नेकपाले भन्यो: गलत सूचना फैलाएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयास निरन्तर हुँदैछ

14
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देशमा निर्वाचन विरोधी गतिविधि र दुई प्रकारका अतिवाद सक्रिय रहेको भन्दै त्यसप्रति कडा आपत्ति जनाएको छ ।

पार्टीको निर्वाचन प्रचार समितिका संयोजक अग्नि प्रसाद सापकोटाले पत्रकार सम्मेलन गर्दै वर्तमान संवेदनशील परिस्थितिमा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षसँग अपिल गरेका छन् ।

मुलुकमा हाल दुई खालका अतिवादी प्रवृत्ति देखिएको उनले उल्लेख गरे । एकातिर कुशासन चलाउने र अभिव्यक्ति स्वतन्त्रता माग्ने युवामाथि दमन गर्ने समूह र अर्कोतिर जनभावनाको आडमा राज्यका महत्वपूर्ण निकायहरूमाथि आक्रमण गर्ने समूह सक्रिय रहेको भन्दै पार्टीले यी दुवै प्रवृत्ति लोकतन्त्र र समृद्धिका लागि घातक रहेको ठहर गरेको छ।

पार्टीले कतिपय सञ्चारमाध्यमले भ्रमपूर्ण सूचना फैलाएर आफ्नो पार्टीलाई अवमूल्यन गर्न खोजेको भन्दै त्यस्ता गतिविधिको विरोध गरेको छ ।

साथै, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र निर्वाचन आयोगलाई उल्लंघनकर्तामाथि कडा निगरानी राख्न समेत आग्रह गरिएको छ।

संयोजक सापकोटाद्वारा जारी वक्तव्यमा जनतालाई राजनीतिक दलहरूको विगत र वर्तमानको भूमिका, विचारधारा र एजेन्डाको गहिरो मूल्यांकन गरेर मात्र आगामी निर्वाचनमा विवेकपूर्ण निर्णय लिन आह्वान गरिएको छ।