कांग्रेस २.० के हो ?

0
Shares

काठमाडौं । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले आफ्नो ‘सफ्टवेयर र हार्डवेयर’ दुवै अपडेट गर्दै नयाँ युगको सुरुवातको घोषणा गरेको छ ।

विशेष महाधिवेशनमार्फत शेरबहादुर देउवाको नेतृत्वलाई विस्थापन गर्दै गगन थापाको उदयसँगै कांग्रेसले आफूलाई अपडेट भर्सनको रुपमा प्रस्तुत गरिरहेको छ । ‘कांग्रेस २.०’ अवधारणालाई उक्त दलले आक्रामक रूपमा अघि बढाइरहेको छ ।

जब हामी कम्प्युटर वा मोबाइलको एप अपडेट गर्छौं, त्यसमा पुराना गल्तीहरू (बग्स) सुधारिएका हुन्छन् र नयाँ फिचर्स थपिएका हुन्छन् ।

राजनीतिमा पनि ‘कांग्रेस २.०’ भन्नुको अर्थ कांग्रेसलाई पुरानो ढर्राबाट निकालेर ‘अपडेट’ गरिएको नयाँ संस्करण हो भन्ने बुझ्न सकिन्छ ।

यसलाई अझ सरल रूपमा भन्दा कांग्रेस ७ दशक पुरानो पार्टी हो । कांग्रेसको १.० ले राणा शासन फाल्न महत्वपूर्ण भूमिका खेल्यो । पञ्चायत फाल्यो र राजतन्त्र अन्त्य गर्न नेतृत्व गर्‍यो । यसको शक्ति ‘इतिहास’ र ‘विरासत’ थियो। तर, यसमा ढिलासुस्ती, गुटबन्दी र पुरानो पुस्ताको कब्जा जस्ता समस्या अर्थात बग्स थिए । यस्ता बग्सलाई सुधारेको दाबी कांग्रेसको अहिलेको नेतृत्व अर्थात गगन थापा, विश्वप्रकाश शर्मा लगायतले गरिरहेका छन् । अर्थात अहिले कांग्रेस परिवर्तित भएको दाबी गरिएको छ ।

जसलाई यसरी अर्थ्याउन सकिन्छ ।

कांग्रेस २.० अहिलेको ‘डिजिटल युग’ र युवा पुस्ताको चाहनाअनुसारको परिवर्तन भएको नेताहरू बताउँछन् । यो रुपान्तरित पार्टीले इतिहासको सम्मान गर्छ, तर यसको ध्यान अब ‘हिजो के गर्‍यौँ’ भन्दा पनि ‘भोलि के गर्छौँ’ भन्नेमा केन्द्रित रहेको सभापति थापाको तर्क छ ।

पछिल्लो समय नयाँ पुस्तामा देखिएको राजनीतिक वितृष्णा, जेनजी आन्दोलनमार्फत सडकमा देखिएको आक्रोश र नयाँ शक्तिहरूको उदयलाई मध्यनजर गर्दै कांग्रेसले आफूलाई ‘परम्परागत दल’ बाट ‘आधुनिक र गतिशील’ मा रूपान्तरित गर्ने कदम चालेको दाबी नेताहरूको छ ।

जेनजीले भदौ २३/२४ मा पुराना पार्टीहरूको कार्यशैलीप्रति ठूलो विद्रोह गरेका थिए ।

सामाजिक सञ्जाल र सडकमा देखिएको यो आक्रोशलाई सम्बोधन गर्न कांग्रेसले आफूलाई ‘अपडेट’ गरेको दाबी गरेको हो ।

‘हामीले विगतका गौरवगाथा गाएर मात्र अब पुग्दैन । इतिहासको ब्याज खाएर बस्ने छुट हामीलाई छैन । त्यसैले हामीले कांग्रेसको संस्करण बदल्ने निर्णय गर्‍यौँ,’ कांग्रेस सभापति थापाले भनेका छन् ।

कांग्रेस २.० ले युवाहरूलाई केबल ‘भविष्यका कर्णधार’ मात्र नभई ‘वर्तमानका साझेदार’ का रूपमा स्विकारेको छ । पार्टीका हरेक तहमा युवाहरूको प्रतिनिधित्व र डिजिटल मेम्बरसिपमार्फत प्रविधिको प्रयोगलाई अनिवार्य बनाइएको कांग्रेसले जनाएको छ ।

फागुन २१ को निर्वाचन नजिकिएसँगै आफूलाई खरो उतार्न पुराना पार्टीहरूमध्ये नेपाली कांग्रेसले सबैभन्दा आक्रामक रूपान्तरणको बाटो रोजेको पाउन सकिन्छ ।

जेनजी आन्दोलनपछि एमाले र नेकपामा नेतृत्व परिवर्तन हुन नसक्दा गगन थापा र विश्वप्रकाश शर्मा लगायतले विशेष महाधिवेशन मार्फत कांग्रेसमा नेतृत्व परिवर्तन मात्र गरेनन् पार्टी नेतृत्वमा लामो समयदेखि देखिएको ‘जाम’ लाई हटाउँदै पार्टीमा हस्तक्षेपकारी भूमिका निभए । जसले गर्दा पार्टी पङ्कितमा उत्साह देखिएको छ ।

एमाले र नेकपा जस्ता पुराना शक्तिहरू अझै पनि पुरानै ढर्राबाट चलिरहँदा कांग्रेसले ‘कांग्रेस २.०’ मार्फत आफूलाई भित्रैदेखि सुधार्ने प्रयास थालेको दाबी गरिरहेको हो ।

कांग्रेसलाई बदल्ने जोखिम लिएको र यही बदलिएको पार्टीले देश बदल्ने दाबी सभापति थापाको छ।

‘जनताको मन र मत दुवै जित्न अब बोली होइन, डेलिभरी चाहिन्छ,’ गगनले भनेका छन्, ‘हामीले कांग्रेस बदल्ने जोखिम उठायौँ, अब यही बदलिएको कांग्रेसले देश बदल्नेछ ।’

कांग्रेस २.० के हो ?

कांग्रेसले आफूलाई सुधार्न वा अपडेट गर्न विभिन्न काम गर्ने योजना विशेष महाधिवेशनबाटै अघि सारेको छ । पार्टीभित्र ‘सिन्डिकेट’ अन्त्य गर्न ‘१-२-३-४’ को सूत्र लागू गर्ने उल्लेख छ । यसले एकै व्यक्तिलाई पटक-पटक सत्तामा पुग्न रोक्नेछ र नयाँ नेतृत्वको बाटो खुला गर्नेछ। यसमा एक व्यक्ति एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्ने उल्लेख छ। यसले नयाँ पुस्तालाई नेतृत्वमा आउन ढोका खोल्ने विश्वास गरिएको छ।

केवल झण्डा बोक्ने मात्र होइन, विभिन्न क्षेत्रका विज्ञ, डाक्टर, इन्जिनियर र उद्यमीहरूलाई सिधै पार्टीको नीति निर्माण तहमा प्रवेश गराउने कांग्रेसको योजना छ । नयाँ मतदाता र युवाहरूको मन जित्न पार्टीले ३० र ४० वर्ष मुनिका युवाहरूलाई पार्टीका विभिन्न तहमा निश्चित कोटा सुनिश्चित गर्ने नीति लिएको छ । प्रविधिको प्रयोग गर्दै ‘डिजिटल मेम्बरसिप’ मार्फत पार्टीलाई आधुनिक बनाउने र युवा पुस्ताका एजेन्डाहरूलाई प्राथमिकता दिने कांग्रेस २.० को लक्ष्य छ।

अब उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय बालुवाटार वा सानेपाको कोठाबाट होइन, तल्लो तहका साधारण सदस्यहरूले गर्ने ‘प्राइमेरी’ निर्वाचन प्रणालीको सुरुवात गरिने छ ।

भ्रष्टाचारका काण्डहरूमा ‘आफ्नो र अर्काको’ नभनी विधिको शासन लागू गर्ने प्रतिबद्धता कांग्रेसले लिएको छ । ‘रुखको छहारीमुनि बसेकाहरूलाई पनि कानुन लाग्छ,’ थापाको दाबी छ । कांग्रेस २.० ले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र डेलिभरीमा आधारित राजनीतिको कुरा गरेको छ । वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने, सूचना प्रविधि त्रलाई अर्थतन्त्रको आधार बनाउने र उद्यमीहरूलाई प्रोत्साहन गर्ने नीति यसको प्राथमिकतामा छ।

बदलिएको कांग्रेसले अब सत्ताका लागि जोसुकै र जुनसुकै शक्तिसँग सम्झौता नगर्ने नीति अख्तियार गरेको छ । ‘सत्तामा पुग्न जोसँग पनि मिल्ने काम अब कांग्रेसले गर्दैन। बरु हामी आनन्दले प्रतिपक्षमा बस्छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ,’ थापाले भनेका छन् । यसले कांग्रेसलाई केवल ‘चुनाव जित्ने मेसिन’ बाट पुनः एक ‘वैचारिक आन्दोलन’ का रूपमा उभ्याएको रुपमा कतिपयले अर्थ्याएका छन् ।

कांग्रेस २.० मार्फत पार्टीले निराश भएका कार्यकर्ता, पार्टी छोडेर गएका व्यक्ति र नयाँ मतदातालाई एउटै ठाउँमा जोड्ने प्रयास गरेको छ ।

कांग्रेस अब भाषणमा नभई पर्फमेन्समा विश्वास गर्ने पार्टी बनेको दाबी गर्दै थापाले भनेका छन्, ‘तपाईंले खोजे जस्तै र रोजे जस्तै कांग्रेस बनाएर आएका छौं। यो बदलिएको कांग्रेसले देश बदल्ने संकल्प लिएको छ, यसमा साथ दिनुहोस्।’

पुराना पार्टीहरूमा देखिएको जडता तोड्दै आफूलाई ‘अपग्रेड’ गरेर जनताको बीचमा जानुले नेपालको लोकतन्त्रलाई थप परिपक्व बनाउने विश्वास कांग्रेसमा देखिएको छ ।

Skip This