरूको समेत फण्ड दुरुपयोग गरी दीपक भट्ट, सुभी अग्रवाल र ऋषिराज मोर लगायतका व्यक्तिले खरिद गरेको सेयरको राफसाफ भएको धितोपत्र बोर्डको अध्ययनले देखाएको हो ।
त्यति मात्रै नभएर भट्ट र सुभी अग्रवालले किनेको सेयर तथा ऋणपत्रहरूको मूल्य बढाएर हिमालयन रि–इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र दीपक भट्ट तथा सुलभ अग्रवालको लगानी भएको लघुबिमा कम्पनीमार्फत खरिद गर्ने र मूल्य बढाउन प्रयोग भएको धितोपत्र बोर्डको अध्ययनले देखाएको छ ।
व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, भृकुटी स्टक ब्रोकिङ्ग, हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र विभिन्न आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरूको अनलाइन कारोबार प्रणाली (टिएमएस) एउटै व्यक्तिले चलाउने गरेको पाइएको छ ।
यसअनुसार भट्ट, अग्रवाल, भृकुटी स्टकका साथमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र विभिन्न आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरूको अनलाइन कारोबार प्रणाली एउटै व्यक्तिले चलाउने गरेको पाइएको हो ।
बजारमा विभिन्न कम्पनीहरूबीच प्रतिस्पर्धा देखाएर पर्दा पछाडिबाट एकै व्यक्तिले मूल्य तोक्ने, माग सिर्जना गर्ने र कारोबार गर्ने काम गरी लगानीकर्ता फसाउने काम भएको रिपोर्टका क्रममा भेटिएको छ ।
दीपक भट्ट र भृकुटी स्टक मुख्य योजनाकार देखिएको यस योजनामा सुलभ अग्रवाल, शुभी अग्रवाल, राज बहादुर शाह, ऋषिराज मोर, रोहित गुप्ता र शेखर गोल्छा जस्ता ठूला नामहरू मतियारका रूपमा उभिएको बोर्डले निष्कर्ष निकालेको छ । सेबोनको रिपोर्टअनुसार भट्टले ब्रोकरसँग मिलेर नेपाल पुनर्बिमाको सेयर मूल्यमा योजनावद्ध चलखेल गरी १४६१ रुपैयाँबाट १६८६ रुपैयाँसम्म पु¥याएर लगानीकर्तालाई झुक्याउने काम गर्दथे ।
यस कार्यमा हिमालयन रिइन्स्योरेन्स, हिमालय सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फण्ड र विभिन्न माइक्रो इन्स्योरेन्स कम्पनीहरूको रकम र खाता प्रयोग गरी बजारमा कृत्रिम माग सिर्जना गरिएको छ ।
भट्टले आफू नै सञ्चालक रहेका कम्पनीहरू— हिमालयन रिइन्स्योरेन्स, इन्फिनिटी होल्डिङ्ग्स, नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफबीच ऋणपत्रको झुठो कारोबार गरेर एक खल्तीबाट अर्को खल्तीमा पैसा सार्दै व्यक्तिगत लाभ लिएको प्रतिवेदनमा उल्लेख छ ।
जाँचबुझका क्रममा शुभी अग्रवाल, राज बहादुर शाह र ऋषिराज मोरले समेत दीपक भट्टकै शैलीमा बिना कोल्याट्रल अर्बौँको कारोबार गरेको र भुक्तानी नै नगरी सेयर आफ्नो खातामा प्राप्त गरी मूल्य वृद्धिमा सहयोग पु¥याएको देखिएको छ ।
दिपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी सुपरीवेक्षण प्रतिवेदनः
अर्कोतर्फ सुलभमाथि गरिएको अनुसन्धानका क्रममा पनि यस्तै किसिमको प्रवृत्ति देखिएको छ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष सुलभ अग्रवालले ‘लकइन’ अवधिमा रहेको आफ्नो नामको ८ लाख कित्ताभन्दा बढी सेयर गैरकानूनी रूपमा बेच्न आफ्नै परिवारभित्र अंशबण्डाको नाटक गरेको खुलासा भएको छ ।
धितोपत्र बोर्डको अनुसन्धानअनुसार अग्रवालले आफू अध्यक्ष बहाल रहेको अवस्थामा सेयर बिक्री गर्न नमिल्ने कानूनी प्रावधानलाई छल्न पारिवारिक अंशबण्डाको नाटक गरी ८ लाख कित्ताभन्दा बढी सेयर बिक्री गरेको देखिएको छ ।
धितोपत्र बोर्डको प्रतिवेदनले यस कार्यलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ बमोजिमको ‘जालसाजीयुक्त कारोबार’ ठहर गर्दै थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको प्रधान कार्यालयमा पठाएको छ ।
घटनाको विवरणअनुसार, सुलभ अग्रवाल २०८० माघ २८ देखि २०८२ चैत २० सम्म हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष पदमा बहाल थिए । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ (१क) बमोजिम कुनै पनि सूचीकृत कम्पनीको अध्यक्ष वा सञ्चालक पदमा बहाल रहँदा सोही कम्पनीको सेयर आफ्नो वा परिवारका सदस्यको नाममा खरिद–बिक्री गर्न वा हस्तान्तरण गर्न पाइँदैन ।
यही कानूनी अड्चनका कारण आफ्नो नाममा रहेको सेयर नगदमा परिणत गर्न नसकेपछि अग्रवालले आफ्नै श्रीमती र छोराहरूसँग काठमाडौं जिल्ला अदालतमा नक्कली जस्तो देखिने अंशचलनको मुद्दा खडा गरेको बोर्डको अनुसन्धानबाट खुलेको छ ।
अग्रवालकी श्रीमती शुभी अग्रवालले आफ्नो र छोराहरूको हेरचाह नगरेको भन्दै अंशचलनको मुद्दा दायर गरेको र सो मुद्दामा मिलापत्र गर्दा शुलभ अग्रवालको नाममा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको ८ लाख ३ हजार ३१ कित्ता सेयर र नगद एक करोड रुपैयाँ छोरा कृषिव अग्रवाललाई दिने सहमति भएको देखिन्छ ।
अन्य सम्पत्तिमा दाबी नगर्ने गरी भएको यो मिलापत्र केवल सेयर हस्तान्तरण गर्ने उद्देश्यले मात्र प्रेरित रहेको बोर्डको निष्कर्ष छ । भर्खरै बालिग भएका छोरा कृषिवलाई सेयर हस्तान्तरण गरेलगत्तै ती सेयरहरू बजारमा बिक्री गरिएको थियो, जुन कार्य अध्यक्षको पदमा रहँदा सिधै गर्न सम्भव थिएन ।
बोर्डको प्राविधिक विश्लेषणले यो कारोबारमा थप तथ्यहरू उजागर गरेको छ । धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङबाट प्राप्त विवरणअनुसार, छोरा कृषिव अग्रवालको ग्राहक पहिचान विवरणमा बाबु सुलभ अग्रवालकै इमेल ठेगाना र मोबाइल नम्बर प्रयोग गरिएको पाइएको छ ।
अझ आश्चर्यजनक कुरा के छ भने, छोरा कृषिवले सेयर बिक्री गर्दा प्रयोग गरेको इन्टरनेट प्रोटोकल ठेगाना र बाबु सुलभ अग्रवालले अन्य धितोपत्र कारोबार गर्दा प्रयोग गरेको आईईपी ठेगाना एउटै छ ।
सुलभ अग्रवाल र उनको छोरा कृषिव अग्रवालले गरेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी जाँचबुझ प्रतिवेदनः






प्रतिक्रिया