
काठमाडौं । केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता स्वर्णिम वाग्लेले सरकारले नयाँ सवारी खरिद गर्दा लाग्ने ३०० प्रतिशत कर हटाउने कुरा बोलेको भन्ने विषयले निकै चर्चा पायो । उनले अब बन्ने सरकारले नयाँ सवारी खरिद गर्दा लाग्ने ३०० प्रतिशत कर हटाउने बताएको दाबी गर्दै बनाइएका भिडियो सामाग्रीले सामाजिक सञ्जाल प्लेटफर्ममा राम्रै स्थान पायो ।
‘वाग्लेले हालको कर संरचनाअनुसार लगभग ३०० प्रतिशत बढी सवारी साधन कर हटाउने नीतिको मस्यौदा तयार पारेका छन् । यस प्रस्तावले सवारी साधनको मूल्य घटाउने र आम नागरिकको कर भार कम गर्ने उद्देश्य राखेको छ,’ भन्ने किसिमको अफवाहले सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलमा निकै चर्चा पायो ।
खासगरी, समग्र करको दर घटाउने र करको दायरा बढाउने विषयमा सामान्य धारणा मात्र व्यक्त गरेका वाग्लेको अभिव्यक्तिलाई तोडमोड गरेर सवारी कर ३०० प्रतिशत घटाउनेतर्फ मोडेर प्रचार गरियो । विभिन्न फ्याक्टचेकमार्फत् वाग्लेले बोलेको भनेर चर्चामा आएको उक्त विषय सत्य नभएको विषय आइसकेको छ ।
तर, त्यसको असर नेपाली अटो बजारमा नै देखिन पुगेको छ । वाग्लेले ३०० प्रतिशत कर घट्ने भनेकाले आगामी दिनमा ५० वा १०० प्रतिशत नै कर घटे पनि धेरै फाइदा हुने भन्दै ग्राहकले गरेको बुकिङसमेत रद्द गरेको अटो व्यवसायीहरु बताउँछन् ।
‘हाम्रोमा कुन स्रोतबाट र कस्तो सूचना आयो? भनेर ख्याल गरिँदैन । सत्य भन्दा झुटो खबर छिटो भाइरल हुन्छ,’ एक अटो ब्रान्डका सीईओले क्लिकमान्डुसँग भने, ‘पछिल्लो समय कर घट्ने हल्लाले पनि हाम्रो गाडी बिक्रीमा केही असर गरेको छ ।’ उनले कर घट्ने किसिमको चर्चाले ग्राहकहरु थप केही समय पर्खिने मनस्थितिमा पुगेको बताए ।
त्यस्तै, अर्का एक अटो व्यवसायीले पनि बजारमा फैलिएको कर घटाउने हल्लाले खरिदकर्ता पर्ख र हेरको अवस्थामा पुगेको बताए । ‘सरकार बन्न पनि अब धेरै समय छैन । यो अवस्थामा कर घट्ने हल्ला चल्दा बरु थप केही महिना पर्खिने मनस्थितिमा खरिदकर्ता पुगेका छन्,’ उनले भने, ‘यसले गर्दा गाडी बुकिङ गर्नेहरुले समेत रद्दको निर्णय लिएका छन् ।’ उनले केही मात्रामा करको दर हेरफेर गरेमा मूल्यमा धेरै फरक पर्ने भएकाले गाडी खरिद गर्नेमा त्यस्तो मानसिकता बनेको बताए ।

अटो व्यवसायीका अनुसार धेरै सवारीसाधन खरिदकर्ता अब बन्ने नयाँ सरकार र उसले चाल्ने कदमलाई समेत पर्खेर बसेका छन्। दुई तिहाई निकटको रास्वपा सरकार बन्ने र सो दलका कतिपय नेताहरुले एउटै वस्तु तथा क्षेत्रमा बढी कर लगाउने भन्दा पनि करको दायरा फराकिलो बनाउने कुरा गर्दै आएका छन् । यसर्थ, पनि गाडी खरिदकर्ता स्थिति केही सहज बन्ला कि भन्ने अपेक्षामा बस्न थालेका छन् ।
यसले गर्दा गाडी खरिदबिक्री केही संकुचित बनेको अटो व्यवसायीको तर्क छ । यसै पनि अटो व्यवासायी गत असारदेखि नै विभिन्न किसिमको चपेटामा पर्दै आएका छन् । अटो व्यवसायीले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् विद्युतीय सवारीसाधनमा लगाइएको कर बढ्ने भन्दै एकैपटक ठुलो मात्रामा गाडी भित्र्याएका थिए ।
भन्सार विभागको तथ्यांकलाई हेर्ने हो भने पनि बजेटमार्फत ईभीमाथि कर वृद्धि हुने चर्चा चलेपछि गत जेठ महिनामा मात्रै ३ हजार ६ सय ३३ ईभी नेपाल भित्रिएका थिए ।
गत जेठ महिनामा ८ अर्ब ४४ करोड ५७ लाख रुपैयाँ बराबरको साढे ३ हजार बढी ईभी नेपाल भित्रिएको थियो । सो समयमा चोभारस्थित सुख्खा बन्दरगाहमा राखिएका गाडीको संख्याको तस्बिर भाइरल भएको थियो ।
तर, कर बढेन । यसले स्टकमा रहेका गाडी छिटोभन्दा छिटो बिक्री गर्नुपर्ने बाध्यतामा व्यवसायी धकेलिए । लामो समय गाडी बिक्री नगरी स्टकमा राख्दा बिक्रेतामाथि आर्थिक भार थपिने भएकाले पनि व्यवसायीले गाडी बिक्रीका लागि भारी छुट तथा अफरको बाटो रोजेका थिए ।
गाडी लामो समय बिक्री नहुँदा पार्किङ भाडा निरन्तर बुझाइरहनुपर्छ भने अर्कोतर्फ बैंकको ब्याज पनि तिरिरहनुपर्छ जसले गर्दा गाडी छिटो बिक्री गरिसक्नु व्यवसायीका लागि बाध्यकारी जस्तै अवस्था बनेको थियो । नभन्दै आकर्षक छुटको घोषणा गरेर अटो व्यवसायीले नाडा अटो शो र नाइमा नेपाल मोबिलिटी एक्स्पोमा उत्साहपूर्ण गाडी बुकिङ गराउन सफल भए ।
बुकिङ भएका गाडी दशैं तिहारमा डेलिभरी गर्ने योजनासहित अगाडि बढेका व्यवसायीलाई भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनले समस्यामा पार्यो । जेनजी आन्दोलनपछि भएका गाडी बुकिङ पनि रद्दको लहर चल्यो भने दशैं तिहार जस्तो गाडी खरिदबिक्रीको मुख्य सिजन नै निरासामा बित्यो ।
व्यवसायीले चाडपर्व अफरसमेत घोषणा गरेपनि त्यसले व्यापारमा खासै सुधार ल्याउन सकेन । यसकारण धेरै अटो व्यवसायीले चालु आर्थिक वर्ष कर बढ्ने हल्लाले भित्र्याएका गाडी नै बिक्री गर्न सकेका छैनन् । यस्तो अवस्थामा फेरि, करको दर फेरबदल हुने अर्को हल्लाले बजारलाई सुस्त बनाएको व्यवसायीहरु बताउँछन् ।
‘अब नयाँ सरकार आएपछि सहज नीति लिएर अगाडि बढ्छ भन्ने अपेक्षामा धेरै मानिस बसेका छन् । यस्तो अवस्थामा अब बन्ने नयाँ सरकार र उसले लिने नीतिलाई पनि धेरैले पर्खेर बसेका छन्,’ अर्का अटो व्यवसायीले भने, ‘निर्वाचनअघि गाडी खरिदबिक्रीले थोरै गति लिएको थियो । तर, उल्लेखित कारणले अहिले मार्केट स्लो डाउन भएको छ ।’
गाडी लामो समय स्टकमा राखेका कारण लागत बढ्ने र मोडल पुरानो भएकाले थप मूल्य घटाएर बिक्री गर्नुपर्ने भएकाले आम्दानीमा समेत असर पुग्ने गरेको गुनासो व्यवसायीहरु सुनाउँछन् । यस्तो अस्थाले संख्यात्मक हिसाबमा गाडी बिक्री भएको देखिएपनि वास्ताविक नाफा भने सबै व्यवसायीको खुम्चिएको उनले बताए ।
उनले अटो क्षेत्र अस्थिर नीतिको चपेटामा पर्दै आएको विषय उल्लेख गर्दै आगामी दिनमा सरकारले स्थिर र लचक नीति लिनेमा अटो उद्योग आशावादी रहेको उल्लेख गरे ।
‘पहिला–पहिला बजेट समयमा मात्रै नीतिगत फेरबदल हुन्छ भन्ने हुन्थ्यो । अहिले त, मौद्रिक नीति र यसका समिक्षाले तीन–तीन महिनामा नै नीति फेरिने गरेका छन्,’ ती व्यवसायीले भने, ‘अटो क्षेत्र आजको भोलि भन्दा पनि लङटर्म नीति आवश्यक पर्ने किसिमको छ ।’
उनले यो किसिमको चपेटाले पनि अटो उद्योग समस्यामा पर्दै आएको बताए । कहिले सरकारी नीति, कुनै समय सामाजिक सञ्जालमा फैलने अफवाह र गलत प्रचारले आफूहरुलाई समस्या पारेको उनको तर्क छ ।
यद्यपि, अब नयाँ सरकार बनेपछि हालको व्यापारको स्लो डाउनको स्थिति सकारात्मक लयमा अघिबढ्ने अपेक्षा व्यवसायीले गरेका छन् ।










प्रतिक्रिया