
काठमाडौं । केही दिन अघि एक सेयर लगानीकर्ताले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा नेपाली सेयर लगानीकर्ताको प्रवृत्ति केन्द्रीत एउटा स्टाटस लेखे । खासगरी, सेयर बजारमा लगानीकर्ताहरु पर्दा अगाडी र पछाडी कसरी खेल्छन् र उनीहरुको वास्ताविक अनुहार के हुन्छ ? भन्ने कुराको सांकेतिक तस्बिर उनले स्टाटसमार्फत् दिन खोजेका थिए ।
‘फलानो कम्पनी किन्नु भनेर सबै ग्रुपमा पोस्ट गर्यो अनि अरुले थोरै भएनि खरिद गर्छन् र १/२ रुपैयाँ भए पनि मूल्य बढ्न जान्छ,’ फेसबुक स्टाटसमा ती लगानीकर्ताले लेखेका छन्, ‘सोही आधारमा उसले फेरि आफैंलाई सफल विश्लेषक भन्छ ।’
कुरा सिधा छ, बजारमा केही चर्चा कमाएका लगानीकर्ताहरु सामाजिक सञ्जालमा कम्पनीको नामै तोक्नेदेखि समूह (सेक्टर)को नाम लिएर बढ्ने वा घट्ने घोषणा गर्दै पर्दा पछाडि भने आफ्नै फाइदाका लागि खेलिरहेका हुन्छन् । खासगरी, नयाँ र बजारमा भरखरै प्रवेश गरेका लगानीकर्ताहरु आफू भन्दा अगाडिका लगानीकर्तासँग मार्गदर्शन खोज्छन्, के गर्दा उचित होला भनेर विचार पनि माग्छन् जुन आफैंमा स्वभाविक पनि छ।
तर, बजारमा रुची राखेर प्रवेश गर्न लागेका र यी नै नयाँ लगानीकर्ता त्यस्ता विश्लेषकको फन्दामा पर्ने गर्दछन् । अर्थात्, ती लगानीकर्ताले यहि विषयलाई आफूले आम्दानी गर्ने ‘गौंडो’ बनाउँछन् भने ‘आफू सही विश्लेषक हुँ’ भनेर भ्रम छर्ने माध्यम पनि बन्छ।
पछिल्लो पटक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गरि फागुन १ देखि लागु गर्ने निर्णय गर्यो । यही मार्जिन कारोबारको कार्यान्वयनको विषयलाई पनि लिएर सामाजिक सञ्जालमा सो किसिमको विश्लेषण व्यापकरुपमा भयो । यस विषयलाई जोडेर बजार उकालो लाग्नेदेखि कार्यान्वयनको निर्णय गरेको भोलिपल्ट बजार नै हल्ट हुने (सकारात्मक सर्किट) लाग्ने सम्मका चर्चा चलाइयो ।
तर, हालसम्मको बजारको स्थिति हेर्दा पनि बजारले त्यस विषयसँग सम्बन्धित भएर कुनै खास किसिमको प्रतिक्रिया जनाएको देखिँदैन । यस विषयमा बजारकै कतिपय लगानीकर्ताले ‘मार्जिन कारोबार कार्यान्वयनमा आएपछि बजार उफ्रिन्छ भनेर विश्लेषण गर्नेहरु कहाँ पुगे?’ भनेर सामाजिक सञ्जालमा खोजिसम्म गरेको देखियो ।
‘ब्रोकरलाई मार्जिन कारोबार खुल्यो भन्दै अब सेयर बजार उड्छ भनेर ढोल पिट्ने स्वघोषित विद्वान विश्लेषकहरूलाई अब एउटै प्रश्न सोध्नुपर्छ– खै त बजार उडेको ?’ अर्का एक लगानीकर्ताले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मार्जिनको हल्ला चलाएर बतासे भविष्यवाणी गर्नेहरू कहाँ हराए ? कि बजार उडेन भनेर अब नयाँ बहाना खोजिँदै छ ?’
उनले शब्दको आतिशबाजीले बजार उड्दैन, वास्तविकता चाहिन्छ भन्ने तर्क गरेका छन् । यसरी, नेपाली सेयर बजारको प्रवृत्ति हेर्दा बजेटका नाममा, सरकार परिवर्तनका नाममा, मौद्रिक नीतिका नाममा, नियामक धितोपत्र बोर्डले ल्याउने तथा ल्याएका नीतिका नाममा नयाँ लगानीकर्ताहरु पटकपटक यस्ता स्वघोषित विश्लेकको सिकार बन्ने गर्दछन् ।
कतिपयलाई त आफूले सही विश्लेषक ठानेको लगानीकर्ताले पर्दा पछाडि कसरी खेलेको छ भन्ने थाहा पाउन नै लामो समय लाग्ने गर्दछ । यस्ता विश्लेषकको पछाडि लागेर सुरुमै अनपेक्षित घाटा बेहोरेर सेयर बजारप्रति वितृष्णा पैदा हुँदै बाहिरिनेको संख्या पनि ठूलो नै छ ।
२०८० चैत ४ गते साढे ३०० रुपैयाँ प्रतिकित्ता हाराहारी रहेको नेपाल फाइनान्सको सेयर मूल्य अस्वाभाविक ढंगमा तीब्ररुपमा बढ्दै २०८१ साउन २९ गते २१७८ (सो दिन २६१४) रुपैयाँ प्रतिकित्तासम्म पुगेको थियो । तर, २६०० माथि पुगेको कम्पनीको सेयर मूल्य हाल ६०० रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ ।
२०८१ असार २ गते ५१९ रुपैयाँ प्रतिकित्ता रहेको गुडविल फाइनान्सको सेयर मूल्य उकालो लाग्दै भदौ १७ मा १३३० रुपैयाँ (त्यस दिन १३५३ सम्म) पुगेको थियो । हाल यस कम्पनीको मूल्य पनि प्रतिकित्ता ६०० रुपैयाँ हाराहारी नै छ ।
२०८० पुस ११ गते सिन्धु विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २७९ रुपैयाँ रहेकामा मंसिर १७ गते १११४ रुपैयाँसम्म पुगेको थियो । हाल यस कम्पनीको मूल्य ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसरी, यी लगायत केही निश्चित कमजोर कम्पनीको सेयर मूल्यमा माथि चर्चा गरेजस्तै विश्लेषकको कारण अस्वभाविक उतारचढाव देखिएको थियो ।
यही अस्वभाविक उतारचढावका बीच नै ठूला कतिपय लगानीकर्ताले विश्लेषकको नाम दिएर फसाउने काम गरिरहेका छन् । थोरै संख्यामासेयर सूचीकृत भएका, सहजै घटबढ गराउन सक्ने कमजोर (जस्तै विशेषगरीः हाइड्रोपावर, फाइनान्स, विकास बैंक समूहका) कम्पनीमा यो किसिमको खेल बढी खेलिने गरेको देखिन्छ ।
हुन त कुन कम्पनीलाई राम्रो र कुनलाई नराम्रोको सूचीमा राख्ने भन्ने विषयमा पनि सबैको आ–आफ्नो दृष्टिकोण हुन्छ । लगानीका हिसाबमा दोस्रो बजारमा लगानी गर्नेले उच्च नाफा गरेका, बढी लाभांश दिइरहेका र दिने क्षमता भएका, व्यवस्थापन राम्रो भएको, राम्रो पर्फमेन्स गरिरहेका कम्पनीलाई हेरिनुपर्ने मान्यता रहँदै आएको छ ।
तथापि यस्ता कम्पनीप्रतिको आकर्षण बढ्नुको सट्टा उल्टो घटिरहेको देखिन्छ । अहिले पनि प्रतिफल नै दिन नसकेका कर्पोरेट विकास बैंक, आँखुखोला जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षणको केन्द्रमा छन् । आईपीओ निष्कासन गरेका हालैका नयाँ कम्पनीहरुमा पनि केहीको मूल्य भने एकदमै धेरै अस्वभाविक रुपमा माथि पुगेको चर्चाहरु पनि भइरहेका छन् ।
यसमा पनि यी नै स्वघोषित विश्लेषकहरुको भूमिका रहेको आँकलन पनि गर्न सकिन्छ । तथापि, यस्ता विश्लेषकले फरकफरक शैलीमा कुनै सेक्टर वा कम्पनीप्रति लगानीकर्ताको आकर्षण गराउने वा बिक्री गर्न लगाउने किसिमको अभिव्यक्ति दिने गर्दछन् जुन नयाँ लगानीकर्ताका लागि सहजै बुझ्न कठिन पनि हुनसक्दछ ।
एक लगानीकर्ताले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘क्रमभंगताः इतिहासमा हरेक पटक हाइड्रोपावर सेक्टर बढ्दा सबैभन्दा पहिले महँगा हाइड्रोपावर कम्पनीहरु बढ्दथे । त्यसपछि विस्तारै मध्यम मूल्यका र अन्तिममा सबैभन्दा कम मूल्यका हाइड्रोपावर कम्पनी बढेर सेक्टरको मुभमेन्ट सकिने गर्दथ्यो । यसपटक चाहिँ ठ्याक्कै उल्टो भएको छ ।’
ती लगानीकर्ताले थप अगाडि लेखेका छन्, ‘अहिले मुभमेन्ट सबैभन्दा सस्तो हाइड्रोपावरबाट सुरुवात भएको छ । विस्तारै क्रमानुसार माथिल्लो मूल्यका हाइड्रोपावरमा मुभमेन्ट बढ्दै जाने आशा गर्न सकिन्छ ।’ यो किसिमका सांकेतिक विश्लेषण गर्नेहरुले पनि कुनै न कुनै स्वार्थ केन्द्रीत तर्क गरिरहेका छन् भन्ने विषय नेपाली लगानीकर्ताले बुझ्न सक्नुपर्दछ ।
सेयर बजारमा अगाडि एउटा विश्लेषण गरेर पर्दा पछाडि अर्को खेल खेल्नेहरुले भने बजारप्रति आकर्षित भएका नयाँ लगानीकर्तालाई छिट्टै वितृष्णाको स्थितिमा पुर्याउने गर्दछन् । सोही कारण पनि हुनसक्छ, नेपाली पुँजी बजारमा अनलाइन कारोबारका लागि खाता लिने र प्रयोग गर्ने (सक्रिय) लगानीकर्ताबीचको खाडल ठूलो छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार २०८१ असार मसान्तमा ६३ लाख ११ हजार १७६ रहेको डिम्याट खाता संख्या २०८२ असार मसान्तमा ९.३० प्रतिशतले वृद्धि भई ६८ लाख ९७ हजार ९ सय ७५ पुगेको थियो । त्यसैगरी यही संख्या २०८२ मंसिर मसान्तसम्म ७२ लाख ३९ हजार ७ सय ५२ पुगेको देखिन्छ ।
‘मेरो सेयर’को प्रयोगकर्ताको संख्यामा समेत विगत पछिल्ला वर्षमा उल्लेख्य रुपमा वृद्धि भएको देखिन्छ । यो संख्या २०८१ असार मसान्तमा ५३ लाख ६७ हजार ४२ रहेकोमा २०८२ असार मसान्तमा ११.३० प्रतिशतले वृद्धि भई ५९ लाख ७३ हजार ४५६ पुगेको देखिन्छ । २०८२ मंसिर मसान्तमा उक्त संख्या ६३ लाख १५ हजार ५६३ पुगेको छ ।
धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि लगानीकर्ताहरूले धितोपत्र दलाल व्यवसायीमार्फत् प्रयोग गर्ने अनलाइन कारोबार खाता ‘टिएमएस’ सञ्चालन गर्ने लगानीकर्ताहरूको संख्या २०८१ असार मसान्तमा ३७ लाख ८२ हजार ७२० रहेकोमा २०८२ असार मसान्तमा यो संख्या १०.६७ प्रतिशतले वृद्धि भई ४१ लाख ८९ हजार ६७७ पुगेको देखिन्छ । यो संख्या २०८२ मंसिर मसान्तमा ४५ लाख ३ हजार ९९ पुगेको देखिन्छ ।
उक्त संख्यामध्ये हाल २७ लाख २० हजार ८१९ सक्रिय प्रयोगकर्ता रहेको तथ्यांक छ । यो किसिमको बढ्दो लगानीकर्ताको आकर्षणसँगै थरीथरीका विश्लेषक भित्रिने क्रम पनि बढ्दो मात्रामा छ । विश्लेषकका नाममा गलत ढंगको व्याख्या विश्लेषण गर्ने प्रवृत्ति राक्नुपर्ने विषय उठेपनि त्यसो हुन सकेको छैन ।
नियामक निकाय धितोपत्र बोर्डले भने ‘धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको वास्तविक वस्तु स्थिति बुझेर आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुपर्छ’ भन्ने विषय राख्दै आएको छ ।








प्रतिक्रिया