इरानको सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त, ४ जनाको मृत्यु

154
Shares

एजेन्सी । मंगलबार इरानको मध्य प्रान्त इस्फहानको एउटा फलफूल बजारमा इरानी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाइलट, कोपाइलट र दुई व्यापारीको मृत्यु भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन् ।

हेलिकप्टर दोरचेह शहरमा खसेको थियो जसका कारण लागेको आगोलाई आकस्मिक सेवाका कर्मचारीहरूले निभाएका थिए ।

विज्ञहरूका अनुसार, इरानको हवाई सुरक्षा रेकर्ड निकै कमजोर छ र त्यहाँ बारम्बार विमानहरू दुर्घटना भइरहन्छन् । यीमध्ये धेरैजसो दुर्घटनामा सन् १९७९ को इस्लामिक क्रान्तिभन्दा अघि खरिद गरिएका र मर्मतसम्भारका लागि आवश्यक सक्कली पार्टपुर्जाको अभाव भएका पुराना विमानहरू संलग्न हुने गरेका छन् ।

गत साता मात्रै इरानी वायुसेनाको एउटा अमेरिकी निर्मित एफ–४ लडाकु विमान पश्चिमी प्रान्त हामादानमा तालिम उडानका क्रममा दुर्घटनाग्रस्त हुँदा एक चालकको मृत्यु भएको थियो ।