हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले यसो भन्यो


काठमाडौं । काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको बेलबेसीमा दुर्घटनामा परेको छ ।

९एन-एएफक्यू कलसाइन रहेको उक्त हेलिकप्टर बुधबार बिहान ११:५१ बजे दुर्घटनामा परेको कम्पनीले जनाएको छ ।

एयर डाइनेस्टी हेलि सर्भिसेस प्रालिका अनुसार हेलिकप्टरमा चालकदलका एक सदस्यसहित कुल ६ जना सवार थिए । उक्त घटनामा कुनै मानवीय क्षति नभएको कम्पनीको भनाइ छ ।

हेलिकप्टरमा सवार चालक र सबै ५ जना यात्रुहरू पूर्ण रूपमा सुरक्षित रहेको कम्पनीले पुष्टि गरेको छ।

हेलिकप्टर काठमाडौंबाट खोटाङको बेलबेसीका लागि उडेको थियो। घटना कसरी र के कारणले भयो भन्नेबारे अहिलेसम्म यकिन हुन सकेको छैन।

सम्बन्धित निकायहरूसँग समन्वय गरी घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको कम्पनीका सिनियर म्यानेजर बालकृष्ण पण्डितद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।