रास्वपाले सार्वजनिक गरेको वाचापत्रमा के छ ? (पूर्णपाठ)

182
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आमनिर्वाचनलाई लक्षित गर्दै आफ्नो वाचापत्र सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित आमसभामा पार्टीका शीर्ष नेताहरूले वाचापत्र अनावरण गरेका हुन् ।

वाचापत्र सार्वजनिक गर्दै पार्टीका उपसभापति तथा अर्थविद् स्वर्णिम वाग्लेले यसका प्रमुख अंशहरू प्रस्तुत गर्दै मुलुकको नीतिगत दिशालाई स्पष्ट पार्ने गरी एक सय आधारहरू समेटिएको बताए । उनका अनुसार वाचापत्रले राज्य सञ्चालनको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ, जसमा अर्थतन्त्रका समस्याहरू समाधान गर्ने उपायहरू समावेश छन् ।

उनले दलमुक्त राज्य संयन्त्र निर्माण, सरकारी सेवामा डिजिटल प्रविधिको प्रयोगमार्फत ‘लाइन होइन, अनलाइन’ प्रणाली, र राज्यप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई प्राथमिकता दिइएको उल्लेख गरे ।

वाग्लेले लामो समयदेखि थाँती रहेका आर्थिक सुधारहरू कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाउँदै विकासमा बाधा पुर्‍याउने विभिन्न ऐन तथा नियमहरू एकैपटक खारेज गरिने बताए । निजी क्षेत्रलाई विकासको सहयात्रीका रूपमा अगाडि बढाइने, करको बोझ घटाइने र प्रशासनिक झन्झट हटाइने योजना पनि वाचापत्रमा समेटिएको उनले जानकारी दिए ।

रास्वपाले आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको देश बनाउने लक्ष्य लिएको छ । स्थिर मूल्यमा कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै निरन्तर ५ प्रतिशत वृद्धि कायम गर्ने लक्ष्य पनि प्रस्तुत गरिएको छ । त्यस्तै, ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने र सोही अवधिमा अर्थतन्त्रको आकार १०० अर्ब डलरसम्म विस्तार गर्ने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ ।