बमले उडाइदिने धम्की आएपछि अस्ट्रेलियाका प्रधानमन्त्रीलाई घरबाट सुरक्षित स्थान लगियो

1.7k
Shares

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बनिजीलाई चिनियाँ नृत्य र संगीत समूह शन युनसँग सम्बन्धित बम विस्फोटको धम्की प्राप्त भएपछि मंगलबार उनको घरबाट सुरक्षित स्थानमा सारिएको छ ।

एल्बनिजीलाई स्थानीय समय अनुसार मंगलबार अपराह्न ६ बजे सुरक्षित स्थानमा सारिएको र केही घण्टासम्म अन्यत्र राखिएको प्रहरीले जनाएको छ ।

अधिकारीहरूले क्यानबेरास्थित प्रधानमन्त्रीको आधिकारिक निवास द लजमा सुरक्षा घटना भनिएको अनुसन्धान गरेको पुष्टि गरे । तर, त्यहाँ कुनै पनि शंकास्पद वस्तु फेला परेन ।

यो धम्की शन युनका कलाकारहरूलाई पठाइएको इमेलबाट सुरु भएको थियो जसमा उनीहरूलाई अस्ट्रेलियामा हुन लागेका आगामी कार्यक्रमहरू रद्द गर्न वा द लजमा बम विस्फोटको जोखिम मोल्न भनिएको थियो । चिनियाँ भाषामा लेखिएको एउटा इमेलमा निवासको वरपर ठूलो मात्रामा नाइट्रो–ग्लिसरिन विस्फोटक पदार्थ राखिएको भन्दै चेतावनी दिइएको थियो ।

‘तपाईंहरूले प्रदर्शन जारी राख्न ढिपी गर्नुभयो भने प्रधानमन्त्रीको निवास ध्वस्त पारिनेछ र रगतको खोलो बग्नेछ ।’

अस्ट्रेलियाको ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार, शन युनले नै प्रहरीलाई यस धम्कीबारे जानकारी दिएको थियो । बीबीसीलाई दिएको एक बयानमा शन युनले अस्ट्रेलियामा आफ्ना कार्यक्रमहरू जारी राख्ने बताएको छ र यस घटनाको विस्तृत अनुसन्धानका लागि माग गरेको छ ।

बुधबार एल्बनिजीले एक सोशल मिडिया पोस्टमार्फत प्रहरी र सर्वसाधारणलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिए र आफ्नो कुकुरको फोटो साझा गर्दै लेखे, ‘टोटो सतर्क छ तर सबै ठीक छ ।’

सोही दिन एक कार्यक्रममा प्रदर्शनकारीहरूले अवरोध पुर्याएपछि उनले राजनीतिक बहसको तनाव कम गर्न पुनः आग्रह गर्दै भने, ‘मलाई लाग्छ, यो मानिसहरूलाई तनाव कम गर्न आग्रह गर्ने एउटा अवसर मात्र हो । भगवानका लागि, हामीले यस्ता कुराहरूलाई हल्का रूपमा लिनु हुँदैन ।’

सन् २००६ मा प्रतिबन्धित धार्मिक आन्दोलन फालुन गोङद्वारा स्थापित शन युनले विगत दुई वर्षदेखि विश्वभर आफ्ना प्रदर्शनहरूमा धेरै धम्कीहरूको सामना गर्दै आएको छ । सन् १९९९ देखि चीनमा फालुन गोङलाई प्रतिबन्ध लगाइएको छ जब सरकारले यस समूहलाई गैरकानूनी धार्मिक समूह घोषित गरी दमन सुरु गरेको थियो । शन युनका प्रदर्शनहरूमा प्रायः चिनियाँ कम्युनिस्ट पार्टीको अप्रत्यक्ष आलोचना समावेश हुने गर्छ ।

गत साता अमेरिकाको वाशिङटन डीसीस्थित केनेडी सेन्टरमा पनि यस्तै बमको धम्कीका कारण खाली गराउनुपरेको थियो जहाँ धम्कीको निशानामा शन युन नै थियो ।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आफू वास्तविक अवस्थाबारे अवगत नभएको बताउँदै थपिन्, ‘चीन सधैं सबै प्रकारका हिंसात्मक आक्रमणहरूको विरोध गर्छ ।’

एक अज्ञात अस्ट्रेलियाली सरकारी स्रोतले एबीसीलाई बताएअनुसार, मानिसहरूले बमको धम्कीबारे कुनै निष्कर्षमा पुग्न हतार गर्नुहुँदैन किनकि यो धम्की फालुन गोङप्रति शत्रुता राख्ने समुदायका सदस्यबाट पनि आएको हुन सक्छ ।