सिटिजन लाइफ इन्स्योरेन्सले पायो आईएसओ ९००१:२०१५ प्रमाणिकरण

0
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणालीमा आईएसओ ९००१:२०१५ प्रमाणिकरण प्राप्त गरेको छ । आफ्नो सेवा, व्यवस्थापन प्रणाली र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै कम्पनीले यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

उक्त प्रमाणिकरण युनाइटेड रजिस्ट्रार अफ सिस्टम तथा यूकेएएसमार्फत प्रदान गरिएको कम्पनीले जनाएको छ । यो अन्तर्राष्ट्रिय मान्यताले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया र व्यवस्थापन प्रणालीलाई विश्वस्तरीय मापदण्ड अनुरूप सञ्चालन गरिरहेको पुष्टि गरेको छ ।

यस प्रमाणिकरणसँगै कम्पनीको कार्यप्रणालीमा पारदर्शिता, दक्षता र निरन्तर सुधारको संस्कृति संस्थागत हुने अपेक्षा गरिएको छ । विशेषगरी बीमा दाबी भुक्तानी, ग्राहक सेवा प्रवाह तथा आन्तरिक व्यवस्थापन प्रणालीमा उच्च स्तरको अनुशासन र एकरूपता कायम गर्न यसले थप मद्दत पुर्‍याउने कम्पनीको विश्वास छ ।

सिटिजन लाइफका अनुसार यस उपलब्धिले कम्पनीको सेवाको गुणस्तर र स्थिरतालाई मजबुत बनाउनुका साथै ग्राहकहरूको विश्वास अभिवृद्धि गर्न ठूलो भूमिका खेल्नेछ । साथै, नियामक निकायहरूको मापदण्डसँग तादम्यता कायम गर्दै संस्थागत सुशासनलाई बलियो बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कम्पनीको पहिचानलाई नयाँ उचाइमा पुर्‍याउन यो प्रमाणिकरण फलदायी हुनेछ ।

कम्पनीले यस उपलब्धिलाई केवल एक प्रमाणपत्रको रूपमा मात्र नलिनु, ग्राहकको विश्वास र दीर्घकालीन सेवा उत्कृष्टताप्रतिको अटुट प्रतिबद्धताको रूपमा लिएको जनाएको छ । आगामी दिनहरूमा पनि ग्राहक सन्तुष्टिलाई नै मुख्य केन्द्रविन्दुमा राखेर सेवाहरूलाई थप परिष्कृत र व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता सिटिजन लाइफले व्यक्त गरेको छ ।