
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष सुलभ अग्रवालले ‘लकइन’ अवधिमा रहेको आफ्नो नामको ८ लाख कित्ताभन्दा बढी सेयर गैरकानूनी रूपमा बेच्न आफ्नै परिवारभित्र अंशबण्डाको नाटक गरेको खुलासा भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र उनको छोरा कृषिव अग्रवालले गरेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ले तत्कालीन अध्यक्ष सुलभ अग्रवालले कानूनको छिद्र प्रयोग गर्दै ठूलो परिमाणको ‘लकइन’मा रहेकाे संस्थापक सेयर गैरकानूनी रूपमा बिक्री गरेको निष्कर्ष निकालेको हो ।
धितोपत्र बोर्डले जाँचबुझअनुसार अग्रवालले आफू अध्यक्ष बहाल रहेको अवस्थामा सेयर बिक्री गर्न नमिल्ने कानूनी प्रावधानलाई छल्न पारिवारिक अंशबण्डाको नाटक गरी ८ लाख कित्ताभन्दा बढी सेयर बिक्री गरेको देखिएको छ । धितोपत्र बोर्डको प्रतिवेदनले यस कार्यलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ बमोजिमको ’जालसाजीयुक्त कारोबार’ ठहर गर्दै थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको प्रधान कार्यालयमा पठाएको छ ।
घटनाको विवरणअनुसार, सुलभ अग्रवाल २०८० माघ २८ देखि २०८२ चैत २० सम्म हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष पदमा बहाल थिए । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ (१क) बमोजिम कुनै पनि सूचीकृत कम्पनीको अध्यक्ष वा सञ्चालक पदमा बहाल रहँदा सोही कम्पनीको सेयर आफ्नो वा परिवारका सदस्यको नाममा खरिद–बिक्री गर्न वा हस्तान्तरण गर्न पाइँदैन । यही कानूनी अड्चनका कारण आफ्नो नाममा रहेको सेयर नगदमा परिणत गर्न नसकेपछि अग्रवालले आफ्नै श्रीमती र छोराहरूसँग काठमाडौं जिल्ला अदालतमा नक्कली जस्तो देखिने अंशचलनको मुद्दा खडा गरेको बोर्डको अनुसन्धानबाट खुलेको छ ।
अग्रवालकी श्रीमती शुभी अग्रवालले आफ्नो र छोराहरूको हेरचाह नगरेको भन्दै अंशचलनको मुद्दा दायर गरेको र सो मुद्दामा मिलापत्र गर्दा शुलभ अग्रवालको नाममा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको ८ लाख ३ हजार ३१ कित्ता सेयर र नगद एक करोड रुपैयाँ छोरा कृषिव अग्रवाललाई दिने सहमति भएको देखिन्छ । अन्य सम्पत्तिमा दाबी नगर्ने गरी भएको यो मिलापत्र केवल सेयर हस्तान्तरण गर्ने उद्देश्यले मात्र प्रेरित रहेको बोर्डको निष्कर्ष छ । भर्खरै बालिग भएका छोरा कृषिवलाई सेयर हस्तान्तरण गरेलगत्तै ती सेयरहरू बजारमा बिक्री गरिएको थियो, जुन कार्य अध्यक्षको पदमा रहँदा सिधै गर्न सम्भव थिएन ।
बोर्डको प्राविधिक विश्लेषणले यो कारोबारमा थप तथ्यहरू उजागर गरेको छ । धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङबाट प्राप्त विवरणअनुसार, छोरा कृषिव अग्रवालको ग्राहक पहिचान विवरणमा बाबु सुलभ अग्रवालकै इमेल ठेगाना र मोबाइल नम्बर प्रयोग गरिएको पाइएको छ । अझ आश्चर्यजनक कुरा के छ भने, छोरा कृषिवले सेयर बिक्री गर्दा प्रयोग गरेको इन्टरनेट प्रोटोकल ठेगाना र बाबु सुलभ अग्रवालले अन्य धितोपत्र कारोबार गर्दा प्रयोग गरेको आईईपी ठेगाना एउटै छ । सन् २०२५ को विभिन्न मितिहरूमा भएका यी कारोबारहरू एउटै उपकरण वा एउटै स्थानबाट भएको प्राविधिक पुष्टी हुनुले सेयर हस्तान्तरण भए पनि त्यसको वास्तविक सञ्चालक र हिताधिकारी शुलभ अग्रवाल नै रहेको प्रमाणित गर्दछ ।
यसअघि हिमालयन लाइफ इन्स्योरेन्समा ’भित्री कारोबार’ भएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिए तापनि, मूल्य संवेदनशील सूचनाको दुरुपयोग नै भएको पर्याप्त आधार नभेटिएपछि बोर्डले यसलाई ’जालसाजीयुक्त कारोबार’ को रूपमा व्याख्या गरेको छ । बोर्डको प्रतिवेदनमा स्पष्ट भनिएको छ कि यो अंशबण्डाको नाटक केवल नियमावलीको नियम ३८ लाई छल्न र गैरकानूनी रूपमा सेयर बिक्री गरी लाभ लिन रचिएको एक प्रपञ्च मात्र हो । कानूनको रक्षक हुनुपर्ने उच्च ओहोदाको व्यक्तिले नै यसरी नियमलाई चुनौती दिँदै जालसाजीपूर्ण बाटो अपनाउनुले धितोपत्र बजारको स्वच्छतामाथि प्रश्न उठाएको छ ।
समग्रमा सुलभ अग्रवालले कानूनी व्यवस्थालाई झुक्याएर आफ्नो नियन्त्रणमा रहेको सेयर छोराको नाममा नामसारी गरी बजारमा बिक्री गरेको कार्य धितोपत्र सम्बन्धी ऐनको गम्भीर उल्लंघन भएको ठहर भएको छ । प्रारम्भिक जाँचबुझ प्रतिवेदनले यो विषयलाई देवानी मुद्दा मात्र नभई फौजदारी कसूरको रूपमा समेत व्याख्या गर्दै धितोपत्र सम्बन्धी ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिनुपर्ने राय पेश गरेको छ । यस प्रकरणले पूँजी बजारमा हुने यस्ता उच्चस्तरीय जालसाजी नियन्त्रणका लागि नियामक निकाय र सुरक्षा निकायको समन्वय कति आवश्यक छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ ।

हिमालयन लाइफको भित्रि कारोबार खोज्दो के भेटियो?
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको भित्री कारोबार भएको हुन सक्ने सम्बन्धमा प्रारम्भिक जाँचबुझका क्रममा सम्बन्धित निकाय तथा कम्पनीबाट प्राप्त धितोपत्र बोर्डले तथ्यांक, विवरण तथा जानकारीको अध्ययन तथा विश्लेषण गरेको थियो । हिमालयन लाइफ इन्स्योरेन्सबाट प्राप्त विवरण अनुसार सुलभ अग्रवाल हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडमा मिति २०८० माघ २८ देखि मिति २०८२ चैत २० सम्म अध्यक्ष पदमा रहेका थिए ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) बमोजिम निज अध्यक्ष बहाल रहेको अवस्थामा सोही कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई सयर खरिद बिक्री गर्न गराउन, वा हस्तान्तरण गर्न वा लेनदेन गर्न नपाउने व्यवस्था रहेको थियो ।
तर सुलभ अग्रवालले घरायसी नामसारी गर्दाका बखत धितोपत्र दलाल व्यवसायी तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा पेश गरेको कागजात एवं विवरण तथा जानकारी अध्ययन तथा विश्लेषण गर्दा निज सुलभ अग्रवाललाई विपक्षी बनाई काठमाडौं जिल्ला अदालतमा निजका श्रीमतीले आफ्नो र आफ्नो संरक्षकत्वमा रहेका छोराहरू कृषिव अग्रवाल र अद्वित्य अग्रवाल समेतको हकमा आफू र बच्चाहरूलाई हेरचाह नगरेका लगायतका कारण देखाई अंशचलनको मुद्दा गरेको र सोही मुद्दाको मिलापत्र गर्दा विवाद उत्थान गर्ने श्रीमती शुभी अग्रवाल, छोरा अद्वित्य अग्रवाल र विपक्षी सुलभ अग्रवालबीच सम्पत्तिहरू सगोलमा रहने र छोरा कृषिव अग्रवाललाई मात्र अंशबापत सुलभ अग्रवालको नाममा रहेको एचएलआई को ८ लाख ३ हजार ३१ कित्ता सेयर र नगद एक करोड रुपैयाँ दिने र सोबाहेक अन्य सम्पत्तिमा दाबी गर्न नपाउने गरी अंश मिलापत्र गरेको देखिएको सेबोन रिपोर्टमा उल्लेख छ ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) बमोजिम निज सुलभ अग्रवाल अध्यक्ष बहाल रहेको अवस्थामा सोही कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा खरिद बिक्री गर्न गराउन, वा हस्तान्तरण गर्न वा लेनदेन गर्न नपाउने व्यवस्थाका बाबजुद निजले अंशबापत निजको छोरा कृषिव अग्रवाललाई हिमालयन लाइफ इन्स्यारेन्स लिमिटेडको आठ लाख तीन हजार एकतीस कित्ता हस्तान्तरण गरेको देखिएको रिपोर्टमा उल्लेख छ ।

यसरी अंशचलन मुद्दाको उत्थान र मुद्दाको अन्तिम किनारा गरेको मिलापत्रको कागजको विवरण हेर्दा श्रीमान श्रीमतीको व्यवहारिक कारणबाट सुरु भएको मुद्दामा विवाद उत्थानकर्तासँग मिल्ने र भर्खरै बालिग उमेरमा प्रवेश गरेको व्यक्तिलाई अंशबापत एचएलआईको उक्त सेयर हस्तान्तरण गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) को व्यवस्थालाई छली सेयर बिक्री गर्ने मनसायले अंश बण्डा गरेको देखिन्छ ।
धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्राईभेट लिमिटेडबाट प्राप्त सुलभ अग्रवाल र कृषिव अग्रवालको विवरण अध्ययन विश्लेषण गर्दा कृषिव अग्रवालको ग्राहक परिचय विवरणमा सुलभ अग्रवालकै इमेल ठेगाना सुलभअग्रवाल एट द रेट जिमेल डट कम र मोबाइल नम्बर ९८०११२०३६९ उल्लेख गरेको देखिएको सेबोनेको प्रतिवेदनमा उल्लेख छ ।
साथै कृषिव अग्रवालले एचएलआईको ८ लाख ३ हजार ३१ कित्ता सेयर मध्ये मिति सन् २०२५ जुलार्य २८ देखि बिक्री गरेको उक्त सेयर बिक्री गर्न आदेश दिँदा प्रयोग गरेको आईपी ठेगाना (आईपी) एउटै रहेको देखिएबाट कृषिव अग्रवाल र सुलभ अग्रवालले गरेको कारोबार एउटै व्यक्तिले गरेको हुन सक्ने र यसबाट यी दुवैले गरेको धितोपत्र कारोबारको अन्तिम हिताधिकारी एकै व्यक्ति हुने सेबोनले निष्कर्ष निकालेको छ ।
उक्त जाँचबुझको क्रममा कम्पनी र नेप्सेबाट प्राप्त मूल्य संवेदनशील सूचना तथा कम्पनीले गरेका संस्थागत निर्णय, कम्पनीको मूल्य प्रवृत्ति र निजहरूले सेयर कारोबार गरेको अवधि तथा सो समयमा मूल्यको उतारचढाव अवस्थालाई विस्तृत अध्ययन तथा विश्लेषण गर्दा भित्री कारोबार कसूर कायम गर्नका लागि भित्री सूचनाको दुरुपयोग गरी कारोबार गरेको पुष्टी गर्ने पर्याप्त तथ्य तथा आधारहरू यकिन गर्न नसकिएको भने सेबोनले जनाएको छ ।
धितोपत्र बोर्डको प्रतिवेदनले सुलभ अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बहालवाला अध्यक्षको हैसियतले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको नियम ३८ को उपनियम (१क) को कानूनी व्यवस्थाको कारण पदमा रही बिक्री गर्न नमिल्ने सेयरलाई अंशबण्डाको प्रपञ्च गरी छोरा कृषिव अग्रवाललाई हकहस्तान्तरण गरी उक्त सेयर बिक्री गर्न लगाई प्राप्त रकम सुलभ अग्रवाल आफैँले लिन कानूनी व्यवस्थालाई झुक्याई सेयर बिक्री गरेको कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ बमोजिमको जालसाजीयुक्त कारोबार भएको स्पष्ट आधार देखिएकोले यस कसूरका सम्बन्धमा अनुसन्धान गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०३ को उपदफा (३) बमोजिम प्रहरी प्रधान कार्यालयमा पठाउन उपयुक्त हुने देखिएको उल्लेख गरेको छ ।










प्रतिक्रिया