चर्चित राइड-सेयरिङ कम्पनी ‘उबर’ नेपाली सडकमा, दुई पांग्रे र चार पांग्रे सेवा सुरू

266
Shares

काठमाडौं । विश्वको अग्रणी राइड-सेयरिङ एप उबरले आजदेखि आधिकारिक रूपमा नेपालमा आफ्नो सेवा सुरू गरेको छ ।

दक्षिण एसियाकै गतिशील र द्रुत गतिमा विकास भइरहेका सहरी बजारहरूमध्ये एक मानिने नेपालमा प्रवेश गरेसँगै उबरले आफ्नो मोबिलिटी प्लेटफर्म नेपाली प्रयोगकर्ताका लागि उपलब्ध गराएको हो ।

एसिया प्रशान्त क्षेत्रमा उबरको यो ११ औँ बजार हो । दक्षिण एसियाली क्षेत्रमा विगत १० वर्षयताको यो पहिलो नयाँ बजार विस्तार भएको कम्पनीले जनाएको छ । यसलाई उबरको विश्वव्यापी वृद्धि यात्रामा एक रणनीतिक ‘माइलस्टोन’को रूपमा हेरिएको छ।

उबरले नेपालमा चारपांग्रे र दुईपांग्रे दुवै श्रेणीमा आफ्ना उत्पादनहरू सार्वजनिक गरेको छ। जसअन्तर्गत चारपांग्रे श्रेणीमा उबर गो र उबर कम्फर्ट तथा दुईपाङ्ग्रे श्रेणीमा उबर बाइक सञ्चालन सुरू गरिएको कम्पनीले जनाएको छ ।

यी सेवाहरूले सहरी क्षेत्रमा यात्रा गर्न चाहने यात्रुहरूलाई सरल, भरपर्दो र सुविधाजनक विकल्प प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । ७० भन्दा बढी देशहरूमा सञ्जाल फैलिएको उबरको नेपाल प्रवेशसँगै अब यात्रुहरूले काठमाडौँका सडकमा हुन् वा अन्तर्राष्ट्रिय भ्रमणमा, एउटै चिरपरिचित एपमार्फत सहजै यात्रा गर्न सक्नेछन् ।

कार्यक्रममा उबरका एसिया प्रशान्त क्षेत्रका रिजनल जनरल म्यानेजर डोमिनिक टेलरले भने नेपालमा उबर सुरू गर्न पाउँदा र नेपाललाई उबरको विश्वव्यापी मोबिलिटी बजारमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए । उनले भने,’नेपाल एक जीवन्त र तीव्र गतिमा बढिरहेको बजार हो, जहाँ डिजिटल साक्षरता, सहरी यातायातको आवश्यकता र पर्यटनको प्रचुर सम्भावना छ। नेपालमा हाम्रो प्रवेशले स्थानीय यात्रु, चालक र आगन्तुकहरूको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरालाले उबरको स्वागत गर्दै पर्यटन नेपाली अर्थतन्त्रको प्रमुख आधार भएको बताउँदै यातायातको सहज पहुँचले पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले भने,’उबर जस्तो विश्वस्तरीय प्लेटफर्मको आगमनले पर्यटक र स्थानीय दुवैलाई सहजता प्रदान गर्नेछ।’

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नेपाल सरकार आधुनिक र डिजिटल यातायात इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘उबरको प्रवेशले नेपालको आर्थिक सम्भावनाप्रति अन्तर्राष्ट्रिय विश्वास झल्काउँछ। यसले दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्न र सहरी आवागमनलाई थप व्यवस्थित बनाउन सहयोग पुर्‍याउनेछ ।’

पछिल्ला वर्षहरूमा नेपालमा स्मार्टफोनको बढ्दो प्रयोग र उपभोक्ताहरूको बदलिँदो आकांक्षाका कारण यातायातको क्षेत्रमा नयाँ अवसरहरू सिर्जना भएका छन्। उबरले स्थानीय आवश्यकता अनुसारको प्रविधिमार्फत यस क्षेत्रलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सन् २०१० मा सुरु भएको उबरले ‘मुभमेन्ट’मार्फत अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । हालसम्म विश्वभर ७५ अर्बभन्दा बढी ट्रिपहरू सम्पन्न गरिसकेको यो कम्पनीले मानिसहरूलाई मात्र नभई खाना र अन्य वस्तुहरूको ढुवानीमा समेत क्रान्ति ल्याएको छ।