यातायात र ट्रक व्यवसायीद्वारा भाडा बढाउन माग

0
Shares

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालै भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।

महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले २०७९ वैशाख २ गते मध्यरातदेखि लागू हुने गरी डिजेलमा गरेको मूल्य वृद्धिले यातायात क्षेत्रमा गम्भीर असर पुर्‍याएको बताएको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य बढेको कारण देखाउँदै गरिएको मूल्य वृद्धिले आम जनसमुदायमा नकारात्मक असर पर्नुका साथै यातायात व्यवसाय नै संकटमा पर्ने महासंघको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्यमा ५ प्रतिशतभन्दा बढी घटबढ हुँदा भाडादर पनि सोही अनुसार समायोजन गर्ने यातायात व्यवस्था विभाग र व्यवसायीबीचको पूर्व सहमति अनुसार ‘वैज्ञानिक स्वचालित मूल्य प्रणाली’ कडाइका साथ लागू गरियोस् ।’

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारलाई पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर हटाएर मूल्य घटाउन र इन्धनको खपत कम गर्न मुलुकभर सवारी साधनमा ‘जोर-विजोर’ प्रणाली लागू गर्न समेत सुझाव दिइएको छ ।

मूल्य बढ्दा तत्काल बढ्ने तर भाडा समायोजनमा ढिलाइ हुने परिपाटीले व्यवसायीहरू मारमा परेको महासंघको गुनासो छ । पटक-पटक मूल्य वृद्धि भएको भन्दै महासंघले पुरानै भाडादरमा ट्रक सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको भाडादरमा हालको मूल्य वृद्धि पश्चात् व्यवसाय सञ्चालन गर्न असम्भव छ । तसर्थ, तत्काल भाडा समायोजनका लागि हामी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’

महासंघले आफ्नो माग पूरा नभएमा व्यवसायीहरूले बाध्य भएर थप कदम चाल्नुपर्ने संकेत समेत गरेको छ ।

यसैगरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय भएको मूल्य वृद्धिले यातायात क्षेत्र धराशयी हुने अवस्था आएको जनाएको हो ।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र त्यसको बहानामा नेपाल आयल निगमले पटक(पटक मूल्य वृद्धि गरेको उल्लेख छ । निगमले गरेको मूल्य वृद्धिका कारण सार्वजनिक र मालवाहक सवारी साधन सञ्चालन गर्न निकै कठिन भएको महासंघको ठहर छ ।

विज्ञप्तिमा २०६५ सालदेखि लागू गरिएको ‘वैज्ञानिक स्वचालित प्रणाली’ को स्मरण गराउँदै पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा बढी घटबढ हुँदा भाडा समायोजन हुनुपर्ने प्रावधान कार्यान्वयन गर्न माग गरिएको छ । महासंघले भनेको छ, ‘वैज्ञानिक विधि अनुरूप तत्काल भाडा समायोजन गरियोस् वा वृद्धि गरिएको मूल्य फिर्ता लिइयोस् ।’

यस विषम परिस्थितिमा महासंघले आफ्ना सदस्य संघ, समिति र कम्पनीहरूलाई इन्धन खपत कम गर्न र घाटा न्यूनीकरणका लागि व्यावसायिक एकता कायम गर्न आग्रह गरेको छ । साथै, सरकारले तोकेको भाडा दरभन्दा बढी नलिन, अस्वस्थ प्रतिस्पर्धा नगर्न र यात्रीको चापको आधारमा मात्र समय सारिणी मिलाएर सेवा सञ्चालन गर्न समेत निर्देशन दिएको छ ।

महासंघले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगमले गर्ने पटक-पटकको मूल्य वृद्धिको सट्टा दीर्घकालीन वैकल्पिक व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ । माग पूरा नभए व्यवसायीहरू थप संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने संकेत समेत विज्ञप्तिमा गरिएको छ ।