
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८२ सालको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै भदौ २३ र २४ गतेको घटनालाई ‘राज्यविरुद्धको एक गम्भीर षड्यन्त्र’ को संज्ञा दिएका छन् ।
७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले मुलुकको पछिल्लो राजनीतिक अस्थिरता र ‘नयाँ भनिएका’ शक्तिहरूबारे कडा टिप्पणी गरे ।
ओलीले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएका कारण दुर्घटना भएको भन्ने भाष्यलाई पूर्णतः अस्वीकार गरे । घोषणापत्रमा भनिएको छ, ‘हामीले बुझ्नुपर्छ– ठुला पार्टीहरू मिलेकै कारण दुर्घटना भएको होइन, उनीहरूबिचको एकता फुटाउन र भत्काउनका लागि दुर्घटना गराइएको हो ।’
उनले संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्ने र अस्थिरताको चक्र चलाउने सम्भावना नभएपछि सडकबाट नयाँ ढङ्गको षड्यन्त्र सुरु गरिएको दाबी गरे । सर्वोच्च अदालतको आदेशअनुसार सामाजिक सञ्जाल नियमनका लागि दर्ता हुन नआउने प्लेटफर्महरू बन्द गर्ने सरकारको निर्णयलाई बहाना बनाएर भयानक अराजकता फैलाइएको ओलीको तर्क छ।
अध्यक्ष ओलीले ‘नयाँ कि पुरानो’ भन्ने बहसलाई असान्दर्भिक भन्दै नयाँ भनिएका शक्तिहरू परीक्षण भइसकेको बताए ।
‘भ्रममा पर्नु पर्दैन, नयाँ भनिने कोही पनि परीक्षण हुन बाँकी छैनन्,’ उनले भने, ‘चर्चामा रहेका पात्रहरूले स्थानीय होस् कि सङ्घीय सरकार, त्यसमा सहभागी भई आफ्नो क्षमता र हैसियत देखाइसकेका छन्।’ उनले भदौ २४ को महाविनाशको अपराध लुकाउन केही तत्वहरूले ‘नयाँ शक्ति’ को मुखुण्डो लगाएको आरोप समेत लगाए ।
उनले निर्वाचन जितेर सरकार बनाएलगत्तै ‘कार्यसम्पादन करार’ मार्फत काम थाल्ने योजना बताए ।
अन्तरपुस्ता द्वन्द्वको चर्चालाई चिर्दै ओलीले देश बनाउन युवाको जोश र अनुभवीको दृष्टिको मेल हुनुपर्ने बताए । युवालाई ‘आगो’ र अनुभवी पुस्तालाई ‘उज्यालो’ सँग तुलना गर्दै उनले भने, ‘युवा आगो हो भने अनुभव उज्यालो हो । आगोलाई दिशा दिन उज्यालो चाहिन्छ, नत्र त्यसले आफैँलाई जलाउँछ। यी दुई मिलेर मात्र देशको भविष्य उज्ज्वल हुन्छ।’
‘देश पहिला’ र तत्काल गर्ने ११ काम
‘देश पहिला’ को नीतिलाई केन्द्रमा राख्दै एमालेले आफ्नो घोषणापत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भहरू प्रस्तुत गरेको छ । निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै नि:शुल्क १० जिबी डाटा, सुत्केरी भत्ता २० हजार, न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउने लगायतका ११ वटा कामको निर्णय गरिने एमालेको प्रतिबद्धता छ ।








प्रतिक्रिया