भारतमा अप्रिलदेखि २० प्रतिशत इथानोल मिश्रित पेट्रोल अनिवार्य गरियो, पुराना गाडीलाई कस्तो गर्छ असर ?

238
Shares


काठमाडौं । भारत सरकारले आगामी १ अप्रिलदेखि देशभर २० प्रतिशत इथानोल मिश्रित पेट्रोल (ई -२०) को बिक्री अनिवार्य गरेको छ।

भारतको पेट्रोलियम मन्त्रालयले यो बिषयमा सूचना जारी गर्दै अब देशभरको सम्पूर्ण राज्य तथा केन्द्रशासित प्रदेशमा तेल कम्पनीहरूले २० प्रतिशत इथानोल मिसिएको पेट्रोल मात्रै आपूर्ति गर्नुपर्ने व्यवस्था गरेको छ।

देशको धेरै भागमा सन् २०२३ देखि नै ई -२० पेट्रोलको प्रयोग सुरु भइसकेको थियो, तर त्यो वैकल्पिक (अप्सनल) रूपमा उपलब्ध थियो। सरकारले हालै इथानोल ब्लेन्डिङको लक्ष्य सन् २०३० बाट घटाएर २०२५–२६ मा ल्याएको थियो, जसलाई अब पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ।

९५ रिसर्च अक्टेन नम्बर ई- २० भएको पेट्रोल मात्र बिक्री गर्न पाइने

नयाँ इन्धनका लागि रिसर्च अक्टेन नम्बर(आरओएन) कम्तीमा ९५ तोकिएको छ, ताकि इन्जिन सुरक्षित रहोस्। आरओएनले इन्धनको ‘नकिङ’ (इन्जिनभित्र समयभन्दा अघि इन्धन दहन हुनु) रोक्ने क्षमतालाई जनाउँछ।

आरओएनले पेट्रोल कति मजबुत वा सहनशील छ भन्ने देखाउँछ। जुन पेट्रोलको आरओएन जति बढी हुन्छ, त्यो इन्जिनको दबाबलाई त्यति सहजै सहन सक्छ र कुनै अनावश्यक आवाज वा झट्का बिना सही समयमा दहन हुन्छ। यसले इन्जिनको आयु बढाउन मद्दत गर्छ र सवारीसाधनलाई सहज रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउँछ।

हालसम्म भारतमा बिक्री हुने सामान्य पेट्रोलको आरओएन ९१ रहेको छ भने ९५ आरओएन भएको पेट्रोल ‘प्रिमियम’ श्रेणी (जस्तै एक्सपी ९५) अन्तर्गत मात्र उपलब्ध छ।

पुराना सवारीसाधनको माइलेज ३–७ प्रतिशतसम्म घट्न सक्ने

उद्योग विज्ञहरूका अनुसार सन् २०२३ देखि २०२५ बीच निर्माण भएका अधिकांश सवारीसाधन ई- २० इन्धनअनुकूल डिजाइन गरिएका छन्, त्यसैले ती सवारीमा समस्या देखिने सम्भावना कम छ। तर धेरै पुराना सवारीसाधनमा केही समस्या देखिन सक्छ।

माइलेजमा असर : पुराना सवारीसाधनको इन्धन दक्षता ३ देखि ७ प्रतिशतसम्म घट्न सक्छ।

पुर्जामा प्रभाव : लामो समयसम्म प्रयोग गर्दा पुराना इन्जिनका रबर तथा प्लास्टिकका भागहरूमा क्षति पुग्ने सम्भावना रहेको विज्ञहरूको भनाइ छ।

विशेष परिस्थितिमा केही क्षेत्रमा सीमित छुट

पेट्रोलियम मन्त्रालयले असाधारण परिस्थितिमा केही विशेष क्षेत्रमा सीमित अवधिका लागि यो नियमबाट छुट दिन सकिने स्पष्ट पारेको छ। तर मुख्य रूपमा यो व्यवस्था देशभरका सबै इन्धन स्टेशनमा लागू हुनेछ।

इथानोल मिश्रणबाट ₹१.४० लाख करोडभन्दा बढी विदेशी मुद्रा बचत

सरकारका अनुसार यो निर्णयको प्रमुख उद्देश्य कच्चा तेलको आयातमा निर्भरता घटाउनु हो। तेल मन्त्रालयको अनुमानअनुसार सन् २०१४–१५ यता पेट्रोलमा इथानोल मिसाउँदा भारतले ₹१.४० लाख करोडभन्दा बढी विदेशी मुद्रा बचत गरेको छ।

इथानोल उत्पादन उखु, मकै तथा अन्य अन्नबाट हुने भएकाले यसबाट किसानको आम्दानी पनि बढ्ने अपेक्षा गरिएको छ।

इथानोल के हो ?

इथानोल एक प्रकारको अल्कोहल हो, जुन स्टार्च तथा चिनीजन्य पदार्थको फर्मेन्टेशन प्रक्रियाबाट उत्पादन गरिन्छ। यसलाई पेट्रोलमा मिसाएर वातावरणमैत्री इन्धनका रूपमा प्रयोग गरिन्छ।

इथानोल मुख्य रूपमा उखुको रसबाट उत्पादन हुन्छ, तर मकै, कुहिएको आलु, कसावा, सडेको तरकारीजस्ता स्टार्चयुक्त पदार्थबाट पनि तयार गर्न सकिन्छ।

१ जी इथानोल (फर्स्ट जेनेरेशन)

उखुको रस, मिठो चुकन्दर, कुहिएको आलु, मिठो ज्वार र मकैबाट उत्पादन गरिन्छ।

२ जी इथेनोल (सेकेन्ड जेनेरेशन)

सेलुलोज तथा लिग्नोसेलुलोजिक पदार्थ—जस्तै धानको भूसी, गहुँको भूसी, मकैको खोस्टा (कर्नकब), बाँस तथा काठजन्य बायोमासबाट उत्पादन गरिन्छ।

३ जी बायोफ्युल (थर्ड जेनेरेशन)

एल्गी (शैवाल-सिमल तरुल) बाट उत्पादन गरिने प्रविधि विकासको चरणमा रहेको छ।

अप्रिल २०२३ देखि ई- २० बिक्री सुरु

सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न तथा इन्धनको मूल्य स्थिर राख्न विश्वका धेरै देशहरूले इथानोल मिश्रित इन्धनमा जोड दिइरहेका छन्। भारतमा पनि इथानोललाई पेट्रोल–डिजेलको विकल्पका रूपमा हेरिएको छ।

देशमा सुरुमा ५ प्रतिशत इथानोल मिश्रणबाट प्रयोग सुरु भएको थियो, जुन अहिले २० प्रतिशतसम्म पुगेको छ।

सरकारले राष्ट्रिय जैव–इन्धन नीति कार्यान्वयन गर्दै ई -२० (२० प्रतिशत इथानोल र ८० प्रतिशत पेट्रोल) बाट ई-८० (८० प्रतिशत इथानोल र २० प्रतिशत पेट्रोल) तर्फ अघि बढ्ने प्रक्रिया पनि सुरु गरेको जनाएको छ।

यसैगरी, अप्रिलदेखि फ्लेक्स–फ्युल कम्प्लायन्ट सवारीसाधन मात्र बिक्रीमा ल्याइँदै छ भने पुराना सवारीलाई पनि इथानोल अनुकूल बनाउन सकिने व्यवस्था गरिएको छ।

इथानोल मिश्रणका फाइदा

पेट्रोलमा इथानोल मिसाउँदा प्रदूषण घटाउन मद्दत पुग्छ। इथानोलयुक्त इन्धन प्रयोग गर्दा सवारीसाधनले ३५ प्रतिशतसम्म कम कार्बन मोनोअक्साइड उत्सर्जन गर्छ। यसले सल्फर डाइअक्साइड र हाइड्रोकार्बनको उत्सर्जन पनि घटाउँछ।

इथानोलमा करिब ३५ प्रतिशत अक्सिजन हुने भएकाले नाइट्रोजन अक्साइडको उत्सर्जन पनि कम हुन्छ।

आम उपभोक्तालाई फाइदा

इथानोल मिश्रित पेट्रोल प्रयोग गर्दा सवारीसाधन कम तात्ने बताइएको छ। इथानोलमा रहेको अल्कोहल छिटो बाष्पीकरण हुने भएकाले इन्जिन चाँडै तात्दैन। साथै, कच्चा तेलको तुलनामा सस्तो पर्ने भएकाले महँगीमा केही राहत मिल्ने अपेक्षा गरिएको छ।

किसानलाई फाइदा

इथानोलको माग बढेपछि उखु, मकै तथा अन्य बाली उत्पादन गर्ने किसानको आम्दानी बढ्नेछ। चिनी उद्योगलाई समेत अतिरिक्त आम्दानीको स्रोत प्राप्त हुनेछ।

सरकारी तथ्यांकअनुसार इथानोल कार्यक्रमबाट किसानहरूले करिब २१ हजार करोड रुपैयाँ बराबरको लाभ प्राप्त गरिसकेका छन्।