बालेनको र्‍याप ब्याटलको भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी, भिडियो हटाउन र बालेनको सम्पत्ति बाँड्न माग

1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता भएको छ । शाहले विगतमा एउटा र्‍याप ब्याटलका क्रममा प्रयोग गरेका शब्दहरूले महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अपमान गरेको भन्दै विवेक मगर, रोजी पुन लगायत चार जनाले उजुरी दिएका हुन् ।

संग्स नेपाल नामक युट्युब च्यानलमा अपलोड गरिएको ‘बालेन भर्सेस लिटलग्रिजल – र बर्ज’ शीर्षकको भिडियोमा बालेन शाहले प्रयोग गरेका शब्दहरू विरुद्ध यो उजुरी परेको हो । उजुरीकर्ताहरूका अनुसार उक्त भिडियोमा शाहले ‘हिजडा’, ‘छक्का’ जस्ता अपमानजनक शब्दहरू प्रयोग गर्नुका साथै बलात्कार र यौन हिंसालाई सामान्यीकरण गर्ने खालका अभिव्यक्ति दिएका छन् ।

भिडियोको विभिन्न समयमा यौनिक अल्पसंख्यकलाई लक्षित गरी घृणास्पद अभिव्यक्ति र तुच्छ शब्द प्रयोग गरिएको उजुरीकर्ताको दाबी छ । भिडियोमा महिलाहरूलाई वस्तुकरण गर्ने र यौन हिंसालाई प्रश्रय दिने खालका शब्दहरू प्रयोग भएको बताइएको छ । उजुरीकर्ताले बालेनको उक्त अभिव्यक्तिले नेपालको संविधान २०७२ को धारा १६ (सम्मानपूर्वक बाँच्न पाउने हक) र धारा १८ (समानताको हक) को उल्लंघन गर्नुका साथै विद्युतीय कारोबार ऐन २०६३ विपरित रहेको दाबी गरेका छन् ।

निवेदकहरूले उक्त भिडियो तत्काल सामाजिक सञ्जालबाट हटाउनुपर्ने, प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र उचित क्षतिपूर्ति भराउनुपर्ने माग गरेका छन् । साथै, बालेनले प्रधानमन्त्री भएपछि हालै सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा उल्लेखित सामाजिक सञ्जालको कमाइबाट निश्चित हिस्सा यस समुदायको हितमा खर्च गराउन समेत माग गरिएको छ ।

Skip This