
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।
बिहीबार सिंहदरबारमा आयोजित अन्तर-सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संघीय सरकारसँग यस्तो प्रस्ताव गरेका हुन् ।
मनसुनी वर्षा र त्योभन्दा अघिको समयमा कुनै पनि आयोजनाको डिजाइन, इस्टिमेट र टेन्डर आह्वान गर्ने र त्यसबाहेकको समयमा निर्माणको काम गर्न मिल्ने गरी आर्थिक वर्षको समय परिवर्तन गर्न उपयुक्त हुने उनको तर्क छ ।
सरकारले विकास निर्माणको काममा आमूल परिवर्तन हुने गरी काम गर्नुपर्ने पनि मेयर महर्जनको भनाइ थियो ।
‘यो सरकारले परिवर्तन व्यापक रूपमा गर्नुपर्दछ । त्योमध्ये ‘वान अफ द प्वाइन्ट’ चाहिँ फिस्कल इयर चेन्ज गरौँ न । फिस्कल इयर चेन्ज गर्दा पेपर वर्क गर्नुपर्ने टाइमका लागि प्रि-मनसुन र मनसुन पिरियडमा पेपर वर्क गरौँ । डिजाइन, इस्टिमेट, टेन्डर आदि,’ उनले भने, ‘अरू सुधारिएको समयमा चाहिँ कन्स्ट्रक्सनको काम गर्न मिल्ने गरी फिस्कल इयरलाई चेन्ज गरौँ । योभन्दा अगाडिको सरकारलाई पनि मैले भनेको थिएँ । अब मैले माननीय मन्त्रीज्यूलाई पनि यो सुझाव दिएँ ।’
सार्वजनिक खरिद ऐन २०६३ मा आमूल परिवर्तन गर्न पनि उनले संघीय सरकारको ध्यानाकर्षण गराए ।
कुनै पनि आयोजनाहरूको काम समयमा सम्पन्न नहुनुमा सो ऐन मुख्य कारण रहेको औँल्याउँदै मेयर महर्जनले त्यसमा तत्काल संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘नेपाल अहिलेको यो अवस्थामा पुगिरहनुको ‘वान अफ द रिजन’ खरिद ऐन २०६३ हो । यो मुलुकमा २८ वटा राष्ट्रिय गौरवका आयोजनाहरू छन् । कुन चाहिँ टाइममा सकियो? कुन चाहिँ अन-कस्टमा सकियो? कहिल्यै पनि समयमा सकिएको छैन । हेर्दाखेरि नै लथालिङ्ग, भताभुङ्ग छ,’ उनले भने, ‘काठमाडौँबाट बाहिर कतै जानुपर्यो भने गाडीमा जाने अधिकांश मानिसहरूले रामराम भनेर जानुपर्छ । किनभने बाटोको कन्डिसन खत्तम छ । त्यसकारण यो सार्वजनिक खरिद ऐन २०६३ मा आमूल परिवर्तन गरौँ ।’








प्रतिक्रिया