अझै सल्टिएन हिल्टनको पुनर्बिमा विवाद, प्राधिकरणलाई समस्याको जड पत्ता लगाउनै मुस्किल

518
Shares

काठमाडौं । आगजनी तथा तोडफोड भएको पाँच महिना बित्दा पनि हिल्टन होटलको पुनर्बिमा विवाद अझै सल्टिन सकेको छैन । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा हिल्टन होटलमा आगजनी तथा तोडफोड भएको थियो । तर, तोडफोड तथा आगजनी भएको पाँच महिना बित्दा पनि जोखिम बहन गर्ने र क्षति न्यूनिकरण गर्न मद्दत गर्ने विश्वासका रुपमा लिइएको बिमाको विषय भने अझै नटुंगिएको हो।

खासगरी, नियामक निकायको रुपमा रहेको नेपाल बिमा प्राधिकरण र बिमा तथा पुनर्बिमा कम्पनीको लापरबाहीका कारण होटलको पुनर्बिमा विवाद सुल्झिन नसकेको देखिन्छ । नियामकको रुपमा रहेको प्राधिकरणले पाँच महिनासम्म पनि हिल्टनको पुनर्बिमा कुन कम्पनीमा भएको हो ? र त्यसको दायित्व कसले बेहोर्नुपर्ने हो? भन्ने विषयको निर्क्योल निकाल्न सकेको छैन ।

हिल्टन होटलको बिमा ओरियण्टल इन्स्योरेन्स कम्पनीमा भएको भए पनि पुनर्बिमा भने कुन कम्पनीमा भएको र कसले दायित्व बेहोर्नुपर्ने ? भन्ने विषय टुंग्याउन नसक्दा दाबी भुक्तानी प्रक्रियामा नै असर पुगेको छ । तथापि, नेपाल पुनर्बिमा कम्पनी, हिमालयन इन्स्योरेन्स कम्पनी, ओरियण्टल इन्स्योरेन्स र एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (पुनर्बिमा दलाल)लाई अनुसन्धानको घेरामा तानेको प्राधिकरणले पाँच महिना बितेपछि बल्ल स्पष्टीकरण सोधेको थियो जसको जवाफ सबैले दिएका छन् ।

‘हिल्टनको पुनर्बिमाको विषयमा प्राधिकरणले अनुसन्धानको घेरामा राखेको नेपाल पुनर्बिमा, हिमालयन इन्स्योरेन्स, ओरियण्टल इन्स्योरेन्स र एलियण्ट इन्स्योरेन्स ब्रोकर्सलाई स्पष्टिकरण सोधेको थियो जसको जवाफ आइसकेको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘यद्यपि, कम्पनीहरुबाट प्राप्त जवाफअनुसार अब थप कसरी अगाडि बढ्ने भन्ने विषयमा भने कुनै निर्णय भइसकेको छैन ।’

स्रोतका अनुसार अबको केही समयमा कसले कहाँनेर गल्ती गरेको छ? र पुनर्बिमाको दायित्व कसले बेहोर्नुपर्छ? भन्ने विषय टुंगिनेगरी प्राधिकरणले निर्णय गर्नेछ । प्राधिकरण अध्यक्ष चन्द्रकला पौडेलले नै यो विषयलाई टुंग्याउने गरी अगाडि बढ्न चासो देखाएकाले अब छिट्टै केही निर्णय आउने स्रोतले जानकारी दियो ।

यसअघि, प्राधिकरणले अनुसन्धानका क्रममा हिल्टन होटलले ओरियण्टलमा बिमा गरेपछि ओरियण्टलले आफूले बहन गर्न सक्ने बराबरको जोखिम राखेर बाँकी जोखिमको पुनर्बिमा गर्न एलियण्ट पुनर्बिमा ब्रोकरलाई जिम्मा दिएको फेला पारेको छ । तर, एलियण्ट ब्रोकरले जोखिम कुन पुनर्बिमा कम्पनीमा प्लेसमेन्ट गर्यो भन्ने तथ्य भने फेला परेको छैन ।

अर्थात्, एलियण्टले यस विषयमा गैरजिम्मेवारपूर्ण जवाफ दिएका कारण प्राधिकरणलाई यो विवाद टंग्याउन समस्या भएको बताइएको छ । प्राधिकरणले एलियण्टसँग जोखिम प्लेसमेन्टको तथ्यांक माग गर्दा जेनजी प्रदर्शनका क्रममा थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा भएको आगलागीमा आफ्ना सबै रेकर्ड, कम्प्युटर र पेनड्राइभसमेत नष्ट भएको जवाफ दिएको थियो ।

डाटा रिकभरसमेत हुन नसक्ने गरी सबै प्रमाण नष्ट भएको जवाफ एलियण्टले दिएपछि कुनै पनि पुनर्बिमा कम्पनीमा रिस्क प्लेसमेन्ट नगरेको हो कि भन्ने शंका पनि पैदा भएको छ । यद्यपि, प्राधिकरणले यसको तथ्य पनि हालसम्म फेला पारेको छैन । यदि, ओरियण्टलबाट पुनर्बिमाको जिम्मा लिएर रिस्क प्लेसमेन्ट नगरेको अवस्थामा भने एलिएण्ट ब्रोकर कारबाहीको भागेदार हुने देखिन्छ ।

हुन त, एलियण्टले यस घटनाबारे प्राधिकरणलाई ढिलो गरी मात्र जानकारी गराएको थियो र हाल भने आफ्नो कार्यालय पानीपोखरीमा सारेको जानकारी दिएको छ । यद्यपि, कुन पुनर्बिमा कम्पनीमा जोखिम प्लेसमेन्ट गरिएको थियो भन्ने कुराको तथ्यांक पनि आगलागीका कारण नष्ट भएको र त्यसको जानकारी नभएको विषय एलियण्टले बिमा प्राधिकरणसँग राखेको छ ।

एलियण्टको यस्तो जवाफपछि प्राधिकरणले खासगरी एलियण्टको भूमिका शंकास्पद देखिएको र अन्य ३ कम्पनी (ओरियण्टल, नेपाल पुनर्बिमा र हिमालयन रि) माथि पनि अनुसन्धान गर्नुपर्ने आवश्यत्ता रहेको औंल्याएको थियो । हाल सोही आधारमा चार वटै कम्पनीमाथि प्राधिकरणले स्पष्टिकरण सोधेको छ ।

एलियण्ट ब्रोकरले रेकर्ड नभएको बताएकाले उसले नेपाल रि र हिमालय रिमा प्लेसमेन्ट गरेरनगरेको यकिन हुन सकेन । प्राधिकरणले सोही कारण थप अनुसन्धानका लागि राज्यको आधिकारिक निकायलाई सिफारिस सहितको प्रतिवेदन तयार पारेर अर्थमा पठाएको छ जुन जवाफ अर्थ हुँदै अख्तियार पुगिसकेको छ । अख्तियारले पनि हालसम्म सो विषयमा देखिने किसिमको कदम भने चालिसकेको देखिँदैन ।

हिल्टन होटलको विषयमा प्रश्न उब्जिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयलाई पत्र पठाउँदै त्यसको वास्ताविकता जानकारी माग गरेको थियो । त्यसपछि, अर्थले नियामक निकाय नेपाल बिमा प्राधिकरणलाई पत्र लेख्दै उक्त विषयका सम्पूर्ण गतिविधि र प्रक्रियागत कुराहरु उपलब्ध गराउन निर्देशन दियो ।

अर्थको यस्तो पत्र आएपछि प्राधिकरणले ओरियण्टल इन्स्योरेन्स, एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (पुनर्बिमा दलाल) लगायतसँग कागजात माग्ने, स्थलगत अनुगमन गर्ने र सत्यतथ्य पत्ता लगाउने प्रयत्न गर्यो । प्राधिकरणले नियामकको रुपमा यस विषयमा एक हदसम्मको अनुसन्धान पनि गरेको थियो ।

तथापि, सो विषयमा हिल्टनको पुनर्बिमाको दायित्व कसले बेहोर्ने भन्ने अन्यौलतालाई प्राधिकरणले चिर्न सकेन । अनुसन्धानका क्रममा प्राधिकरणले एलियण्ट पुनर्बिमा ब्रोकर कम्पनीको भने गम्भीर लापरबाही रहेको निष्कर्ष निकालेको थियो । हाल, अध्यक्ष नियुक्त भएर आएसँगै प्राधिकरणले चार कम्पनीलाई सो विषयमा स्पष्टिकरण सोधेको छ । अब कम्पनीहरुको स्पष्ट जवाफ आएपछि भने विवाद सुल्झिने आशामा नियामक निकाय छ ।

हुलदंगा तथा आतंकवादको पुनर्बिमा सम्बन्धी व्यवस्था र हिल्टनमा सिर्जित विवाद

खासगरी, माओवादी द्धन्दकालको अवस्थामा विदेशी पुनर्बिमा कम्पनीले हुलदंगा तथा आतंकवाद (आरएसटीएमडी) जन्य क्षतिको पुनर्बिमा गर्न मानेनन् । यसपछि, २०६१ सालमा आकस्मिक बिमा कोषको स्थापना गरेर यसबाट भएको क्षतिलाई बिमा सुरक्षा प्रदान गर्ने पर्यत्न गरियो ।

पछि, यहि कोषलाई नेपाल पुनर्बिमा कम्पनी बनाइयो । हुलदंगा तथा आतंकवाद बिमालाई लक्षित गरेर ०६०/६१ मा स्थापना गरिएको आकस्मिक बिमा कोषलाई नै कात्तिक ०७१ मा पुनर्बिमा कम्पनीको रूपमा स्थापना गरिएको थियो ।

सन् २००१ मा पेन्टागनको ट्विन टावरमा हवाई आक्रमण भएको थियो भने सोही समयमा विभिन्न देशमा युद्धहरु चलिरहेका थिए । सोही समयमा नेपालमा पनि जनयुद्धलगायतका युद्धहरु भइरहेका थिए ।

त्यसपछि विदेशी पुनर्बिमा कम्पनीले नेपालमा हुलदंगा तथा आतंकवादको पुनर्बिमा नगर्ने बताएपछि सरकारले पाँच करोड र बिमा कम्पनीहरूले पाँच करोड गरेर कुल १० करोड रुपैयाँको पुँजीमा उक्त कोष खडा गरियो र बिमाको पुनर्बिमा हुने अवस्था बनाइयो ।

माओवादी द्धन्द शान्त हुँदै गएपछि कोष नाफामा पनि जान थाल्यो र सरकारकै नीतिअनुसार २०७१ मा कोषलाई पुनर्बिमा कम्पनीमा रूपान्तरण गरियो । सो समयदेखि नै हुलदंगा तथा आतंकवादको बिमा नेपाल पुनर्बिमा कम्पनीमा नै गर्ने काम हुँदै आएको छ ।

मुलुकमा शान्ति छाएपछि विदेशी पुनर्बिमा कम्पनीले पनि हुलदंगाको पुनर्बिमा गर्ने इच्छा देखाए । यद्यपि, सरकारले त्यसमा सहमति दिएन र नेपाल पुनर्बिमा नै गनुपर्ने नीति कायम राख्यो ।

नेपालमा दोस्रो पुनर्बिमा कम्पनीको रुपमा २०७८ असारमा निजी क्षेत्रबाट हिमालयन रि–इन्स्योरेन्सको स्थापना भयो । अन्य जोखिम दुबै पुनर्बिमा कम्पनी र विदेशी कम्पनीलाई समेत हस्तान्तरण हुने व्यवस्था बनाइएपनि हुलदंगा तथा आतंकवादको जोखिम भने नीतिगत रूपमै नेपाल पुनर्बिमा नै हुनुपर्ने विषय राखियो ।

तर, हिल्टन होटलको पुनर्बिमाको पृष्ठभूमि भने गत वर्षबाट नै विवादित देखिन्छ । गत आर्थिक वर्ष २०८१/८२ मा ओरिएण्टल इनीयोरेनसले हिल्टन होटलको पुनर्बिमा हिमालयन रि इन्स्योरेनसमा गर्न दिनको लागि अनुमति मागेको र नेपाल रि इन्स्योरेन्सले पनि त्यसमा स्वीकृति दिएको पाइएको नेपाल बिमा प्राधिकरण स्रोतले जनाएको छ ।

यसपछि, हिल्टन होटलको पुनर्बिमा हिमालयन रिमा भयो जुन, विगतका अभ्यासअनुसार गर्न नमिल्ने बिमा कम्पनीका सीईओहरु नै बताउँछन्।

हिल्टनको हुलदंगा तथा आतंकवादको पुनर्बिमा गर्न नेपाल पुनर्बिमाले स्वीकृति दिन नमिल्ने र हिमालयन रिले त्यसको पुनर्बिमा गर्न पनि नहुने तर्क सीईओहरुको छ । यद्यपि, गत वर्ष भने हिमालयन रिमा यो ढंगमा हिल्टनको पुनर्बिमा हिमालयन रिले गरेको भएपनि यस वर्ष भने कुनमा गरिएको छ भन्ने अन्यौलता कायम नै छ ।

नेपाल बिमा प्राधिकरणका उच्च अधिकारीहरु पनि हिल्टनको पुनर्बिमा हिमालयन रिमा गर्न नेपाल रिले स्वीकृति दिने मिल्ने किन नमिल्ने भन्ने विषयमा समेत कुनै निष्कृर्षमा पुगेको देखिँदैन । यतिमात्रै नभएर हिलटको पुनर्बिमा दायित्व हिमालयन रिको हो कि नेपाल रि को हो भन्ने अनुगमन र अध्ययन गर्दा पनि कुनै निष्कर्षमा पुग्न सकेको देखिँदैन ।

नेपाल पुनर्बिमा कम्पनीका अधिकारीहरु भने ओरिएण्टलले हिल्टनको पुनर्बिमा दाबी नेपाल रि मा गर्दै प्रारम्भिक छलफल गरेपनि नेपाल रिले दायित्व बहन गर्नुपर्ने प्रमाण भने पेश गर्न नसकेको बताउँछन् । बिमा प्राधिकरणल ओरीएण्टल इन्स्योरेन्सबाट पनि हिल्टनको पुनर्बिमा प्लेसमेन्टको प्रमाण गरेको थियो ।

ओरिएण्टलबाट उपलब्ध गराएको विवरणमा पुनर्बिमाको प्रिमियम एलियन्ट ब्रोकरललाई भुक्तानी गरेको रसिद भए पनि एलियन्टले कुन पुनर्बिमामा प्लेसमेन्ट गर्यो भन्ने प्रमाण खुल्ने कुनै विवरण प्राप्त हुन नसकेको बिमा प्राधिकरण स्रोतको दाबी छ ।
प्राधिकरणले प्रारम्भिक निरीक्षणका क्रममा हिमालयन रिले हिल्टनको पुनर्बिमा गर्न अस्वीकार गरिएको हो कि भन्ने किसिको शंका गर्ने ठाउँ भने भेटेको छ । तथापि, त्यसको सत्यता के हो भन्ने निष्कर्षमा पुग्न सकेको छैन ।

‘पहिलादेखि नै हुलदंगा तथा आतंकवादको पुनर्बिमा हामीले नेपाल पुनर्बिमामा गराउँदै आएका छौं । हिल्टनको हकमा पनि हुनुपर्ने त्यहि नै हो,’ एक निर्जीवन बिमा कम्पनीका सीईओले भने, ‘तर, हिल्टनको हकमा भने हिमालयन रिमा छ भने त्यो गलत छ ।’

उनले, विगतदेखिकै अभ्यासअनुसार हिमालयन रिमा गर्न नमिल्ने भए पनि कसरी त्यो स्थिति बनाइयो भन्ने कुरालाई नियाल्नु पर्ने बताए । नेपालमा पुनर्बिमामा हुँदै आएको हुलदंगा तथा आतंकवादको पुनर्बिमा हिमालय रिमा गर्न मिल्ने नीतिगत व्यवस्था पनि यो बीचमा कहिले नबनाइएको उनले स्पष्ट पारे ।

हिल्टन होटलको पुनर्बिमा गत वर्ष हिमालयन रिमा गरिएको भए पनि यसवर्ष भने एलियण्ट ब्रोकरले कहाँ गरायो भन्ने मुख्य अन्यौलतामा प्राधिकरण छ । यहि कारण जेनजी प्रदर्शनबाट क्षति पुगेको ३ महिना बित्दा पनि हिल्टन होटलको पुनर्बिमाको विषय अझै टुंगोमा पुग्न सकेको छैन । झन्डै ८ अर्ब रुपैयाँ लागतमा बनेको हिल्टनको साढे ४ अर्ब रुपैयाँ बैंकहरुको ऋण छ ।

Skip This