लगानी पुँजीको निर्णय मात्र नभई विश्वासको निर्णय हो, त्यो विश्वास अहिले गम्भीर रूपमा हल्लिएको छ

0
Shares

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनलाई फर्केर हेर्दा त्यसलाई सडकमा पोखिएको असन्तुष्टि मात्रै भन्न मिल्दैन । यो निजी क्षेत्रको मनोविज्ञान, लगानी वातावरण र व्यवसायिक सुरक्षामाथि गहिरो प्रश्नचिह्नको रूपमा खडा भएको छ । व्यापार, पर्यटन, होटल र उड्डयनजस्ता क्षेत्रमा भूमिका खेल्दै आएको निजी क्षेत्रले यस आन्दोलनबाट प्रत्यक्ष मात्र नभई अप्रत्यक्ष र दीर्घकालीन असर समेत बेहोर्न परेको छ ।

जेनजी आन्दोलनका क्रममा आगजनी, लुटपाट, तोडफोड र बजार अवरोधका कारण व्यावसायिक संरचनामा भौतिक क्षति त भयो नै, त्यसभन्दा ठूलो क्षति उद्योगी–व्यवसायीमा सिर्जना भएको असुरक्षा र डरको भावना हो । क्षतिपूर्ति तत्काल सम्भव नदेखिएको र सरकारले व्यवसायीको मनोबल बढाउने किसिमले काम नगरेकोले निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन ।

भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितता नभएको र हाल राजनीतिक अस्थिरता कायम रहेकोले लगानीकर्तालाई ‘पर्ख र हेर’ को अवस्थामा पुर्‍याएको छ । अर्थात्, आजका दिनमा व्यवसायीले थप लगानी गरेर आफ्नो व्यापार व्यवसाय बढाउने महत्त्वाकांक्षालाई केही समय पर्खिन बाध्य बनाएको छ।

जेनजी आन्दोलनले सिर्जना गरेको अनिश्चितताले सुदृढ हुँदै गरेको लगानी वातावरणमा गम्भीर धक्का पुगेको छ । यस तथ्यलाई निजी क्षेत्रका धेरै प्रतिनिधिले उठाउँदै आएका छन् भने सरकारले पनि स्वीकार गरिरहेको छ । उद्योगी तथा व्यवसायीलाई राज्यबाट सुरक्षा र सम्मानको प्रत्याभूति नभएसम्म लगानी पुनर्जीवित हुन सक्दैन । यस विषयमा हामी सबै जानकार नै छौं ।

लगानी पुँजीको निर्णय मात्र नभई विश्वासको निर्णय पनि हो । र, त्यो विश्वास अहिले गम्भीर रूपमा हल्लिएको महसुस हामीले गरिरहेका छौं । यस आन्दोलनपछि व्यावसायिक जगतमा देखिएको  ‘पोस्ट जेनजी स्ट्रेस’ व्यक्तिगत त्रासमा सीमित छैन । कर्मचारी, व्यवस्थापन र समग्र निजी क्षेत्रमा अब के हुन्छ ? यो प्रश्न उठेको छ । अर्थात्, यसले उद्योगी व्यवसायीमा एक किसिमको अनिश्चितताको मानसिक स्थिति सिर्जना गरेको छ ।

यस्तो अवस्था दीर्घकालसम्म रहिरहेमा यसको असर रोजगारी, उत्पादन, राजस्व र समग्र अर्थतन्त्रमा प्रत्यक्ष रूपमा पर्छ जुन कुरामा हामी सबै जानकार नै छौं । जेनजी प्रदर्शनपछि सरकारले केही राहत, क्षति मूल्यांकन र संवादका प्रयास गरेको देखिए पनि ती पर्याप्त छैनन् । उद्योगी–व्यवसायीहरूसँग गहिरो संवाद नगरी, उनीहरूको मनोविज्ञान नबुझी र सुरक्षा सुनिश्चित नगरी औपचारिक निर्णयहरूले मात्र लगानीको वातावरण सुध्रँदैन ।

असुरक्षाको अवस्था देख्दादेख्दै कसैले पनि लगानी गर्न चाहँदैन । सरकार र निजी क्षेत्रबीच विश्वास पुनःस्थापना गर्ने स्पष्ट र ठोस पहल अहिलेको आवश्यकता हो । यो कार्य हालको सरकारले गर्न नसकेको अवस्था छ । भविष्यमा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढा राख्न सरकार, व्यवसायी स्वयं र अन्य सरोकारवालाहरूको साझा प्रयास अपरिहार्य छ । समाजमा उद्योगी–व्यवसायीप्रति रहेको नकारात्मक दृष्टिकोण परिवर्तन गर्नु सबैभन्दा ठूलो चुनौतीको विषय बनेको छ ।

नेपालमा उद्योगीलाई फटाहा, तस्कर वा अवैध कमाइ गर्ने समूहको रूपमा हेर्ने गरिन्छ । यो मानसिकता तोड्न सकिएन भने निजी क्षेत्र सधैं आक्रोशको सजिलो निशाना बनिरहन्छ । यसका लागि दीर्घकालीन उपायको रूपमा शैक्षिक पाठ्यक्रममै उद्योग, उद्यमशीलता र व्यवसायलाई सकारात्मक रूपमा प्रस्तुत गर्ने सोच विकास गर्न आवश्यक छ ।

उद्योगी–व्यवसायी देशको आर्थिक आधार हुन् भन्ने चेतना आम जनमानसमा फैलिन सकेमा मात्रै निजी क्षेत्रप्रतिको दृष्टिकोण क्रमशः परिवर्तन हुन सक्छ । नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारको भूमिका निर्णायक हुन्छ । नीतिनिर्माण उद्योगमैत्री हुनुपर्छ, कानुनी शासन बलियो हुनुपर्छ र राजनीतिक स्थिरता सुनिश्चित हुनुपर्छ ।

यति भएमा मात्रै सरकारप्रति हामीजस्ता व्यवसायीको भरोसा जाग्ने देखिन्छ । नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासनका नारा व्यवहारमा नउत्रिएसम्म निजी क्षेत्रको भरोसा फर्कन सक्दैन । जेनजी आन्दोलनपछिको यो समय सरकारका लागि परीक्षा पनि हो । निजी क्षेत्रलाई डर होइन, भरोसाको आधार दिने कि नदिने भन्ने विषय सरकारसँग गएर जोडिएको छ ।

(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सोधिएका प्रश्नहरुमा  हिमालयन अर्गनाइजेसनका संस्थापक अध्यक्ष थापाले दिएको जवाफका आधारमा तयार पारिएको हो।)