योगी आदित्यनाथको सिंगापुर जापान भ्रमण, डेढ लाख करोड भारु बराबरका सम्झौता

140
Shares

एजेन्सी । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गरेको सिंगापुर र जापानको चार दिने भ्रमण लगानी, प्रविधि र विश्वव्यापी साझेदारीका हिसाबले अभूतपूर्व रूपमा सफल भएको राज्य सरकारले बिहीबार जनाएको छ ।

आदित्यनाथले १.५ लाख करोड भारु बराबरको समझदारी पत्रमा हस्ताक्षर गरेको र २.५ लाख करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव पनि प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार, मुख्यमन्त्रीको यो भ्रमण सन् २०२९-३० सम्ममा राज्यलाई १० खर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य हासिल गर्ने दिशामा एक निर्णायक कदम बनेको छ भने व्यवसायीहरूले उत्तर प्रदेशलाई लगानीका लागि ड्रिम डेस्टिनेशन (सपनाको गन्तव्य) को रूपमा वर्णन गरेका छन् ।

भ्रमणको जापान चरणका क्रममा कुबोटा कर्पोरेशन, स्पार्क मिन्डा (टोयो डेन्सोसँगको सहकार्यमा), जापान एभिएशन इलेक्ट्रोनिक्स इन्डस्ट्री र नागासे एन्ड कम्पनी लगायतका प्रमुख कम्पनीहरूसँग समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

बिजनेस–टु–गभर्मेन्ट बैठकहरूमा सुजुकी मोटर कर्पोरेशन, होन्डा कार्स इन्डिया लिमिटेड, कोनोइके ट्रान्सपोर्ट कम्पनी लिमिटेड, मित्सुई एन्ड कम्पनी लिमिटेड, र्यापिडस कर्पोरेसन, मारुबेनी कर्पोरेसन, सुमिटोमो रियाल्टी एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र एमयूएफजी बैंक जस्ता अग्रणी फर्महरूले सहभागिता जनाएका थिए ।

सरकारले जनाएअनुसार, प्रस्तावित लगानीका प्रमुख क्षेत्रहरूमा कृषि मशिनरी, अटोमोबाइल ओईएम र पार्टपुर्जाहरू, अटो आर एन्ड डी, सेमिकन्डक्टर, डेटा सेन्टर, ग्रीन हाइड्रोजन, पावर–टु–ग्यास, कम्प्रेस्ड बायो–ग्यास, इलेक्ट्रोनिक्स प्रणाली डिजाइन र निर्माण, लजिस्टिक र गोदाम रहेका छन् ।

यामानाशी विश्वविद्यालय, यामानाशी हाइड्रोजन कम्पनी, आईआईटी कानपुर, हार्कोर्ट बटलर टेक्निकल युनिभर्सिटी, आईआईटी बीएचयू र मदन मोहन मालवीय युनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा एउटा ग्रीन हाइड्रोजन सेन्टर अफ एक्सीलेन्स स्थापना गरिने बताइएको छ ।

यमुना एक्सप्रेसवे औद्योगिक विकास प्राधिकरण क्षेत्रमा जापानी कम्पनीहरूका लागि विशेष औद्योगिक वातावरण प्रदान गर्न ५०० एकडमा एउटा छुट्टै जापान सिटी विकास गरिनेछ ।

ओईएम (मूल उपकरण निर्माता) र पार्टपुर्जा निर्माताहरूका लागि छुट्टै अटो क्लस्टर र आर एन्ड डी सुविधाहरू पनि स्थापना गरिने विज्ञप्तिमा भनिएको छ । साथै, मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष निगरानीमा इन्भेस्ट यूपी जापान डेस्कलाई थप सुदृढ बनाइनेछ ।

मुख्यमन्त्रीले एलओ सिरिजको म्याग्लेभ ट्रेन स्टेशनको पनि भ्रमण गरे र उच्च गतिको ट्रेनमा यात्रा गर्दै उन्नत यातायात प्रविधिहरूमा सहकार्यको सम्भावनाहरू खोजी गरे ।

उनले फ्यानुक कर्पोरेशनको औद्योगिक रोबोटिक्स र फ्याक्ट्री अटोमेशन प्लान्टको निरीक्षण गरे जसले उत्तर प्रदेशमा लगानी गर्न र एमएसएमई (लघु, साना र मझौला उद्यम) क्षेत्रमा प्राविधिक स्तरोन्नतिमा सहयोग गर्न इच्छा व्यक्त गरेको छ ।

पर्यटनका क्षेत्रमा दुवै पक्षले उत्तर प्रदेशको बौद्ध सर्किट र रामायण सर्किटलाई जोडेर आध्यात्मिक, सांस्कृतिक र सम्पदा पर्यटनलाई बढावा दिन र आतिथ्य, पूर्वाधार र सेवा क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्न सहकार्य गर्न सहमत भएका छन् ।

जापानी उद्योगको आवश्यकता अनुरूप भाषा र प्राविधिक तालिमसहितका सीप विकासका पहलहरू पनि सञ्चालन गरिनेछ ।
सिंगापुर भ्रमणका क्रममा एमआरओ (मर्मत, सुधार र सञ्चालन), कार्गो हब, सेमिकन्डक्टर, डेटा सेन्टर, लजिस्टिक, सीप विकास र फिनटेक जस्ता क्षेत्रमा व्यापक सहकार्यका बारेमा छलफल भएको थियो ।

विज्ञप्ति अनुसार, औद्योगिक, प्राविधिक र पूर्वाधार सहकार्य अभिवृद्धि गर्न आदित्यनाथले सिंगापुरका राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्री लगायतका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नुभएको थियो ।

निर्माणाधीन नोएडा अन्तर्राष्ट्रिय विमानस्थललाई एमआरओ र कार्गो हबको रूपमा विकास गर्ने विषयमा पनि छलफल भएको थियो ।

यस भ्रमणको नतिजाले उत्तर प्रदेशको पारदर्शी नीति, सुधारिएको शान्ति सुरक्षा र सुदृढ पूर्वाधारप्रति बढ्दो विश्वव्यापी विश्वास झल्काएको विज्ञप्तिमा उल्लेख छ । यस भ्रमणका क्रममा भएका सम्झौता र प्रस्तावहरूले राज्यलाई एक ट्रिलियन डलरको अर्थतन्त्र बनाउने यात्रालाई उल्लेख्य रूपमा गति दिने दाबी गरिएको छ ।