बालेन क्याबिनेटका मन्त्रीसँग ९.२ किलो सुन, मूल्य सवा २३ करोड

126
Shares

काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूसँग कुल ९.२ किलो सुन रहेको पाइएको छ । हिजो सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री बालेन शाहसहित १६ जना मन्त्रीहरूको स्वामित्वमा कुल ७८६ तोला सुन रहेको देखिएको हो जसलाई किलोमा हिसाब गर्दा ९.१६७७८४ किलोग्राम हुन आउँछ । यो सुनको सोमबारको बजार मूल्य अनुसार २३ करोड ३२ लाख रुपैयाँकाे हुन आउँछ ।

सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री बालेन शाह सुनको मौज्दातका आधारमा सबैभन्दा अगाडि देखिएका छन् । प्रधानमन्त्री शाहसँग कुल १९० तोला सुन रहेको छ । त्यसैगरी, उद्योगमन्त्री गौरी कुमारीसँग १८० तोला सुन रहेको विवरणमा उल्लेख छ । प्रधानमन्त्री र उद्योगमन्त्रीको मात्रै सुन जोड्दा ३७० तोला पुग्छ, जुन मन्त्रिपरिषद्को कुल सुनको ठूलो हिस्सा हो ।

मन्त्रिपरिषद्का अन्य सदस्यहरूमध्ये गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला र श्रममन्त्री रामजी यादवसँग ८० तोला सुन रहेको छ । अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भने ४५ तोला सुन रहेको विवरणले देखाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र स्वास्थ्यमन्त्री निशा मेहेता दुवैसँग समान ३०/३० तोला सुन रहेको छ । यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र शिक्षामन्त्री सस्मित पोखरेलसँग पनि समान २५/२५ तोला सुन रहेको पाइएको छ ।

विवरण अनुसार परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन छ भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग १८ तोला सुन रहेको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग जनही १५/१५ तोला सुन रहेको विवरण सार्वजनिक भएको छ । तुलनात्मक रूपमा कम सुन हुने मन्त्रीहरूमा पर्यटनमन्त्री खडकराज पौडेलसँग ११ तोला, सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग ६ तोला र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको छ ।